जाडोयाममा गर्भवती तथा सुत्केरीले आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिन जरुरी हुन्छ । यस समयमा उनीहरूको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । रुखाखोकी लाग्न सक्छ ।
तर, चिकित्सकको सल्लाहविना कुनै पनि औषधि लिनुहुँदैन । बरु बाफ लिने गर्नुपर्छ । खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । घाम ताप्नुपर्छ । यस समय छाला फुस्रो हुने भएकाले तेलले मालिस गर्नुपर्छ । हप्तामा कम्तीमा तीन दिन तेल लगाउँदा राम्रो हुन्छ ।
रोगप्रतिरोधात्मक क्षमता बढाउनुस्
गर्भावस्थामा जाडोबाट बच्नका लागि स्वस्थ खानपान जरुरी छ । ताजा फलफूल, तरकारी, बदामलगायतले रोगप्रतिरोधी क्षमता बलियो बनाउँछन् । भिटामिन, क्याल्सियम, प्रोटिन र क्यालोरीयुक्त खानेकुरा भरपूर मात्रामा खानुपर्छ ।
विशेषगरी, भिटामिन डी प्रशस्तै पाइने खानेकुरा लिनुपर्छ । त्यस्तै, फोलिक एसिडले पनि बच्चाको विकासमा महत्वपूर्ण भूमिका निभाउँछ ।
समस्या
- रुघाखोकी लाग्ने ।
- सुत्केरी अवस्थामा आमालाई हाइपोथर्मिया अर्थात् तापक्रम कम भएर जाने । घाउ राम्रोसँग ठीक नहुने ।
- बच्चाको पनि शरीरको तापक्रम कम हुने ।
- दूध खाँदा बच्चालाई अप्ठ्यारो हुने ।
- धेरै नै चिसो भयो भने बच्चा नबढ्ने र बाहिर हुर्किसकेको बच्चा पनि राम्रोसँग नबढ्ने हुन्छ ।
- एकैठाउँमा बस्दा चिसोले नसामा रगत जम्ने समस्या हुन सक्छ ।
- चिसोले एलर्जी हुने ।
लक्षण
- शरीर चिसो हुने ।
- चिसोले हातखुट्टा निलो हुने ।
- बढी नै काम छुट्ने । शरीर कमाउने ।
- चिसोको एलर्जी लगातार हुँदा हाच्छ्युँ आइरहने ।
- ज्वरो आउने ।
- शरीर दुख्ने ।
जिउ तताउने, खानेकुरा प्रशस्त खाने
चिसोबाट बच्ने, न्यानो रहने, टोपी, मोजालगायत शरीर ढाक्ने न्यानो लुगा लगाउने गर्नुपर्छ । बिहानको घाममा नियमित बस्नुपर्छ । झोलिलो खानेकुरा प्रशस्त खाने गर्नुपर्छ । तातो र न्यानो सुप खानुपर्छ । सुत्केरीलाई ज्वानोको झोल खुवाउने गरिन्छ, किनकि यसले चिसोबाट बचाउँछ ।
प्रशस्त पानी पिउने, साधारण घरेलु उपायहरू अपनाउने गर्नुपर्छ । बाफ लिने गर्नुपर्छ । नुनपानीले कुल्ला गर्ने, पौष्टिक खानेकुरा, शरीरलाई तातो र इनर्जी दिने खानेकुरा खानुपर्छ । घ्यु, चाकु खानुपर्छ । आफूलाई सक्रिय राख्ने, एकैठाउँमा मात्र नबस्ने, रुघाखोकी नलागोस् भनेर इन्फ्लुएन्जाको भ्याक्सिन लगाउने गर्नुपर्छ । कुनै समस्या देखिएमा सामान्य चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
यी कुरामा ध्यान दिनुस्
गर्भावस्थामा महिलाको शरीरमा हर्मोन परिवर्तन भइरहन्छ । स्तन ठूलो हुने, वजन बढ्नेलगायत धेरै परिवर्तन देखिन्छन् । कतिपय महिलालाई अमिलो, पिरो खान मन लाग्ने हुन सक्छ । तर, आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै सन्तुलित आहार लिनुपर्छ । पोषणयुक्त खानेकुरा आमा र बच्चा दुवैका लागि आवश्यक छ । कतिपय महिलालाई भोक कम लाग्ने पनि हुन्छ । तर, गर्भावस्थामा व्रत बस्नु वा कम खानु आमा र बच्चा दुवैका लागि हानिकारक हुन्छ ।
पोषणयुक्त खानपानका कारण गर्भावस्थाका महिलाको वजन बढ्ने गर्छ । कतिपय महिला यसैलाई लिएर चिन्तित पनि हुन्छन्, तर तपाईंले धेरै चिन्ता लिनुहुँदैन । किनकि, अनावश्यक चिन्ता लिँदा बच्चाको स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्न सक्छ । यस समय दिमागलाई शान्त राख्नुपर्छ र सकारात्मक सोच्नुपर्छ । गर्भावस्थाका महिलाले सुर्तीजन्य पदार्थ, धूम्रपान र मदिरा सेवन गर्नुहुँदैन ।