उडान क्षेत्रमा नयाँ सर्कुलर ल्याउने क्यानको तयारी

बुधबार, १८ माघ, २०७९
डिजिटल संस्करण

देशमा हवाई दुर्घटना कम गर्ने उद्देश्यसहित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सुरक्षासम्बन्धी नयाँ सर्कुलर जारी गर्ने भएको छ । यती एयरलाइन्सको एटिआर–७२ जहाज पोखरामा दुर्घटना भएपछि नियमनकारी निकायले आन्तरिक उडानलाई थप सुरक्षित बनाउन बाध्यकारी नियम लागू गर्ने तयारी गरेको हो ।

आन्तरिक यात्रामा हवाई सुरक्षाको प्रत्याभूति बढाउन नयाँ सर्कुलर जारी गर्ने तयारी भइरहेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । अब वायुसेवा कम्पनीहरूसँग आवश्यक छलफल गरेर सर्कुलरलाई अन्तिम रूप दिइनेछ ।  क्यानले उडान सुरक्षालाई ध्यानमा राखेर तयार गरेको नयाँ सर्कुलर महानिर्देशक अधिकारीले पारितसमेत गरेको स्रोतको भनाइ छ ।

हरेक महिनाको अन्तिम साता हवाई क्षेत्रका सम्बन्धमा विस्तृत समीक्षा हुने गर्छ । सोही बैठकले वायुसेवा कम्पनीसहित सबै उड्डयन सरोकारवालाले तत्काल प्रभावकारी रूपमा लागू गर्ने गरी नयाँ निर्देशन जारी गर्नुपर्ने निष्कर्ष निकालेको हो । पोखराको दुर्घटनाका सम्बन्धमा देश तथा विदेशका विज्ञसँग छलफल हुँदा नयाँ नियम बनाएर लागू गर्ने विषयमा छलफल भएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । अहिले सर्कुलरका विषयमा आन्तरिक रूपमा छलफल मात्र भएको उनको भनाइ छ ।

नयाँ नियममा पहाडी तथा हिमाली भेगका सट टेक अफ ल्यान्डिङ (स्टल) एयरपोर्टमा उडान गर्दा जहाज जमिनको सतहबाट पाँच सय फिटभन्दा माथि हुनुपर्ने व्यवस्था गरिँदै छ । त्यस्तै, सुगम क्षेत्रमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान गर्दा जहाज जमिनको सतहभन्दा एक हजार फिटमाथि हुनुपर्ने व्यवस्था गरिँदै छ ।

हाल स्टल रुटमा हुने उडानमा जहाज कति उचाइमा हुनुपर्ने भनेर स्पष्ट व्यवस्था छैन भने ट्रंक रुटमा उडान गर्दा जहाज जमिनको सतहबाट पाँच सय फिट माथि हुनुपर्ने व्यवस्था छ । यस्तै, क्यानले इन्टुमेन्ट फ्लाइट रुल (आइएफआर) प्रविधिजडित विमानस्थलमा भिजुअल फ्लाइट रुल (भिएफआर) उडान गर्न रोक लगाउने भएको छ । आइएफआर भएका विमानस्थलमा उड्ने सबै जहाजले अनिवार्य आइएफआर उडान गर्नुपर्ने बाध्यकारी नियममा बनाइँदै छ । अहिले बाध्यकारी नहुँदा वायुसेवाहरूले मौसम सफा हुँदा सबै विमानस्थलमा भिएफआर उडान गर्दै आएका छन् । 

अहिले दुईवटा अन्तर्राष्ट्रियसहित आठवटा विमानस्थलमा आइएफआर उडान उपकरण जडान गरिएको छ । जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज र धनगढी विमानस्थल रहेका छन् । १७ पुसदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझै आइएफआर उडान उपकरण सञ्चालनमा ल्याएको छैन ।

 नयाँ नियममा वायुसेवा कम्पनीका सबै परीक्षक पाइलटहरूले सम्बन्धित जहाज निर्माता कम्पनीमा गएर सीप परीक्षण गर्नुपर्ने व्यवस्था गरिँदै छ । यस्तै, सम्भावित उडान चालकदलको थकान जोखिमबाट बच्न विस्तारित उडान कर्तव्य समयसीमाको प्रावधानसमेत खारेज गर्ने तयारी हुँदै छ । पाइलटले दैनिक आठ घन्टा वा आठ अवतरण गर्न मात्रै पाउने नियम बनाइँदै छ । हाल दैनिक १० घन्टा वा १० वटासम्म अवतरण गर्न पाउने व्यवस्था छ ।

गत शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा हवाईविज्ञले आइकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढेको बताएका थिए । नेपाल वायुसेवा निगमका पूर्वइन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले आइकाओको मापदण्ड पूर्ण पालना गर्न सकेमा हवाई दुर्घटना घट्दै जाने ठोकुवा गरे । क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरूको दक्षता वृद्धि हुनुपर्ने र संरचनागत सुधारका कामहरू पनि तुरुन्तै गर्नुपर्ने बताए । 

सुझावित समाचार