बोटबाटै सुन्तला बिक्री भएपछि कृषक उत्साहित

मंगलबार, १२ पुष, २०७९
डिजिटल संस्करण

म्याग्दीमा बोटबाटै सुन्तला बिक्री हुन थालेपछि कृषक उत्साहित बनेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती विस्तार भएका क्षेत्रमा उत्पादित सुन्तलाको खरिदका लागि व्यवसायी बगैँचामै पुग्न थालेका छन् । सुन्तलाको बजारीकरणको चिन्ता नहुने र आम्दानी आकर्षक हुने भएपछि जिल्लामा सुन्तला खेतीतर्फको आकर्षण बढेको छ । 

बेनी नगरपालिका– ४ बास्कुनाका दीर्घबहादुर खत्रीले सुन्तलाको बजारीकरणमा समस्या नभएको र उत्पादन बढेको कारण सन्तोषजनक आम्दानी भएको बताए । ‘मैले धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो, यस वर्ष पनि सुन्तला बोटबाटै बिक्री भएको छ, बाहिरबाट आएका ठेकेदारले गाउँभरको सुन्तला खरिद गरेका छन्,’खत्रीले भने । 

बास्कुना र सुर्केमलामा गरी करिब सात सय सुन्तलाका बोट रोपेका खत्रीको बगैँचामा यतिवेला सुन्तला टिप्ने चटारो छ । गत वर्ष  सात लाख रुपैयाँको सुन्तला बिक्री गरेका खत्रीले यस वर्ष सुन्तलाबाट १२ लाखसम्म कमाइ हुने अनुमान गरेको बताए । खाद्यबाली लगाउँदा नियमित सिँचाइको अभावसँगै खेतीबाली लगाउने र गोडमेलमा लाग्ने कामदारको लगानीअनुसारको प्रतिफल नआउने भए पनि सुन्तला खेतीबाट सन्तुष्ट बनेको खत्रीले बताए । 

बास्कुनामा करिब २० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका देवी क्षेत्रीको परिवारले यस वर्ष सुन्तलाबाट करिब आठ लाख आम्दानी गर्ने भएका छन् । आठ सयवटा सुन्तलाका बोट रोपेका क्षेत्रीका परिवारले पनि उत्पादन भएको सुन्तलाको बजारीकरणमा समस्या झेल्नुपरेको छैन।

‘गत असोजमै नवलपरासीका व्यवसायीले घरमै आएर सुन्तलाको पेस्की रकम दिएर ठेक्का लिएका थिए, अहिले बोटबाटै सुन्तला बिक्री भइरहेको छ, अघिल्लो वर्षको तुलनामा उत्पादन पनि बढेको छ,’ क्षेत्रीले भनिन् । धान, कोदो, गहुँलगायतका खाद्य बाली लगाउँदा आम्दानी नहुने र काम गर्नसमेत झन्झट हुने भए पनि सुन्तला खेती सुरु गरेपछि भने आफूहरूलाई आम्दानी र कृषि खेती गर्नसमेत सहज भएको उनले बताइन् ।  

बास्कुनाका सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन् । सुन्तलाबाट आकर्षक आम्दानी हुने, बजार सजिलै पाइने भएपछि गाउँमा सुन्तला खेती गर्ने लहर नै चलेको स्थानीय सुन्तला खेती गर्ने कृषक तिलकुमारी गुरुङले जानकारी दिइन्। 
 

See More On

सुझावित समाचार