बागमती प्रदेश सभाको उपसभामुखमा सत्तागठबन्धनका तर्फबाट एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छिन्। प्रदेश सभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको निर्वाचनमा चापागाईंको पक्षमा ६१ मत प्राप्त भएको छ।
सोमबार बसेको बागमती प्रदेश सभा बैठकमा चापागाईंलाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ६१ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो। कुल ११० सदस्यीय प्रदेश सभामा सोमबार १०८ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए।
चापागाईंलाई सत्तागठबन्धन दल एमाले, माओवादी, राप्रपा र हाम्रो नेपाली पार्टीका संसादहरूको समर्थन थियो। प्रदेशमा एमालेका २७, माओवादीका २१, राप्रपाका १३ र हाम्रो नेपाली पार्टीका २ जना सांसदहरू छन्।
प्रदेश सभाका सभामुख भुवन पाठकले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन्। उपसभामुखमा चयन हुन ५५ मत आवश्यक रहेकोमा चापागाईंको पक्षमा ६१ मत परेको थियो। उनको विपक्षमा ३९ मत खसेको थियो भने एकीकृत समाजवादीका ७ जना सांसदहरू तटस्थ बसेका थिए।
यस्तै, यसअघि उपसभामुखमा नेमकिपाकी गीता काफ्लेलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा जम्मा ३ मत, विपक्षमा ६१ र ४३ सांसद तटस्थ बसेका थिए। काफ्लेको पक्षमा बहुमत नपुगेपछि उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको सभामुख पाठकले सभामा घोषणा गरेका थिए।
यस्तै, एमालेकी अप्सरा चापागाईँ उपसभामुखमा निर्वाचित भएपछि कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सुना परियारको प्रस्ताव बैठकमै पेस भएन।