बुटवलको जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुसियालीमा बिहीबार जितगढी उत्सव मनाइएको छ।
१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो। सोही खुसियालीमा बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जितगढी उत्सव मनाएको हो।
बिहीबार जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत तथा पैदल यात्रा समापन कार्यक्रम भएको छ।
बिहीबार बिहान ११ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्षहरू, पूर्वजनप्रतिनिधि, संघसंस्था तथा स्थानीयले पैदलयात्रामा सहभागी टोली र नेपाली सेनाका मध्यपश्चिम पृतनापतिसहितको टोलीलाई स्वागत र सम्मान गरेका थिए।

बुटवल १ गणेशमन्दिरनजिकैबाट बाजागाजासहित सुरु भएको पैदलयात्रीसहितको विजय र्याली जितगढी किल्लामा पुगेको थियो। जितगढी किल्लामा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले जितगढी किल्ला अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न जरुरी रहेको बताए।
उनले जितगढी किल्लाले बुटवलको पहिचानलाई उच्च बनाउँदै लगेकोले किल्लाको संरक्षण र पर्यटन प्रवर्द्धनलाई उत्तिकै महत्व दिनुपर्ने बताए।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लाको ऐतिहासिक र पुरातात्विक महत्वलाई स्थापित गर्दै पर्यटकीय स्थलको रूपमा विकास गर्ने बताए। उनले आगामी वर्षदेखि नियमित रूपमा हरेक वर्ष वैशाख ७ गते जितगढी उत्सव मनाइने र बुटवलकै उत्सवका रूपमा यसलाई स्थापित गर्ने बताए।
उनले किल्ला क्षेत्र र आसपासको पर्यटनका साथसाथै पुरानो बुटवललाई समेत जोडेर पर्यटकीय स्थलको रूपमा विकास र प्रवर्द्धन गर्ने बताए।
नेपाली सेनाका मध्यपश्चिम पृतिनापति यामप्रसाद ढकालले नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई बलियो बनाउँदै युद्ध पर्यटनको रूपमा जितगढी किल्लाको प्रवर्द्धन गर्नुपर्ने बताए।
उनले जितगढी किल्ला नेपाली सेनाका लागि पनि महत्वपूर्ण थलोका रूपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा नेपाली सेना सधैँ बुटवल उपमहानगरपालिकासँगै रहने बताए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदी, अध्येता निर्मल श्रेष्ठ, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजु, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललगायतले बोल्दै जितगढी किल्लाको संरक्षण र पर्यटन प्रवर्द्धनमा भएको प्रयासले बुटवलले लाभ लिन सक्ने बताए।
यात्राका क्रममा नेपाली सेनाले नागरिकसँगको सम्बन्धलाई अझ बलियो बनाउने काम गरेको र पैदलयात्रामा नागरिकले सेनालाई उत्साहपूर्वक स्वागत गर्दै शुभकामना दिएको उनले बताए। उनका अनुसार गोरखादेखि जितगढीसम्म ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको थियो।
नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलका अनुसार यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण सहभागी थिए।
नेपाल–अंग्रेज युद्धको पृष्ठभूमि र किल्ला
२१ पुस १८७१ देखि १८७२ सम्म नेपाल–अंग्रेजका बीचमा युद्ध भयो। अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेको थिएन। कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो।
तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो। जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो।
पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो। अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो। युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो।
जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे। आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो।

दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे। यो लडाईंमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे। अंग्रेजतर्फ ठूलो क्षति भयो।
पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ वैशाख १८७२ मा विजय हासिल गर्यो। युद्धमा विजय हासिल गरेपछि उजिरसिंहले पाल्पामा विजयोत्सव मनाएका थिए।
दुई सय वर्षअघिदेखि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाइन्छ। जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ। भाद्र कृष्ण अष्टमीको साँझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पुजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ।
नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जय जयकारको गुञ्जन ध्वनिसहित तीनपटक मन्दिर घुमाइन्छ। दिउँसो बली दिएपछि रथलाई उठाउने चलन छ। रथलाई तीनपटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगरपरिक्रमा गराइन्छ। रथलाई मन्दिर परिक्रमा गराई कर्णेल उजिरसिंहको सम्झनामा पूजा दिने चलन छ।
यस्तो छ गढी
पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्बाइ २ सय ५ फिट छ र चौडाइ करिब ५५ फिट रहेको छ। गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ। गढीको भित्री भागबाट पर्खालको उचाइ ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाइ ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुला छ।
करिब बाह्र लाखदेखि पन्ध्र लाख इँटा प्रयोग भएका र इँटाहरूका कोही १० इन्च वर्गाकारका तथा केही इँटाहरूको लम्बाइ चौडाइ क्रमशः ८.६ इन्च, ६ इन्च बाई २ इन्च छ। गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरूजस्तै छ। गढीको वरिपरि युद्ध गर्नको सुविधाको लागि विभिन्न किसिमका चरहरूको निर्माण गरिएको छ।
पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६औँ शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ। तिनाउ नदीको दायाँ किनारमा अवस्थित गढीको नामाकरण उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकोले जितगढी भनिएको जनश्रुति छ।
२०५२ सालमा पुरातत्व विभागले देशभरका गढीहरू संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीचभागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिँदा पुरिएको पर्खालको पेटी भेटिएको थियो। उजिरसिंहको समयभन्दा अघिदेखि नै गढीको अस्तित्व रहेको बताइए पनि यसको पुष्टि भने हुन सकेको छैन।
आर्थिक वर्ष ०६९/७० र ०७०/७१ मा पुरातत्व विभागले दुईपटक उत्खनन गरेको थियो। उत्खननका क्रममा जितगढी परिसरभित्र प्राचीनता झल्किने वस्तु भेटिए पनि परिसरबाहिर भने खासै प्राचीन वस्तु भेटिएनन्। यसअघि ०५८ सालमा पनि बुटवल उपमहानगरपालिकाले पुरातत्व विभागबाट उत्खनन गराएको थियो।