बुधबारदेखि आचारसंहिता, खर्च सीमा चार लाख
राष्ट्रपति पदमा उम्मेदवारी दिने कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङविरुद्ध उजुरी परेको छैन । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारविरुद्ध उजुरी नपरेको जानकारी दिएको छ । दुवै उम्मेदवारीविरुद्ध उजुरी नपरेपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यक्रम अघि बढाएको छ । राष्ट्रपतिको निर्वाचन आगामी २५ फागुनमा हुँदै छ ।
निर्वाचन अधिकृतका कार्यालयका अनुसार मंगलबार १०–४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ । मंगलबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यालयको तयारी छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता मंगलबारदेखि लागू हुँदै छ । अन्तिम नामावली प्रकाशन गरेपछि त्यसमा रहेका उम्मेदवारलाई बोलाएर आचारसंहिताबारे जानकारी गराइने सहायक निर्वाचन अधिकृत अमृता शर्माले बताइन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू हुने जानकारी दिए । ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।
आचारसंहितामा मतदानको ४८ घन्टाअघिदेखि सभा, जुलुस, नाराबाजीलगायत प्रचारप्रचार गर्न नपाउने व्यवस्था छ । साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल तथा अन्य कुनै साधन प्रयोग गर्न नपाउने पनि उल्लेख छ । बाजा, सार्वजनिक भोज, हुलहुज्जत गर्न नपाइने, मादक पदार्थ निषेध र हातहतियार लिएर हिँड्न नपाइने व्यवस्था गरिएको छ ।
आयोगका अनुसार राष्ट्रपति तथा
उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारको अधिकतम खर्च सीमा चार लाख रुपैयाँ रहेको छ । दुवै पदका उम्मेदवारले चुनाव प्रचारप्रसार र सम्पर्क कार्यालयलगायत शीर्षकमा खर्च गर्न पाउँछन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ अनुसार मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्च अधिकतम चार लाख हुनुपर्छ । परिणाम घोषणा भएपछि ३० दिनभित्र आयोगमा खर्च विवरण बुझाउनुपर्छ ।