प्रमुख प्रतिपक्ष दल एमालेका नेता एवं सांसद रघुजी पन्तले प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित नभएको बताएका छन्।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले परिषदमा रहेर क्याबिनेटको समेत भाग खोजेको उल्लेख गर्दै उनले प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्न उचित नहुने तर्क गरेका हुन्।
बुधबार प्रतिनिधिसभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेता पन्तले कुनै पनि नियुक्तिका मुद्दाहरू सर्वोच्च अदालतमा जाने भएकाले सोही ठाउँका मानिसलाई संवैधानिक परिषदमा राख्ने कुरामा प्रश्न उठेको जिकिर गरे।
‘राजनीतिक नेतृत्वले विनापूर्वाग्रह योग्य मान्छेहरू ल्याउन सक्ने ठाउँहरू हामीले राख्न सक्नुपर्दछ । हामीले देख्यौँ नि– प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्यौँ, उनी आफैँ क्याबिनेटमा समेत भाग खोज्न थाले । अहिले मलाई के लाग्दै छ भने प्रधानन्यायाधीश नियुक्ति गरेको मुद्दा सर्वोच्च अदालतमा जान्छ । त्यही ठाउँको मान्छेलाई संवैधानिक परिषदमा राख्ने कुरा आज उचित हो कि होइन ? हिजो उचित लागेको थियो,’ उनले भने ।
सांसद पन्तले राजनीतिक नेतृत्व र राजनीतिक दलहरूमा सुधार नआउने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै गाली गरेर सो समस्या समाधान हुनै नसक्ने बताए।