नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोलीले मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष ब्रिफिङ गरेका छन्। ब्रिफिङमा केन्द्रीय बैंकले विदेशी विनिमय सञ्चितिमा दबाब बढ्दै जाने सम्भावनाहरू प्रस्तुत गरेको छ।
विभागले सार्वजनिक तथा निजी निर्माण कार्यले तीव्रता पाउने र सरकारी खर्चसमेत वृद्धि हुँदै जाने भएकाले पुँजीगत आयात वृद्धि भई विदेशी विनिमय सञ्चितिमा दबाब सिर्जना हुन सक्ने उल्लेख गरेको छ।
‘नयाँ जनादेशअनुसार संघीय तथा प्रदेश सरकार गठन भएपछि तीव्र विकासप्रतिको आकांक्षा पूरा गर्न सरकारले शासकीय तथा आर्थिक सुधारका कार्यक्रमहरू ल्याउने, तीनै तहका सरकारहरूको सक्रियता बढ्ने हुन्छ,’ उक्त ब्रिफिङमा उल्लेख छ, ‘यसबाट आर्थिक क्रियाकलापहरूले थप गति लिने अपेक्षा गर्दा विकास निर्माणलगायत निजी क्षेत्रको माग बढ्न गई थप आयात बढ्न सक्ने देखिएकाले विदेशी विनिमय सञ्चितिमा थप दबाब पर्ने सम्भावना देखिन्छ।’
बढ्दो नीतिगत दरको कारण लगानी तथा उपभोग प्रभावित भई विश्वका देशहरूको अर्थतन्त्र संकुचनमा जाने प्रक्षेपण भइरहेको छ । यसले नेपालको वैदेशिक रोजगारी प्रभावित भई विप्रेषण आप्रवाहमा नकारात्मक प्रभाव पर्न सक्ने सम्भावना देखिएको विभागले जनाएको छ । यस्तो अवस्थामा विदेशी विनिमय सञ्चितिमा समेत दबाब पर्न सक्ने सम्भावना देखिएको उल्लेख छ।
ब्रिफिङमा उल्लेख छ, ‘बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले नीतिगत दरहरूमा वृद्धि गरिरहेका छन्। यो क्रम अझै केही समय कायम रहने भएकाले नीतिगत दरहरू घट्ने क्रम सुरु हुन थप समय लाग्ने देखिन्छ। यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर नेपालमा समेत पर्ने देखिन्छ।’
हाल देखापरेको विश्व आर्थिक मन्दीमा आगामी दिनमा तीव्रता आएमा अन्तर्राष्ट्रिय बजारमा नेपाली श्रमिकको मागमा कमी आउने जोखिम रहेको विदेशी विनिमय विभागको आकलन छ।
आन्तरिक ब्याजदरमा कमी आउँदा समग्र माग बढ्न गई विगतमा जस्तै आयात निरन्तर विस्तार हुँदै जाने तथा औपचारिक विप्रेषण आप्रवाह संकुचन हुने प्रवृत्ति देखिने जोखिम उल्लेख छ।
यस्तो अवस्था रहेमा पुनः शोधनान्तर घाटा हुन गई विदेशी विनिमय सञ्चितिले अत्यावश्यकीय वस्तु तथा सेवाको आयात धान्नसमेत अपर्याप्त हुन सक्ने सम्भावना रहेको उल्लेख छ।