तल्लो खारे खोलामा आक्रमण गर्नेलाई कारबाही गर्न माग

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले दोलखास्थित ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत् आयोजनामा आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । इप्पानले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणबाट भएको क्षतिको उचित क्षतिपूर्ति दिनसमेत माग गरेको हो । 

युनिभर्सल पावर कम्पनी दोलखाले सञ्चालन गरिरहेको उक्त आयोजनामा मंगलबार राति स्थानीयबाट आक्रमण भएको थियो । हेडवर्क साइटमा अज्ञात समूहले तोडफोड गर्दा झन्डै २५ लाखको क्षति भएको दाबी गरिएको छ । साथै, केही कर्मचारी घाइतेसमेत भएका छन् । यस्ता घटनाहरूलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकताप्राप्त जलविद्युत् आयोजनाहरूमा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने इप्पानको माग छ ।   

के हो घटना ?
कम्पनीका अनुसार मंगलबार राति बाइकमा आएका चंखुनिवासी भुवन श्रेष्ठ र केही अराजक समूहले कर्मचारीलाई कुटपिट गरेका हुन् । कम्पनीबाट प्राप्त जानकारीअनुसार उनीहरूले विभिन्न उपकरणहरू तोडफोड गरेका छन् । भुवन श्रेष्ठलगायतका समूहले भाग्दै गरेका कर्मचारी विनोद महतलाई पक्राउ गरी हातपात गरी घाइते बनाएका छन् । घाइते कर्मचारी विनोद महतको उपचार भइरहेको छ । यो घटना राति ११ः३० बजे भएको कम्पनीले जनाएको छ । साथै, आयोजनाको कम्प्युटर, सिसिटिभीलगायतका भौतिक संरचनामा पनि तोडफोड गरी क्षति गराएका छन् । 

ज्यान मार्ने नियतले उक्त अराजक कार्य गर्ने व्यक्ति र समूहमाथि कानुनबमोजिम हदैसम्मको कारबाहीको माग गरी कम्पनीले स्थानीय प्रहरी प्रशासनमा उजुरी गरेको छ । निर्दोष कर्मचारीमाथि ज्यान मार्ने किसिमले आक्रमण हुँदा कर्मचारीहरू भयभीत रहेको र शान्ति सुरक्षाको प्रत्याभूति नहुँदा काम गर्ने मनोबल नरहेको आयोजनाका जनसम्पर्क अधिकृत हरि पन्थीले बताए । 

कम्पनीले निर्माणकालदेखि आजसम्म स्थानीय सरोकार समिति र गाउँपालिकासँग समन्वय गरी स्थानीय जनताहरूको सामाजिक, आर्थिक विकासका लागि विद्यालय, सिँचाइ, खानेपानी, सडक निर्माण, गुम्बा संरक्षणलगायतका कार्यहरूमा आर्थिक सहयोग गर्दै आएकोमा यस्तो असामाजिक र तोडफोडको कार्य हुनु निन्दनीय भनेको छ । कम्पनीले गौरीशंकर गाउँपालिकासित समन्वय गरी हाल सडक मर्मतको कार्य पनि गरिरहेको कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार