सभामुखका लागि एमालेबाट तीन मुख्य दाबेदार

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चार आकांक्षी, शक्ति बाँडफाँटका लागि प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

सभामुखको निर्वाचन नजिकिँदै जाँदा एमालेभित्र तीन नेता सभामुखको मुख्य दाबेदार देखिएका छन् । तर, भावी सभामुखलाई लिएर एमालेले संस्थागत छलफल भने गरेको छैन । सत्तासाझेदार दलहरूको प्रारम्भिक सहमतिअनुसार सभामुख एमाले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको छ । 

कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा पनि सबै दलबीच सहमति खोज्ने प्रयास गरेका छन् । सभामुख निर्वाचनको पूर्वसन्ध्यामा उनले मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन् । 

एमालेमा उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र स्थायी समिति सदस्य देवराज घिमिरे सभामुख पदका लागि मुख्य दाबेदार देखिएका छन् । उनीहरूबाहेक स्थायी समिति सदस्य रघुजी पन्त, सांसद विद्या भट्टराईले पनि सभामुखका लागि रुचि राखेका छन् । 

तर, तीनजना मुख्य दाबेदारमध्येबाटै सभामुखको उम्मेदवार बन्ने सम्भावना रहेको अध्यक्ष केपी ओलीनिकट स्रोतले जनाएको छ । तीनै नेताले अध्यक्ष ओलीसँग सभामुखका लागि रुचि प्रकट गरेका छन् । यसअघि अध्यक्ष ओली पूर्वसभामुख तथा उपाध्यक्ष सुवास नेम्वाङलाई नै सभामुख बनाउने सोचमा रहे पनि उनले राष्ट्रपतिबाहेकमा अनिच्छा प्रकट गरेपछि बाँकी तीन नेतामध्येबाटै उम्मेदवार बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ । 

उपमहासचिव विष्णु रिमालले मन्त्रिपरिषद्ले पूर्णता पाएपछि मात्रै सभामुखको उम्मेदवारबारे छलफल हुने बताए । ‘आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीले भन्नुभएको थियो, आकस्मिक विमान दुर्घटनाले उद्धारलगायतको काममा सरकार केन्द्रित हुनुपर्दा सोमबार या मंगलबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएपछि हामी सभामुखको उम्मेदवारबारे छलफल गर्छौँ,’ रिमालले भने, ‘हामीले अध्यक्षलाई नै संसदीय दलको बैठकबाट आन्तरिक परामर्श र गृहकार्य गर्ने जिम्मा दिएर जुनवेला जे निर्णय गर्ने हो, त्यतिवेलै छलफल गरेर निर्णय गर्ने नीति बनाएकाले उम्मेदवारी दर्ताअघिसम्म टुंग्याउँछौँ ।’ 

आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीले भन्नुभएको थियो, आकस्मिक विमान दुर्घटनाले उद्धारलगायतको काममा सरकार केन्द्रित हुनुपर्दा सोमबार या मंगलबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएपछि हामी सभामुखको उम्मेदवारबारे छलफल गर्छौँ । हामीले अध्यक्षलाई नै संसदीय दलको बैठकबाट आन्तरिक परामर्श र गृहकार्य गर्ने जिम्मा दिएर जुनवेला जे निर्णय गर्ने हो, त्यतिवेलै छलफल गरेर निर्णय गर्ने नीति बनाएकाले उम्मेदवारी दर्ताअघिसम्म टुंग्याउँछौँ ।
 विष्णु रिमाल, उपमहासचिव, एमाले

सत्तासाझेदार दलहरूबीच पनि चरणबद्ध छलफलबाटै मन्त्रिपरिषद् विस्तारसहित शक्ति बाँडफाँटको विषय टुंग्याउँदै जाने समझदारी रहेको उनको भनाइ छ । ‘हामी एकैपटक सबै निर्णय गर्दैनौँ, अघिल्लो हप्ता प्रदेशकेन्द्रित छलफल भए, मन्त्रिपरिषद्लाई यसै हप्ताभित्र टुंग्याउने गरी गृहकार्य चलिरहेको छ, त्यसलगत्तै सभामुखको उम्मेदवारी पनि टुंगिहाल्छ,’ उनले भने । 

मुख्यमन्त्रीका लागि प्रदेश सभामा उठ्न चाहेका उपमहासचिव गुरुङ अध्यक्ष ओलीकै प्रस्तावअनुसार लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनले माओवादीका महासचिव देव गुरुङलाई पराजित गरेका थिए । संयुक्त सरकारमा अन्य पार्टीबाट जुनियर व्यक्तिहरू उपप्रधानमन्त्री बनेकाले एमालेका कोही पनि पदाधिकारीले उनीहरूको मातहत रहने गरी मन्त्रीका लागि रुचि राखेका छैनन् । उपमहासचिव गुरुङ, सचिव रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले मन्त्रीमा रुचि राखेका छैनन् । 

गुरुङले पार्टीभित्र सभामुखबारे छलफल भइनसकेकाले आवश्यकता ठानेर अध्यक्षको प्रस्तावमा पार्टीले निर्णय गरेको अवस्थामा भने अगाडि बढ्ने संकेत गरे । ‘व्यक्तिको रुचि ठूलो कुरा होइन, पार्टीले निर्णय गर्ने कुरा हो, पार्टीले आवश्यकता ठान्दा व्यक्ति अघि बढ्न सक्छ,’ गुरुङले भने । 

उता, सचिव विश्वकर्माले पनि अध्यक्ष ओलीलाई भेटेर सभामुखका लागि रुचि प्रकट गरेका छन् । दलित पृष्ठभूमिका व्यक्तिलाई सभामुख बनाउँदा राम्रो सन्देश जाने एमालेभित्र एकाथरीको मत छ । उनलाई ओलीले छलफल गरेर पार्टीले उपयुक्त लिने बताएको स्रोतले जनाएको छ । 

त्यस्तै, स्थायी समिति सदस्य घिमिरेले अध्यक्ष ओली र महासचिव शंकर पोखरेल दुवैसँग सभामुखका लागि रुचि प्रकट गरेका छन् । गृहजिल्ला झापाकै सिनियर नेता देवराज घिमिरेलाई सभामुख नबनाउँदा मन्त्री बनाउनुपर्ने दबाबमा ओली छन् ।

सत्तासाझेदार दलहरूबीच राष्ट्रपति र सभामुख एमालेले र प्रधानमन्त्री माओवादीले लिने समझदारी भएको थियो । प्रधानमन्त्री र सभामुखमा भने आधा–आधा कार्यकाल गर्ने साझेदार दलहरूको प्रारम्भिक समझदारी छ । उता, उपसभामुख कुन पार्टीले पाउने अन्तिम टुंगो नलागिसके पनि राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आएको छ । प्रदेशमा आफ्नो सहभागिता नरहेकाले उपसभामुख पाउनुपर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको दाबीमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली दुवै सकारात्मक भएको लामिछानेले पार्टी संसदीय दलको पछिल्लो बैठकलाई ब्रिफिङ गरिसकेका छन् । 

एमालेबाट पुरुष सभामुख उम्मेदवार भएको अवस्थामा रास्वपाले महिला नेतृहरूलाई उपसभामुखको उम्मेदवार बनाउने गरी आन्तरिक गृहकार्य गरिरहेको एक पदाधिकारीले बताए । ती पदाधिकारीका अनुसार उपसभामुखमा रास्वपाबाट काठमाडौं २ बाट निर्वाचित सोविता गौतमसँगै समानुपातिक सांसदहरू डा. चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगरले रुचि राखेका छन् ।

See More On

सुझावित समाचार