उपत्यकाको ट्राफिक व्यवस्थापन हातको इसाराका भरमा

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

५६ मध्ये २५ ठाउँका ट्राफिक लाइट मात्रै बल्छन्, धेरै जाम हुने सिंहदरबार, नयाँ बानेश्वर, नारायणगोपाल चोक, जडीबुटी, पुतलीसडक चोकका बत्तीसमेत बिग्रिएका छन्

उपत्यकाका अधिकांश ट्राफिक लाइट बिग्रिएका छन् । लाइट बिग्रिएपछि ट्राफिक प्रहरी हातका भरमा ट्राफिक व्यवस्थापन गर्न बाध्य भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाभित्र रहेका ५६ ट्राफिक लाइटमध्ये २५ ठाउँमा मात्रै प्रयोगमा छन् । हाल सिंहदरबार चोक, नयाँ बानेश्वर चोक, नारायणगोपाल चोक, जडीबुटी चोक, पुतलीसडक चोकलगायत मुख्य सडक क्षेत्रका ट्राफिक लाइट बिग्रिएका छन् । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार नारायणगोपाल चोकमा रहेको ट्राफिक लाइट सौर्य ऊर्जाबाट चल्ने भएकाले त्यहाँ पावर नपुग्ने हुँदा चल्दैनन् । जडीबुटीमा सडक निर्माण र विस्तार भइरहेकाले बन्द गरिएको छ । अन्य केही मुख्य सडकमा भने विद्युत् कनेक्सन टुटेका कारण, टाइमिङ सेटमा समस्याका कारण सञ्चालनमा छैनन् । ‘उपत्यकाका सीमित ठाउँमा मात्रै ट्राफिक लाइट छन् । तर, तीमध्ये पनि अधिकांश बिग्रिएका छन्,’ हातका भरमा ट्राफिक व्यवस्थापन गर्दा जाम बढेको छ, जनशक्ति पनि धेरै खर्चिनुपरेको छ ।’ उनका अनुसार उपत्यकाका केही ठाउँमा जडान गरिएका ट्राफिक लाइट वैज्ञानिक छैनन् । एउटा चोकमा हरियो बल्दा अर्को चोकमा रातो बल्छ । जसका कारण खाली सडकमा पनि सवारीसाधन रोकिन्छ । हाल पुतलीसडक, शान्तिनगर, तिनकुने, टिचिङ अस्पतालबाहिर रहेको ट्राफिक लाइटकै कारण त्यस क्षेत्रमा जामसमेत बढाएको ट्राफिक प्रहरीको भनाइ छ । यी ठाउँका ट्राफिक लाइट सडक विभागले जडान गरेको हो । विनाअध्ययन ट्राफिक लाइट जडान गर्दा उल्टै जाम बढाएको छ ।  

मर्मत र नयाँ जडानमा चासो नदिएको गुनासो 
ट्राफिक लाइट जडान र मर्मतबारे ट्राफिक प्रहरीसँग सम्बन्धित निकायको समन्वय नगरेको एसएसपी भट्टको भनाइ छ । उनका अनुसार बिग्रिएका ट्राफिक लाइट र सडक बत्ती मर्मत गर्ने जिम्मा सडक विभाग र महानगरको हो । तर, ट्राफिक व्यवस्थापनमा सास्ती भइरहेका वेला यी निकायले ट्राफिक लाइट जडान र मर्मतमा चासो दिएका छैनन् । ‘ट्राफिक लाइटमा एउटै निकाय जिम्मेवार भयो भने मात्रै त्यसको नियमित मर्मत–सम्भार हुन्छ । एउटाले जडान गर्ने, अर्कोले मर्मत गर्ने भए समयमा कहिल्यै मर्मत हुँदैन,’ भट्टले भने । 

ट्राफिक व्यवस्थापनमा मात्रै १५ सयजना परिचालन
उपत्यकाको ट्राफिक व्यवस्थापनमा ठूलो जनशक्ति खर्च भइरहेको छ । प्रविधिको प्रयोगले जनशक्ति घटाउन सकिने भए पनि त्यसतर्फ सडक विभाग र महानगरले चासो दिएका छैनन् । हाल उपत्यकामा एक हजार सात सय ट्राफिक प्रहरी छन् । यसमध्ये दुई सय प्रहरी प्रशासनिक काममा र अन्य ट्राफिक प्रहरी जनशक्ति सडकमै परिचालन भइरहेको छ । भिआइपी ओहोरदोहोर गर्ने र बढी जाम हुने क्षेत्रमा बढी ट्राफिक प्रहरी परिचालन गरिन्छ । तर, यी ठाउँमा ट्राफिक लाइट जडान गरेर सहज बनाउन सकिने भए पनि समन्वयकारी निकायहरू जिम्मेवार नभएको ट्राफिक कार्यालयका प्रवक्ता भट्टको भनाइ छ ।

उनका अनुसार सबैतिर ट्राफिक लाइट जडान गरियो भने ट्राफिक जनशक्ति सडकमा कम परिचालन गरे पुग्छ । उपत्यकाका तीन स्थानमा ट्राफिक लाइट आवश्यक छ, तर जम्मा ५६ ठाउँमा मात्रै ट्राफिक लाइट जडान गरिएको छ । 

टाइमिङ नमिल्दा बन्द गरिन्छ ट्राफिक लाइट 
उपत्यकाका कुनै–कुनै चोकमा ‘पिक आवर’मा थेगिनसक्नु जाम हुन्छ, तर ती चोकका ट्राफिक लाइटमा सेट गरिएको समय कम हुन्छ । जता जाने सवारीसाधनको संख्या बढी छ, त्यसतर्फ बल्ने हरियो लाइटको टाइमिङ कम भएकाले कतिपय ठाउँका कुनै–कुनै वेला ट्राफिक लाइट बन्द पनि गरिन्छ । अत्यधिक जाम भयो भने सिंहदरबार, नयाँ बानेश्वर, नारायणगोपाल चोक, थापाथली, त्रिपुरेश्वरलगायत सडकको ट्राफिक लाइट बन्द गरेर हातले ट्राफिक व्यवस्थापन गरिन्छ । अत्यधिक जाम हुने वेलामा लाइटमा सेट गरिएको टाइमिङले नपुग्ने ट्राफिक प्रहरीले जनाएको छ । यस्तै, राष्ट्रपति वा प्रधानमन्त्रीको सवारीका वेला पनि ट्राफिक लाइट बन्द गरिन्छ ।

खानेपानीको पाइप फुटेर एक सय १३ स्थानका सडकमा अवरोध 
मेलम्ची खानेपानीको पाइप फुट्दा उपत्यकाका सडकमा थप अवरोध पुगिरहेको छ । ट्राफिक कार्यालयका अनुसार एक सय १३ स्थानका सडकमा मेलम्चीको पानी पाइप फुटेर अवरोध पु¥याएको छ । ती क्षेत्रमा खाल्डाखुल्डी परेको, पानी जमेको र सडक हिलाम्य हुँदा यातायात सञ्चालनमा अवरोध र जाम भइरहेको छ । बानेश्वरको थापागाउँ, चाबहिल चोक, नारायणगोपाल चोक–लाजिम्पाट, कोटेश्वर जडीबुटीलगायत सडकमा मेलम्चीको पाइप फुटेर आवागमनमा अवरोध भइरहेको छ । यसबाहेक उपत्यकाका सडकमा अवरोध र जाम हुनुको अर्को कारण विवाह र भोजभतेर पनि रहेको ट्राफिक कार्यालयले जनाएको छ । जेब्राक्रस र अकासे पुल प्रयोग नगर्दा पनि सवारीसाधन आवागमनमा अवरोध पुग्ने गरेको छ  ।

एसएसपी राजेन्द्रप्रसाद भट्ट : प्रवक्ता, ट्राफिक प्रहरी कार्यालय

नारायणगोपाल चोकमा रहेको ट्राफिक लाइट सौर्य ऊर्जाबाट चल्ने भएकाले त्यहाँ पावर नपुग्ने हुँदा चल्दैन । जडीबुटीमा सडक निर्माण र विस्तार भइरहेकाले बन्द गरिएको छ । अन्य केही मुख्य सडकमा भने विद्युत् कनेक्सन टुटेका कारण, टाइमिङ सेटमा समस्याका कारण सञ्चालनमा छैनन् । उपत्यकाका सीमित ठाउँमा मात्रै ट्राफिक लाइट छन् । हातका भरमा ट्राफिक व्यवस्थापन गर्दा जाम बढेको छ । केही ठाउँमा जडान गरिएका ट्राफिक लाइट वैज्ञानिक छैनन् । एउटा चोकमा हरियो बल्दा अर्को चोकमा रातो बल्छ । जसका कारण खाली सडकमा पनि सवारीसाधन रोकिन्छ ।

८० करोडमा ४४ इन्टेलिजेन्स लाइट थप्ने योजना 
सडक विभागले ४४ ठाउँमा ट्राफिक लाइट जडान गर्ने योजना ल्याएको छ, तर यो योजना अझै अध्ययनकै क्रममा छ । सडक विभाग, ट्राफिक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख बेलबहादुर भुजेलका अनुसार विभागले इन्टेलिजेन्स ट्राफिक लाइट जडानको योजना ल्याएको हो । यसका लागि विभागले अर्थ मन्त्रालयसँग रकम माग गरिरहेको छ । 

४४ स्थानमा यो लाइट जडान गर्न करिब ८० करोड लागत लाग्छ । यो लाइट अत्याधुनिक लाइट हो । यसमा गाडी चापअनुसार मेसिनले टाइमिङ सेट गर्छ । जहाँ बढी सवारीसाधन छन्, त्यता हरियो र जहाँ सवारी चाप कम छ, त्यहाँ बढी रातो लाइट बल्छ । यो लाइट एक चोकदेखि अर्को चोकको टाइमिङसँग पनि मिल्छ । हाल नेपालमा यस्तो प्रकारको ट्राफिक लाइट जडान भएको छैन । 

यी स्थानमा जडान हुनेछन् इन्टेलिजेन्स ट्राफिक लाइट 
इन्टेलिजेन्स ट्राफिक लाइट करिडोर क्षेत्र र बढी जाम हुने सडकमा प्रयोग हुनेछ । नारायणगोपाल चोकदेखि थापाथली, नरायणहिटी राजदरबारको दक्षिण सडक हुँदै भद्रकाली, कमलपोखरी–पुतलीसडक–थापाथली, माइतीघर–कोटेश्वरलगायत क्षेत्रमा जडान गरिनेछ । अबको चार–पाँच महिनामा अध्ययन सकिने र ६ महिनाभित्र ठेक्का लगाइने तयारी छ । काम सुरु भएको दुई वर्षभित्र सडकमा इन्टेलिजेन्स ट्राफिक लाइट बल्ने जनाइएको छ । 

See More On

सुझावित समाचार