पुनर्वासमा जग्गा नापजाँच सुरु : आठ हजार घरपरिवार जमिनका मालिक बन्दै

बिहिबार, ९ चैत, २०७९
डिजिटल संस्करण

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा पनि ऐलानी जग्गा नापजाँच सुरु भएको छ । राष्ट्रिय भूमि आयोगमार्फत पुनर्वास नगरपालिकाले नगर क्षेत्रमा रहेको जग्गा नापजाँच सुरु गरेको हो । पुनर्वास नगरपालिकाले ९ नम्बर वडा बीचफाँटादेखि जमिन नापजाँच सुरु गरेको जनाएको छ ।

पुनर्वास नगर प्रमुख तोयाप्रसाद शर्माले नगरका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासको व्यवस्थापनका लागि जग्गा नापजाँच सुरु गरिएको बताए । मेयर शर्माका अनुसार चैत्र दोस्रो सातादेखि जमिन नापजाँच सुरु गरिएको छ । ‘केही दिनमा थप जनशक्ति लगाएरै भए पनि नापजाँच कामलाई तीव्र पार्छौँ,’ ‘मेयर शर्माले भने, ‘हामीले जनतासँग चुनावका वेला गरेका वाचा पूरा गर्छौँ ।’

पुनर्वासमा ऐलानी जमिन नापजाँच सुरु गरिएसँगै  ५१ वर्षदेखि जमिन भएर पनि स्वामित्व नपाएका किसान लाभान्वित हुने भएका छन्। पुनर्वासमा ०२८ सालदेखि बसोवास गरी जग्गाको स्वामित्व (लालपुर्जा) विहीन किसान छन् । भूमि आयोग र पालिकाले कामकाज सुरु गरेसँगै उनीहरू हर्षित भएका छन् ।

पुनर्वास नगरपालिका– ९ का वडाध्यक्ष नरबहादुर विकले आफ्नै वडाबाट जमिन नापजाँच सुरु कार्यले हर्षित भएको बताए । अध्यक्ष विकले वर्षौँदेखि जमिनविहीन भएका जनता जमिनको मालिक बन्ने आशा व्यक्त गरेका छन् । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले पुनर्वास नगरपालिकाले समेत जमिन नापजाँच सुरु गरेसँगै लामो समयदेखि जमिनविहीन किसान जमिनको स्वामित्व पाउने बताए । ०७६ माघ २८ सम्म आवादी गरेको १० वर्ष पूरा भएकोलाई मात्रै जग्गा उपलब्ध गराउने अध्यक्ष ढुंगानाले बताए 
 

सुझावित समाचार