समस्या धेरै छन्, समाधान गर्दै छु

शुक्रबार, १ बैशाख, २०८०
डिजिटल संस्करण

नेपालको पूर्व–पश्चिम राजमार्ग बीचभागबाट गएको र सुगमताको दृष्टिले पनि सहज पहुँच भएको ठाउँ हो, चितवनको रत्ननगर नगरपालिका । विश्वले चिनेको तेस्रो पर्यटकीय गन्तव्य सौराहा र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको रत्ननगर नगरपालिका प्रशस्त उर्वर कृषि भूमि, बरन्डाभार क्षेत्रको जंगल, दुर्लभ वन्यजन्तु र चराहरूको वासस्थान, सिमसार क्षेत्रले शोभायमान र सुन्दर छ । पर्यापर्यटनमा रमाउन खोज्नेहरू एकसिंगे गैँडा, पाटेबाघ तथा विभिन्न प्रकारका चरा हेर्नका लागि भनेर यहीँ आइपुग्छन् । सुरुमा आदिवासी थारू समुदायको मात्र बसोवास रहे पनि अहिले बहुजाती, बहुभाषिक समुदायको बसाइ रहेको रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटासँग नगरपालिकाको समृद्धि र त्यसका योजनाका विषयमा नयाँ पत्रिकाकर्मी विवेक पोखरेलले गरेको कुराकानी : 

रत्ननगरको अहिलेको समस्या के हो ?
समस्या केलाई भन्ने कुरा आउँछ । रत्ननगर नगरपालिकाभित्रको मुख्य समस्या भनेको बाढी हो । बर्सेनि बर्खासँगै हामीलाई ठूलो क्षतिको डर हुन्छ । अहिले विकासको जुन हुटहुटी छ, त्यो रफ्तारमा जान सकिएको छैन । हुन त यो देशभरिकै समस्या हो । यद्यपि, हामी समन्वय गरेर बढिरहेका छौँ । म दीर्घकालीन रूपमा जनताको आवश्यकताअनुसारको विकास गर्न चाहन्छु ।

सौराहा मात्र हैन, रत्ननगरलाई सफा, सुन्दर र आकर्षक बनाउने काम बाँकी छ । बेरोजगारीका कारण बिदेसिनु पनि रत्ननगरपालिकाको अहिलेको समस्या हो । म जिम्मेवारीमा भएपछि सबैभन्दा धेरै समस्या  शिक्षा र स्वास्थ्यका भएको अनुभव गरेको छु । क्षमता हुँदाहुँदै पनि आर्थिक अभावमा चाहनाको विषय पढ्न नपाएको, पैसाकै कारण स्वास्थ्य सेवामा समस्या भएको गुनासो कार्यालयमा आउने गरेको छ । 

तपाईंप्रति मतदाताको आशालाई निराशामा परिणत हुन नदिन के योजना छ ? 
भौतिक विकाससँगै नागरिकको जीवनस्तरमा परिवर्तन मेरो मुख्य एजेन्डा रहेको छ । भौतिक पूर्वाधारतर्फ सिटीहल, ल्यान्डफिल साइट निर्माण, गाउँगाउँमा नयाँ स्थानीय सडक निर्माण, सडकहरूको स्तरोन्नति, पुल निर्माण, ढल÷नाला निर्माण, फनपार्क, खानेपानी, बसपार्क, तटबन्धलगायतका काम हुँदै छ । यो नगरपालिकामा शिक्षा र स्वास्थ्य निःशुल्क होस् भन्ने सोचले काम गरिरहेको छु । यहाँका गरिब परिवार, विपन्न वर्ग, सुकुमबासीले स्वतन्त्रतापूर्वक पढ्न, खान र रोजगारी पाउनुपर्छ भनेर खटिरहेको छु ।

अहिले विपन्न परिवारका ३५ सय घरधुरीलाई नगरपालिकाबाट स्वास्थ्य बिमा भएको छ । असहाय÷विपन्न परिवारलाई स्वास्थ्य पहुँच निःशुल्क बनाउने उद्देश्यले म मेयर भएपछि भएको यो पहिलो निर्णय हो । रत्ननगरको बकुलहर अस्पतालमा नगरपालिकाभित्र बसोवास गर्ने विपन्न नागरिकका लागि उपचारमा सहयोग पुर्याउने हिसाबले ३० लाखको उपचार कोष स्थापना भएको छ । आर्थिक अभावका कारण उपचार नपाएर विपन्न नागरिकले मृत्यवरण गर्न नपरोस् र पैसा नभएर अस्पतालबाट रोग लिएर घर फर्किनुपर्ने अवस्थाको अन्त्य होस् भनेर कोष स्थापना गरेका हौँ ।

सबैभन्दा बढी पैसा खर्च हुने शिक्षा र स्वास्थ्यमा हो । हामीले जनता बिरामी हुँदा निःशुल्क उपचार र पढ्न चाहेको जाति निःशुल्क शिक्षा व्यवस्था गर्न सके जनताको धेरै समस्या हल हुन्छ । नगरले मात्र यो काम गर्न सम्भव छैन, केन्द्र सरकारले यसमा ध्यान दिन आवश्यक छ । यद्यपि, हामीले नगरले सक्ने योजना भने सुरु गरेका छौँ । शिक्षामा छात्रवृत्तिको व्यवस्था गरेका छौँ । विपन्न परिवारका लागि नगरको खरको छानो मुक्त अभियान छ । जसले जनताको सुरक्षित वासको व्यवस्था गर्नेछ ।

हामीले यहीँ रोजगारी सिर्जना गरेर उद्यमशील बनाउँदै वैदेशिक रोजगारीलाई कम गर्नुपर्छ भनेर लागेका छौँ । सीप र योजना छ भने नगरपालिकामा सामूहिक रूपमा व्यवसायको योजनासहित आउनेलाई हामी ५० प्रतिशत अनुदान व्यवस्था गर्छौं । उक्त व्यवसायको संरक्षण गर्छौं । सीप सिक्न चाहनेलाई सीप सिकाउँछौँ । महिलाहरू पनि स्वरोजगार बन्न् सकून् भनेर उनीहरूको क्षमताअनुसार हाते सीप र व्यावसायिक सीप सिकाइरहेका छौँ । 

अनुदानको दुरुपयोग हुने सम्भावनालाई कसरी हेर्नुहुन्छ ? 
अनुदानको नाममा भ्रष्टाचार व्यापक छ । यो स्विकार्नैपर्छ । उद्यमशील बनाउने नाममा तालिम मात्र दिने र उनीहरूलाई अलपत्र पार्ने काम मेरो कार्यकालमा हुन दिन्नँ । नगरले सञ्चालन गरेको तालिमलाई तालिममा मात्र सीमित नराखी उद्यमशीलतासँग जोडेका छौँ ।

सेवा प्रवाह कसरी गर्नुभएको छ ?
म यहाँ शासन गर्न आएको हैन । जनताको म सेवक हुँ । मलाई जनताले सहजै कुरा राख्न सक्नुहुन्छ, प्रत्यक्ष भेटेर होस् वा फोनमा । हामीले जनताको सहजताका लागि नगरलाई प्रविधिमैत्री बनाउँदै छौँ । अब घरबाटै कर तिर्न सक्ने व्यवस्था हुँदै छ । काम, कारबाही र गतिविधिलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित सूचना प्रविधिको शाखा नै स्थापना गरेर हामीले काम गरेका छौँ । वर्षको ४ पटक सार्वजनिक सुनुवाइ पनि हुन्छ । जनताको समस्या र गुनासो सुन्न प्रत्येक हप्ताको शनिबार जनतासँग मेयर कार्यक्रम सुरु गर्दै छु । म जनताको प्रतिनिधि हो । जनताका लागि मेयरभन्दा पनि मेयरका लागि जनता हो भन्ने बुझेर काम गरेको छु । 

शिक्षा, स्वास्थ्यका योजनामा अघि बढ्न पूर्वाधार र लगानीचाहिँ कस्तो छ ? 
चितवनको सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकापछि दोस्रो ठूलोमा पर्छ । महानगरको सबभन्दा नजिकको नगरपालिका भए तापनि जिल्लाको सदरमुकाम भरतपुर भएकाले विकासको हिसाबले यहाँ पूर्वाधार केही कम देखिनु स्वाभाविक पनि लाग्छ । हामी दूरीको हिसाबले धेरै टाढा छैनौँ । तर, नगरभित्र रहेको सहिद स्मृति बहुमुखी क्याम्पस पुरानोमध्येको एक शैक्षिक संस्था हो । यहाँका विद्यार्थीले देश–विदेशमा ख्याति कमाएका छन् ।

नगरमा इन्जिनियरिङ कलेज स्थापनाको लक्ष्य छ । प्राविधिक संकायको विषयलाई पनि हामीले महत्व दिएका छौँ । २७ वटा समामुदायिक विद्यालय र २२ वटा संस्थागत विद्यालय छन् । एउटै वडामा तीनवटासम्म विद्यालय छन् । हामीले प्रादेशिक अस्पताल बकुलहर अस्पताललाई व्यवस्थित गरेका छौँ । दैनिक एक हजारजनाले यहाँबाट सेवा लिन्छन् । अस्पताल, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, आयुर्वेद सेवा केन्द्र, क्लिनिक, बर्थिङ सेन्टरलाई व्यवस्थित गर्ने काम भएको छ । नगरको लगानी शिक्षा र स्वास्थ्यमा प्राथमिकताका साथ छ ।

रत्ननगरको मुख्य परिचय पर्यटकीय नगरी हो । यसको विकासका योजना र प्रगति के छ ?
गुरुयोजना नभएको अवस्थामा पनि हामी यसतर्फ सचेत भएर काम थालेका छौँ । सौराहाको मुख्य प्रवेशद्वार अस्तव्यस्त रहेको अवस्थामा अति साँघुरो र जीर्ण सडक मर्मतसँगै विस्तारको काम भएको छ । सौराहामा नाला, ग्रिनरीसहितको फुटपाथ बन्दै छ । साइकल लेनको काम पनि गर्दै छौँ । सौराहा प्रवेशमा रहेको साँघुरो पुलको छेउमा आकर्षक सिग्नेचर ब्रिजका लागि अध्ययन सम्पन्न भएको छ ।

सौराहामै ऐलानी जग्गामा अतिक्रमण गरेर बनेका संरचना हटाएर संरक्षणको काम भएको छ । वन्यजन्तुबाट बस्ती सुरक्षित बनाउन वाल निर्माणको काम भएका छन् । सौराहामा ठूला कार्यक्रम गर्न मिल्ने १५ सय क्षमताको सिटीहल निर्माणको अन्तिम चरणमा छ । सौराहामा पर्यटक बसाइ लम्ब्याउने योजनामा बनिरहेको छ  । सौराहामा पर्यापर्यटक भित्र्याएर नगरलाई समृद्ध बनाउन सकिन्छ । यहाँका आदिवासीहरूको आफ्नै मौलिक संस्कृति छ । यसको विकास, प्रचार र संरक्षणमा हाम्रो ध्यान छ ।

कृषि उत्पादन वृद्धिका लागि पनि केही भइरहेको छ ?
‘व्यावसायिक कृषि पर्यटकीय सहर : स्वच्छ समृद्ध हाम्रो रत्ननगर’ भन्ने हाम्रो नारा नै छ । हामी यहाँ आएका पहुनालाई यहीँको परिकार खुवाउन सक्छौँ । म मेयर भएपछि नगरले किसानलाई दूधमा प्रतिलिटर अनुदानको घोषणा गरेको छ । घाँस र बिउमा अनुदान छ । लगानीको वातावरण हामीले तयार गर्दिने हो । तर, छिमेकी राष्ट्रबाट आउने उत्पादनलाई रोक्न वा कडाइ गर्न नसक्दा यहाँका उत्पादनले बजार पाउन गाह्रो भएको छ । 

केन्द्र र प्रदेश सरकारसँग कस्तो समन्वय छ नि ?
केन्द्र, प्रदेश र स्थानीय गरी सरकारका तीन तह छ । तर, समन्वय भएको भने देखिन्न । पर्यटकीय क्षेत्र सौराहा भएकाले प्रायः शीर्ष नेताहरू यहाँ आइपुग्नुहुन्छ, त्यो कार्यक्रमको सन्दर्भमा होस् वा घुमफिरको सन्दर्भमा । संवाद हुनै गाह्रो हुन्छ, पार्टीगत हिसाबले जाने रहेछ । हामी सबैले जनताको मत लिएर जाने हो, तर यो जनताको दुःख र भार स्थानीय सरकारले बोक्ने रहेछ । केन्द्र र प्रदेशसँग सहज समन्वय छैन । 

सुशासनको विषयमा बोल्नुपर्यो भने ?
युवा हो, स्वच्छ छविको मान्छे हो । यसले भ्रष्टाचार गर्दैन र गर्न पनि दिँदैन भनेर मलाई नगरवासीले जिताएर ल्याउनुभएको छ । मैले आफ्नो सेवासुविधा, बैठक भत्ता पनि लिन्नँ । उक्त रकम कोषमा जम्मा गरेर असहाय, विपन्न र बिरामी भएर आउनेलाई अवस्था हेरेर सहयोग गर्ने गरेको छु । सबैलाई मैले भ्रष्टाचार गर्दिनँ भन्ने विश्वास छ ।

विदेशमा ४ लाखको तलब छाडेर आएको हुँ । मैले कमाउन चाहेको भए उत्तै कमाउने थिएँ । म यहाँ केही गर्न आएको हुँ । मेरो नगरको १६ वटै वडामा कुनै पनि योजना अघि बढाउँदा जनतासँग सहकार्य हुन्छ । जनताको अधिकार प्रदान गरेर बजेटदेखि हरेक क्षेत्रमा पारदर्शिता र मितव्ययिता अपनाएर अघि बढेका छौँ । हामी जनताको काम गर्न बसेको हौँ । जनताले सेवामा दुःख पाउनुहुँदैन । सुसासन र सर्दचार हाम्रो पहिलो सर्त हो ।

सुझावित समाचार