घोषणाको चार वर्षपछि सम्पदा मार्ग निर्माण सुरु

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण
घोषणाको चार वर्षपछि सम्पदा मार्ग निर्माण सुरु

वसन्तपुर दरबार क्षेत्रको फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले चार वर्षअघि नै घोषणा गरेको सम्पदा पदमार्ग निर्माण बल्ल सुरु गरेको छ । महानगरले हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणको पहिलो चरण सुरु गरेको हो । 

महानगरका अनुसार पहिलो चरणमा सडक ढलान, लाइटिङ, इँँटा र ढुंगा बिछ्याउने, फुटपाथ निर्माण भइरहेको छ । २.२ किलोमिटरको यो सम्पदा मार्गको एक किलोमिटर महानगरको वडा १५ मा पर्छ । बाँकी १.२ किलोमिटर वडा १९ मा पर्छ । वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलका अनुसार पहिलो चरणको काममा वडाले पनि सहयोग गरिरहेको छ । ‘पहिलो चरणअन्तर्गत ढलान, सडकबत्तीको काम भइरहेको छ । हालसम्म चार सय मिटर ढलान भइसकेको छ,’ अध्यक्ष डंगोलले भने, ‘वडाबाट पनि सक्दो सहयोग गरिरहेका छौँ ।’ बाटो र लाइटिङमा सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागको आर्थिक सहयोगमा काम भइरहेको छ । 

परियोजना सक्न तीन अर्ब लाग्ने
महानगरका अनुसार हालकै गतिमा सम्पदा मार्ग निर्माण भए पूरा हुन पाँच वर्ष लाग्नेछ भने परियोजना सम्पन्न गर्न करिब तीन अर्ब खर्च हुनेछ । महानगरका प्रवक्ता नवीन मानन्धरले वहुवर्षीय यो योजना अगाडि बढाउन संस्कृति मन्त्रालयले काम विभाजन नगर्दा सोचेअनुसार गति लिन सकेको छैन । विश्व सम्पदा क्षेत्रमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र स्वयम्भूलाई जोड्ने हुनाले यो मार्गलाई सम्पदा मार्ग भनिएको हो । तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालमै ६ वैशाख ०७६ मा सम्पदा मार्गको गुरुयोजना सार्वजनिक भएको थियो । 

महानगरका अनुसार सम्पदा मार्गले हनुमानढोका, काष्ठमण्डप, मरु गणेश, मरु हिटी, सन्तानेश्वर महादेव, मरुबही, मिच्याः गल्ली, बन्जाः हिटी, साः (तेल मिल), दमाईं टोल, सुन्ता गल्ली, पाछै गल्ली, नरदेवी द्यःछेँ, आयुर्वेदिक अस्पताल, सामुदायिक (लोकेश्वर)गल्ली, बुरांखेल, म्येछ्यों हिटी, तप्यँताँ, रञ्जित मल्ल सतः घाट, भेलु महादेव, डल्लु चौतारा, निपु हिटी (भीमसेन मन्दिर), धिमे ल्वहं, चारा हिटी, भुइँखेल हुँदै स्वयम्भूलाई जोड्नेछ । सम्पदा पदयात्राको २.२ किलोमिटर दूरीभित्र रहेका करिब २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिनेछ ।

पदयात्रामा सम्पदा अवलोकन गर्न सकिने 
महानगरका अनुसार हनुमानढोका दरबार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूसम्म पुग्दा इतिहासको विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल आदि सम्पदा अवलोकन गर्न सकिनेछ । महानगरपालिकाले ती सम्पदा पहिचान गर्न विभिन्न संकेत चिह्न राख्ने, स्थानीय घरलाई परम्परागत स्वरूपमा ल्याउने, ठाउँठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटीपौवा तथा सत्तलको मर्मत–सम्भार तथा संरक्षणको  कार्य गर्नेछ । यी दुई सम्पदालाई जोड्ने पदमार्गमा अवस्थित मूर्त एवं अमूर्त सम्पदा तथा सांस्कृतिक परम्पराको अभिलेखीकरण, प्रवर्द्धनर संग्रह गरिनेछ । यसका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ ।

हाल पहिलो चरणअन्तर्गत ढल निर्माण, जमिनमुनि बिजुलीको डक्ट निर्माण, इँँटा र ढुंगा बिछ्याउने कार्य, फुटपाथ निर्माणलगायत काम भइरहेको छ । दोस्रो चरणमा सार्वजनिक साइनेज, होर्डिङ बोर्ड, बिजुलीको खम्बा व्यवस्थापन, फोहोर फ्याँँक्ने भाँडो, मूर्तिकला राखिने स्तम्भलगायत काम हुनेछ । 

तेस्रो चरणमा भित्तेचित्र, मूर्तिकलासम्बन्धी काम गरिनेछ । भित्तेचित्रका लागि आवश्यक स्थान तोकी सो स्थानको महत्व झल्किने गरी विषयगत ‘थिम’ दिइनेछ । त्यसका लागि ललितकला प्रज्ञा प्रतिष्ठानका कलाकारहरूलाई सहभागी गराइने गुरुयोजनामा उल्लेख छ । चौथो चरणमा भवनको मुख भाग (अग्रभाग)लाई परम्परागत शैलीमा निर्माण गर्ने, निजी भवनलाई हेरिटेज होमका रूपमा निर्माण गरिनेछ ।

See More On

सुझावित समाचार