खाना पकाउने एलपी ग्यासको खपत घट्न थालेको छ । नेपाल आयल निगमका अनुसार विगतको तुलनामा चालू आवको माघसम्ममा ग्यासको खपत ५ प्रतिशतले घटेको छ । निगमका सहायक प्रवक्ता पुष्कर कार्कीका अनुसार यसअघि आर्थिक वर्ष ०७२/७३ मा भारतीय नाकाबन्दीका कारण पेट्रोलियम आपूर्तिमा अवरोध हुँदा समग्र इन्धनको आयात घटेको थियो ।
त्यसयता पहिलोपटक ग्यास आयात घटेको हो । पछिल्लो समय सहरी क्षेत्रमा इन्डक्सन चुलोको प्रयोग बढ्न थालेका कारण ग्यास खपत घटेको निगमको अनुमान छ । ‘इन्डक्सन चुलोको प्रयोग बढ्न थालेको छ । त्यसको असर ग्यास आयातमा देखिएको हुन सक्छ,’ सहायक प्रवक्ता कार्कीले भने । त्यस्तै, औद्योगिक क्षेत्रमा वेल्डिङको काम गर्नसमेत ग्यासको प्रयोग हुन छाडेकाले पनि खपतमा असर परेको निगमको भनाइ छ ।
आयल निगमका अनुसार चालू आव ०७९/८० को माघ महिनासम्म दुई लाख ९४ हजार दुई सय २७ मेट्रिकटन ग्यास खपत भएको छ । गत आव ०७८/७९ को माघ मसान्तसम्म तीन लाख नौ हजार नौ सय १४ मेट्रिकटन ग्यास खपत भएको थियो । गत आवको यही अवधिमा ग्यास खपत १६ प्रतिशतले वृद्धि भएको थियो ।
अघिल्लो वर्षको तुलनामा यो वर्षको माघ मसान्तसम्म १५ हजार ६ सय ८६ मेट्रिकटन ग्यास कम आएको देखिन्छ । यो भनेको ११ लाख चार हजार ६ सय ६२ थान सिलिन्डर भर्न पुग्ने ग्यास हो । ‘यसरी हेर्दा माघ मसान्तसम्म एक अर्ब ९८ करोड रुपैयाँ मूल्यबराबरको ग्यास खपत घटेको देखिन्छ,’ कार्कीले भने, ‘निरन्तर घाटा व्यहोरिरहेको ग्यासको खपत घट्दा निगमलाई समेत आर्थिक नोक्सानी कम हुन मद्दत मिलेको छ ।’ हाल दैनिक एक लाख ग्यास सिलिन्डरको खपत भइरहेको निगमको तथ्यांक छ । तर, बिस्तारै यो संख्यामा कमी आउने देखिएको कार्कीले बताए ।
चालू आवमा कहिले कति आयो ?
जाडो मौसमलाई ग्यास खपतको मुख्य सिजन मानिन्छ, तर यही अवधिमा खपतमा भएको कमीले आउँदा दिनमा यही प्रवृत्ति दोहोरिन सक्ने निगमको बुझाइ छ । चालू आवको माघ महिनामा सबैभन्दा बढी ४६ हजार एक सय ३१ दशमलव ४२ मेट्रिकटन ग्यास आयात भएको छ । त्यस्तै, पुसमा ४१ हजार तीन सय ७६ मेट्रिकटन, मंसिरमा ३९ हजार दुई सय १३ मेट्रिकटन ग्यास आयात भएको थियो । कात्तिकमा ४३ हजार ६ सय ४९ मेट्रिकटन, असोजमा ३९ हजार नौ सय ८३ मेट्रिकटन, भदौमा ४२ हजार चार सय एक मेट्रिकटन र साउनमा ४१ हजार चार सय ६९ मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ ।
ग्यासमा निगमलाई निरन्तर घाटा
आयल निगमलाई ग्यास आयातमा निरन्तर घाटा छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढ्दा निगमको घाटा झन् चुलिएको छ । हाल १८ सय रुपैयाँ प्रतिसिलिन्डर बिक्री मूल्य निर्धारण गरिएको ग्यासको लागत दुई हजार चार सय ३५ रुपैयाँ ५० पैसा रहेको निगमले जनाएको छ । मासिक १४ लाख ६० हजार पाँच सय ७० थान ग्यास बिक्री हुने अनुमानका आधारमा १७–३० फागुनसम्म मात्रै निगमलाई ९२ करोड ८२ लाख रुपैयाँ घाटा छ । अन्य पेट्रोलियममा भने निगमलाई नाफा छ ।
