हिजोआज बच्चाहरू अधिकांश समय डिजिटल स्क्रिनमा झुम्मिएका हुन्छन् । उनीहरू फुटबल र क्रिकेटजस्ता खेल पनि एपमार्फत मोबाइलमा खेल्छन् । यस्ता बच्चाका अभिभावकले उनीहरूलाई खुला मैदानमा दौडन प्रेरित गर्नुपर्छ । किनकि, शारीरिक गतिविधिमा संलग्न हुँदा उनीहरू स्मार्ट बन्छन् ।
- प्रकृतिसँग समय गुजार्दा बच्चाहरू फिट रहन्छन् । मोटोपन र अल्छीपन हुँदैन र पढाइमा राम्रो गर्छन् ।
- खेलकुदमा लाग्नाले कल्पना शक्ति बढ्छ, जसले सिर्जनशीलता बढाउँछ ।
- उनीहरूले फुटबल, क्रिकेट, एथलेटिक्सलगायत नयाँ–नयाँ खेल खेल्न सिक्छन् र नयाँ–नयाँ साथी बनाउँछन् ।
- प्राकृतिक प्रकाशले शरीरमा ऊर्जा दिन्छ, जसले हड्डी बलियो बनाउँछ । हृदयरोग र मधुमेहको जोखिम कम हुन्छ ।
- मोबाइलमा झुम्मिँदा आँखाको ज्योति कमजोर हुने खतरा देखिन्छ । बाहिर खेल्न निस्कँदा यो समस्याबाट बच्न सकिन्छ ।
- बाहिर खेल्न निस्किएपछि अनिद्राको समस्या हटेर जानेछ । शारीरिक गतिविधिका कारण बच्चालाई मिठो निद्रा लाग्छ ।
लत कसरी छुटाउने ?
बच्चालाई स्क्रिनिङको लतबाट बाहिर ल्याउने प्रमुख उपाय उसलाई शारीरिक रूपमा सक्रिय गराउने नै हो । हिँड्ने, कुद्ने गर्न थालेपछि उनीहरूमा बिस्तारै यो लत छुट्दै जान्छ । अभिभावक केही कुरामा सचेत हुन जरुरी छ । जस्तो, बच्चाले मोबाइल माग्नासाथ दिन हुँदैन । उसलाई अन्य कामबारे सम्झाउनुपर्छ र त्यसमा व्यस्त राख्नुपर्छ । होमवर्क गर्न बाँकी छ भने त्यसबारे सम्झाउनुपर्छ । परिवारमा कोही पाहुना आउँदै छ भने ती व्यक्तिसँग समय व्यतीत गर्न प्रोत्साहन गर्नुपर्छ ।
यस्ता काममा व्यस्त हुँदा मोबाइल चलाउने कुरा बिस्तारै बच्चाको दिमागबाट हट्नेछ । बच्चालाई सुत्नुअघि कहिल्यै मोबाइल फोन दिनुहुँदैन । किनकि, सुत्नुअघि मोबाइल हेर्दा बच्चाको निद्रा बिग्रन सक्छ । रातको समयमा बारम्बार फोन हेर्ने लत बस्न सक्छ । त्यसैले सुत्नुभन्दा एक वा दुई घन्टाअघिदेखि बच्चालाई मोबाइलबाट टाढा राख्नुपर्छ । त्यस्तै, लगातार ३० मिनेटभन्दा बढी मोबाइल चलाउन दिनुहुँदैन ।
(माईउपचार डटकमबाट)