प्रेस काउन्सिल नेपालको आयोजना तथा युनेस्कोको सहयोगमा लैंगिक संवेदनशील मिडिया निर्माणमा संघसंस्थाहरूको भूमिका विषयक एकदिने कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ।
कार्यशालाको उद्घाटन सत्रमा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लैंगिक संवेदनशील मिडिया निर्माणका लागि काउन्सिल सदैव प्रयत्नशील रहेको बताए। उनले काउन्सिलले निर्देशिकाको निर्माण र कार्यान्वयन गरी मिडियालाई लैंगिकमैत्री बनाउने संवेदनशील बनाउने प्रयत्न गरेको बताए।काउन्सिलले जारी गरेको महिला सञ्चार निर्देशिकाको परिमार्जनका विज्ञहरूको सुझाव लिन युनेस्कोसँगको सहकार्यमा भएको बुधबारको कार्यशालाबाट प्राप्त सुझाव महत्वपूर्ण हुने उनको भनाइ थियो ।
कार्यशालामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले लैंगिक सवाल महिलाको मात्र नभई सबैको साझा मुद्दा हो भन्नेतर्फ सजग रहनुपर्ने बताए। उनले नागरिक समाज सचेतताको विषयमा मिडियाले मूल्यांकन गरी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने भएको प्रस्ट पारे। पोख्रेलले लैंगिक संवेदनशीलताका क्षेत्रमा पत्रकार महासंघबाट समेत महिला निर्देशिका पालना गर्न र महिलामैत्री वातावरण निर्माण गर्न पहलकदमी भइरहेको उल्लेख गरे ।
फरक–फरक समूह बनाई विषयगत छलफल भएको कार्यक्रममा लैंगिक तथा महिलाका क्षेत्रका क्रियाशील विभिन्न संघसंस्थाका ५७ जना सहभागी थिए।