श्रमिकका समस्या समाधान गर्न टास्क फोर्स

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको गुनासो सुनुवाइ गर्नका लागि टास्क फोर्स गठन गर्ने भएको छ । मन्त्रालयले सञ्चालन गरेको कल सेन्टरमा आएका श्रमिकहरूको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागका महानिर्देशकको संयोजकत्वमा टास्क फोर्स गठन गरिनेछ । जसमा श्रम मन्त्रालयका प्रतिनिधि, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष वा तोकिएको प्रतिनिधि सदस्य रहनेछन् । कार्यदलका सदस्यसचिव, वैदेशिक रोजगार विभागका निर्देशक रहनेछन् । 

कार्यदलले वैदेशिक रोजगारसम्बन्धी गुनासोहरूको तत्काल सम्बोधन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण आर्यालले बताए । उनका अनुसार टास्क फोर्सले वैदेशिक रोजगारसम्बन्धी गुनासो सुनी सम्बद्ध पक्षहरूबीच मेलमिलाप गराउने तथा थप अनुसन्धान आवश्यक परेमा नेपाल प्रहरीलाई तुरुन्त सूचना तथा समन्वय गर्नेछ । त्यस्तै, न्यायिक निरूपण गर्नुपर्ने विवादहरूलाई अदालतसमक्ष पेस गर्ने, वैदेशिक रोजगारीसम्बन्धी गुनासोहरू सम्बोधनमा अन्तरमन्त्रालय एवं अन्तरनिकाय समन्वय गर्ने कार्यादेश दिइएको छ । 

श्रम मन्त्रालयका सचिव अर्यालका अनुसार कार्यदलको बैठक प्रत्येक दुई हप्तामा एकपटक बस्ने र सम्पादन गरेका कामहरूको नियमित रूपमा प्रतिवेदन मन्त्रालयमा छलफल गर्नुपर्ने व्यवस्था गरिएको छ । हाल मन्त्रालयले श्रमिका गुनासो सुनुवाइका लागि २४सै घन्टा कल सेन्टर सञ्चालन गरेको छ ।  

श्रमिकको स्वास्थ्य समस्या समयमा नै समाधान गर्न श्रम मन्त्रालयले टेलिमेडिसिन सेवा सुरु गर्ने निर्णय भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । स्वास्थ्य सेवालाई व्यवस्थित गर्न टेलिमेडिसिन सञ्चालन कार्यविधि निर्माण गरिने भएको छ । वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको स्वास्थ्य सेवामा टेलिमिडिसिन सेवामार्फत पहुँच बढाउने र श्रमिकहरूको स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण गर्न अनलाइन माध्यमबाट परामर्श सेवा उपलब्ध गराउने मन्त्रालयको उद्देश्य रहेको सचिव अर्यालले बताए । टेलिमेडिसिनमार्फत विज्ञ चिकित्सकले श्रमिकको समस्या सुनेपछि समाधान बताउनेछन् । ‘कतिपय श्रमिक समय नमिलेर वा त्यहाँ उपचार गर्न जाने मेसो नपाएर समस्या बोकेर बसेका हुन सक्छन् । त्यस्ता श्रमिकले अनलाइनमार्फत समस्या बताए भने विज्ञ चिकित्सकले घरेलु उपचार विधि वा उपयुक्त उपचार विधि बताइदिनेछन्,’ उनले भने ।    

मन्त्रालयले यो सेवाका लागि छुट्टै टेलिमेडिसिन एपको विकास गर्ने भएको छ । जुन श्रमिकका समस्याहरू समाधानमा सहयोगी बन्ने तथा सहज हुने मन्त्रालयको ठम्याइ छ । यो सेवाले विदेशमा रहेका श्रमिकले स–साना समस्याबाट पीडित हुनुपर्ने र रोग पालेर गम्भीर हुने अवस्थामा पुग्नबाट रोक्ने मन्त्रालयको लक्ष्य रहेको छ । श्रमिकहरूले एपमार्फत वैदेशिक रोजगार बोर्डले नियुक्त गरेका डक्टरहरूले प्रश्नहरूको समाधान गर्ने प्रणालीको विकास गरिने भएको छ । सो कार्य एक महिनाभित्रै कार्यान्वयनमा ल्याइसक्ने गरी मन्त्रालयले कार्यलाई अगाडि बढाएको मन्त्रालयका सचिव अर्यालले बताए । 

श्रम मन्त्रालयले विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमसम्बन्धी हेर्ने गरी छुट्टै फोकल पर्सन तोक्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ । मन्त्रालयले यसअघि पनि परराष्ट्र मन्त्रालयलाई श्रमसम्बन्धी कार्य हेर्ने गरी फोकल पर्सन तोक्न आग्रह गरेको श्रम मन्त्रालयका सहायक प्रवक्ता राजीव पोख्रेलले बताए ।

‘परराष्ट्र मन्त्रालयको निर्णयविना श्रम मन्त्रालयले श्रमिकका लागि गर्ने निर्णयहरू कार्यान्वयन हुन सक्दैनन् । तर, परराष्ट्रले श्रमबाहेकका अन्य विषयमा काम गर्ने हुँदा श्रम मन्त्रालयका कामहरू सधैँ ओझेल पर्ने र श्रमिकको हितमा गरिने निर्णय कार्यान्वयनमा ढिलासुस्ती हुँदै आएको छ,’ उनले भने । हामी हतार–हतारमा निर्णय गर्छौँ, तर परराष्ट्रबाट फाइल नै अगाडि सर्दैन । त्यसैले सबै दूतावास र परराष्ट्र मन्त्रालयमा नै श्रमलाई हेर्ने गरी फोकल पर्सन तोक्न आग्रह गरिएको उनले बताए । 

See More On

सुझावित समाचार