अनधिकृत रूपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गरेर गलत लिखत तयार गर्ने कार्यमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका साबिक गोठाटार–मूलपानी गाविस वडा नं. १ ‘ख’ का कित्ता नं. ७०८, ७०९, ६६६ र ८१३ कित्ताहरूको आकारप्रकार परिवर्तन गरी नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।
नक्सामा अनधिकृत रूपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गर्ने क्रममा परिवर्तित नक्सा तयार गरी नक्सा सच्याई कित्ताकाट एवं प्रमाणित गर्ने कार्यमा संलग्न चाबहिल नापीका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जन, नापी अधिकृत रविशंकर पाण्डेय र सर्वेक्षक रामनारायण यादवविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
सरकारी निकायको कागजातमा अनधिकार वा गैरकानुनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कसुर गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
गलत लिखतलाई प्रमाणित गरी गलत जग्गाधनी दर्ता स्रेस्ता नामक लिखतसमेत तयार गर्ने कार्यमा संलग्न मालपोत कार्यालय चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले र नायवसुब्बा उत्तम कुँवरविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।
लाभ प्राप्त गर्ने उद्देश्यले अनधिकृत रूपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गरी नक्सा तयार गर्ने कार्यमा नापी र परिवर्तित नक्साबमोजिमको क्षेत्रफल कायम गरी गलत लिखत पारित गर्न मालपोतका कर्मचारीहरूलाई सहयोग पुर्याएको आरोपमा आयोगले मतियारको कसुरमा अन्य तीनजनालाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।
त्यसमा झापाको कमल गाउँपालिका– २ का योगेन्द्र आचार्य, काठमाडौं कागेश्वरी–मनोहरा नगरपालिका– ९ का सीताराम अधिकारी र काठमाडौं महानगरपालिका– ९ का नवीन दाहाल छन्।