किशोर–किशोरीसँग अभिभावकले कस्तो व्यवहार गर्ने ?

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

किशोरावस्थालाई संवेदनशील उमेर मानिन्छ । यो उमेरमा सिकेका र सिकाइएका पाठले नै मानिसको भविष्य निर्धारण हुन्छ । यस उमेरमा पुगेपछि बालबालिकाले अनौठो र फरक स्वभाव देखाउन सक्छन् । त्यसैले उनीहरूको देखाउने स्वभाव वा बानीलाई अभिभावक र परिवारका सदस्यले सही वा गलत छुट्याएर मार्गनिर्देशन गर्न सक्नुपर्छ । 

- जसरी शरीरका अंगहरू विकास गर्न पौष्टिक तत्वहरूको आवश्यक पर्छ, त्यस्तै, मस्तिष्क विकासका लागि विभिन्न तत्व चाहिन्छ । किशोरावस्थाका मानिसमा मनोसामाजिक विकासको प्रभाव पर्छ । जस्तो– पत्रपत्रिका, रेडियो, टेलिभिजन, सामाजिक सञ्जालमा कस्ता कुरा आउँछन् र घरपरिवारमा गफगाफ हुन्छन् ।

छिमेकमा कस्ता क्रियाकलाप हुन्छन् ? यस्ता कुराले किशोर–किशोरीलाई प्रभाव पारिरहेको हुन्छ । त्यसैले उनीहरू कस्तो कुरामा रमाउँछन्, कस्तो खेल्छन्, कतिखेर सुत्छन्, अभिभावकको व्यवहार कस्तो छ भन्नेले विशेष अर्थ राख्छ । यस्ता कुरालाई अभिभावकले बुझ्नुपर्ने हुन्छ । 

- किशोर–किशोरीमा जिद्दीपन देखिनसक्छ । जे कुरा चाहेको हो, त्यो कुरा भएन भने निराश हुने पनि हुन सक्छ । सामाजिक सञ्जालको प्रभावले गर्दा पनि यस्तो हुन्छ । जस्तो फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता डिजिटल दुनियाँले उनीहरूलाई बाहिरी संसार देखाइरहेको हुन्छ । उनीहरूलाई कोही व्यक्ति आदर्श लाग्न सक्छ र ती व्यक्तिले गरिरहेकै क्रियाकलाप उनीहरूलाई पनि गर्न मन लाग्छ । यो उमेरमा त्यस्तो कुरा महसुस हुनु स्वाभाविक हो । तर, उनीहरूलाई गलत वा सही थाहा हुँदैन । त्यस्ता कुरामा परिवार सचेत हुनुपर्छ । 

- जो चाँडै भाइरल हुन्छ, जसले चर्चाका लागि काम गर्छ, चाँडै पैसा कमाउँछ, ती कुरा नै उनीहरूको आइडल भइदिन पनि सक्छ । यस विषयमा परिवार सजग रहनुपर्छ र उनीहरूलाई सही मार्गदर्शन दिनुपर्छ । सफलता प्राप्त गर्नका लागि संघर्ष गर्न पनि सिकाउनुपर्छ । 

- जीवनको कुनै पनि हारलाई एप्रिसिएट गर्न हाम्रो शिक्षाले सिकाएको छैन । हारलाई आत्मसात् गर्न सिकाउँदैन । जीवनमा विजय हुनु मात्रै तयार हुनुपर्छ भन्ने मनोविज्ञानको विकास हाम्रो समाजले गरिरहेको हुन्छ । किशोर–किशोरीलाई पनि त्यसले प्रभाव पारेको हुन्छ । स्कुल तथा कलेजमा पढ्दा पनि जहिल्यै प्रथम हुनुपर्छ भन्ने दबाबले उनीहरू थिचिएका हुन्छन् । उनीहरूलाई हार पनि जीवनको एउटा पक्ष हो र यसमा अभ्यस्त हुन सक्नुपर्छ भनेर सिकाउनुपर्छ । 

- कतिपयले सानो असफलताबाटै कुलतमा लाग्ने, हात काट्ने, डिप्रेसन हुने, आत्महत्या गर्ने जस्ता व्यवहार पनि देखाइरहेका हुन्छन् । त्यसैले पनि हामीले असफलतामा खुसी हुने र विचलित नहुने उपाय किशोरावस्थामा सिकाउन जरुरी छ । 

- रिसलाई कसरी प्रकट गर्ने, खुसीलाई कसरी व्यक्त गर्ने, ईष्र्या लाग्दा के गर्ने, आफ्ना मनोभावहरूलाई कसरी नियन्त्रण गर्ने, कसरी सिर्जनशील बन्ने भन्ने विषय पनि अभिभावकले सिकाउनुपर्छ । यसका लागि अभिभावकले पहिले बालबच्चाका भावनालाई ध्यानपूर्वक सुन्नुपर्छ । उनीहरूलाई बेवास्ता गर्नुहुँदैन । 

- अभिभावकले बच्चालाई पढ्न, खेल्न उत्प्रेरित गर्नुपर्छ । उनीहरूले पढ्ने पुस्तक, हेर्ने सिनेमाजस्ता कुरामा अभिभावकले पनि अभिरुचि देखाउनुपर्छ । उनीहरूसँग हलसम्म जाने, उनीहरूले पढेका पुस्तकका विषयमा छलफल गर्नेलगायत गर्नुपर्छ । यस्तो हुँदा उनीहरूले पनि सम्मान महसुस गर्छन् । 

सुझावित समाचार