यही मार्चमा अमेरिकी सिनेटरको एक समूहले सर्वस्वीकार्य ‘प्रोटेक्टिङ अमेरिकाज एग्रिकल्चरल ल्यान्ड फ्रम फरेन हार्म’ विधेयक पेस गरेको छ । विधेयकले कुनै पनि संस्थालाई ‘स्वामित्व, नियन्त्रण, अधिकार क्षेत्र वा निर्देशनको अधीनमा रहेको’ अमेरिकाको सार्वजनिक एवं निजी कृषियोग्य भूमिलाई ‘विदेशी प्रतिद्वन्द्वीलाई’ सार्वजनिक रूपमा भाडामा दिन वा बिक्री गर्न निषेध गर्नेछ ।
उसो त ‘विदेशी प्रतिद्वन्द्वी’ शब्दले इरान, उत्तर कोरिया, चीन र रुससहितका चार मुलुकलाई इंगित गरे पनि वास्तविक लक्ष्य चीन नै हो भन्नेमा दुईमत छैन । फेब्रुअरीमा अमेरिकी जल क्षेत्रमा चिनियाँ निगरानी बेलुनलाई खसालिएपछि र चिनियाँ सरकारसँग कथित रूपमा जोडिएका समूहले अमेरिकी सैन्य क्षेत्रनजिकै ठूलो मात्रामा भूमि खरिद गरेको अवस्थामा चीनबाट जासुसी हुने हो कि भन्ने चिन्ताको जवाफमा यो विधेयक ल्याइएको हो । यसबाहेक यो विधेयक राज्यस्तरमा १४ राज्यले पारित गरेको कृषियोग्य भूमिमा विदेशी स्वामित्व–प्रतिबन्धसँग सम्बन्धित विधेयकसँग मेल खान्छ ।
प्रस्तावित कानुनको उद्देश्य अमेरिकी खाद्यान्न आपूर्तिको सुरक्षा गर्नु र अमेरिकी किसानलाई कृषिभूमि सस्तो रहोस् भनेर सुनिश्चित गर्नु रहेको बताइएको छ । यी दुवै लक्ष्य एकअर्काका पूरक हुन् अर्थात् घरेलु खेतीलाई संरक्षण गरेर अमेरिकाले खाद्य सुरक्षा बढाउन सक्छ । यी लक्ष्य आवश्यक देखिन्छन् तर सिनेटरको विधेयकले यी लक्ष्य हासिल होला भन्नेमा शंका गर्ने ठाउँ छ ।
रणनीतिक सैन्य र नागरिक कार्यालयनजिकका भूमिमाथि विदेशी स्वामित्वलाई सीमित गर्नु अमेरिकी राष्ट्रिय सुरक्षाको हितमै देखिन्छ । तर, यो विधेयक यत्तिमा सीमित छैन अर्थात् चार निर्दिष्ट देशका कुनै पनि व्यक्तिलाई कृषिभूमिको स्वामित्वमा पूर्ण प्रतिबन्ध लाग्नेछ । केही अमेरिकी विधायक कृषियोग्य भूमिका विदेशी मालिकले अमेरिकी उपभोक्तालाई आफ्नो जमिनबाट हुने उत्पादन बिक्री गर्न अस्वीकार गरेर अव्यवस्था निम्त्याउने चिन्ता गरिरहेका छन् । तर, यी चिन्ता अतिरञ्जित छन् ।
अमेरिकी विधायक अमेरिकी खाद्य उत्पादक एवं उपभोक्ताभन्दा पनि भूराजनीतिक तनाव बढाउन उद्यत् देखिन्छन्
अमेरिकी कृषि विभाग (युएसडिए) को एक बृहत् प्रतिवेदनअनुसार सन् २०२१ सम्ममा अमेरिकी कृषिभूमिको ३.१ प्रतिशत मात्रै विदेशी वा विदेशी संस्थाको स्वामित्वमा छ । यसमा पनि २९ प्रतिशत भूमि मात्रै खेतीयोग्य छ, अर्थात् विदेशी स्वामित्वमा केवल ०.९ प्रतिशत खेतीयोग्य भूमि पर्छ । त्यसबाहेक अमेरिकामा कृषिभूमिमा सबैभन्दा ठूलो स्वामित्व क्यानडाको छ र क्यानडा कुनै पनि कोणबाट अमेरिकाको प्रतिद्वन्द्वी मुलुक होइन ।
युएसडिएका अनुसार क्यानेडियनले सबै अमेरिकी खेतीयोग्य भूमिको १० प्रतिशत अर्थात् ४३ लाख एकड जमिनको स्वामित्व राख्छन् । दोस्रोमा इटालियन संस्था पर्छन्, जहाँ यी समूहले चार प्रतिशत अर्थात् १७ लाख एकड खेतीयोग्य जमिनको स्वामित्व राख्छन् । चिनियाँ तथ्यांक हेर्ने हो भने चीनले ३४ हजार चार सय २५ एकड अर्थात् ०.०८ प्रतिशत जमिनको स्वामित्व राख्छ र इरान एवं रुससँग एक हजार दुई सय ५० एकडभन्दा कम जमिन छ । उत्तर कोरियाको कुनै पनि स्वामित्व छैन ।
यति हुँदाहुँदै पनि केहीले प्रस्तावित प्रतिबन्ध लागू गरिए भविष्यमा सम्भावित रूपमा बढ्ने चिनियाँ भूस्वामित्व नियन्त्रण गर्न सकिने तर्क गर्न सक्छन् । यस्तो तर्कका बाबजुद वास्तवमा अमेरिकी खाद्य आपूर्तिलाई जोगाउन खाद्यान्न कसरी वितरण हुन्छ भन्नेमा नियमन गर्नुपर्छ । उदाहरणका लागि संघीय सरकारले अमेरिकी उत्पादनको एक निश्चित अंश अमेरिकीलाई नै बिक्री गर्नुपर्छ भनेर तोक्न सक्छ । अथवा खेतीयोग्य जमिनमा स्वामित्व भएका विदेशी वा विदेशी संस्थालाई अनिवार्य बाली उत्पादन गर्ने व्यवस्था लागू गर्न सक्छ । सरकारले कृषिभूमि कसको स्वामित्वमा छ भनेर पहिले नै हेरिरहेको हुन्छ र उत्पादन बढाउन वित्तीय प्रोत्साहन पनि दिइरहेकै हुन्छ । उल्लिखित दुई नियमनका उदाहरण वर्तमान सरकारी नीति–कार्यक्रममै समायोजित छन् । तर, अहिले ल्याइएको विधेयकमा पुराना नियमन छैनन् ।
विदेशी स्वामित्वलाई सीमित गरेर अमेरिकी किसानका लागि कृषिभूमिलाई थप किफायती बनाउनु कागजी रूपमा उपयुक्त भए पनि वास्तविकता निकै जटिल छ । युएसडिएको सन् २०२१ को प्रतिवेदनले विदेशी स्वामित्वले जग्गाको मूल्यमा कुनै प्रभाव नपारेको देखाएको छ र यो स्वाभाविक पनि छ अर्थात् अमेरिकामा विदेशी स्वामित्वमा रहेको जमिन निकै कम छ ।
वास्तवमा विदेशी स्वामित्वमा वृद्धिले अमेरिकी किसानमा शुद्ध सकारात्मक आर्थिक प्रभाव पार्न सक्छ । आखिर जग्गा खरिदले विदेशी लगानीकर्ताबाट अमेरिकी जग्गाधनीलाई पैसा प्राप्त हुन्छ । विदेशी जग्गा मालिकले पनि राज्य र नगरपालिकामा कर तिर्नुपर्छ, जुन नीति निर्माताले स्थानीय समुदायमा लगानी गर्न सक्छन् । उदाहरणका लागि राज्यस्तरको आयकर नभएको टेक्सास राज्यमा स्थानीय सम्पत्ति करले कर राजस्वको आधाभन्दा बढी हिस्सा ओगट्छ ।
यद्यपि टेक्सासले चिनियाँ भूमि स्वामित्वमा प्रस्तावित राष्ट्रिय प्रतिबन्धलाई दृढतापूर्वक समर्थन गर्छ र त्यहाँ गभर्नर ग्रेग एबोटले पनि यस्तै विधेयकमाथि बहस चलाइरहेका छन् । यदि विधायक अमेरिकी किसानलाई मद्दत गर्न चाहन्छन् भने तिनले विदेशी स्वामित्वको सम्पत्तिमा कर लगाउनुपर्छ र त्यसबाट आएको राजस्व कृषिलाई प्रोत्साहन गर्न खर्च गरिएको सुनिश्चित गर्नुपर्छ । विभिन्न तथ्यांकले प्रस्तावित विधेयकले अमेरिकी खाद्य सुरक्षा वा अमेरिकी किसानको हितमा सुधार गर्ने सम्भावना कम रहेको देखाउँछ ।
खाद्य सुरक्षाका लक्ष्य हासिल गर्न कैयौँ बहस नगरिएका थप उपयुक्त, प्रभावकारी उपाय छन् । सिनेटरले ल्याएको विधेयकको मुख्य उद्देश्य राजनीतिक नै हो । प्रस्तावक सिनेटरका लागि प्रस्तावित विधेयक अमेरिका र चीनबीचको बढ्दो प्रतिद्वन्द्वीतालाई पुँजीकरण गर्ने एक न्यून लागतको उपाय हो । अमेरिकी विधायक अमेरिकी खाद्य उत्पादक एवं उपभोक्ताभन्दा पनि भूराजनीतिक तनाव बढाउन उद्यत देखिन्छन् ।
(सियान अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयकी अर्थशास्त्रकी प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट