सुनसरी क्षेत्र नम्बर १ मा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । प्रतिनिधि सभा सदस्यका लागि एकपछि अर्को उमेदवारले अग्रता लिइरहेका छन् । यतिबेला सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता सुरु गरेकी छन् ।
मतगणनाको सुरुवाती अग्रता राप्रपाका अशोक राईले लिएका थिए । त्यसपछि उनलाई पछि पार्दै सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले बुधबारसम्म अग्रता कायम गरेका थिए । बिहीबार बिहान निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ ले सार्वजनिक गरेको मतपरिणाम अनुसार रास्वपाकी तामाङले चार हजार ६ सय ५० मत प्राप्त गर्दै अग्रता सुरु गरेकी छन् ।
त्यस्तै जसपा–एमाले गठबन्धनका तर्फबाट जसपाका अशोककुमार राईले चार हजार दुई सय ३६ मत प्राप्त गरेका छन् । बुधबारसम्म सत्ता गठबन्धनका सुब्बालाई पछ्याइरहेका राई दोस्रो स्थानमा छन् । सत्ता गठबन्धनका सुब्बाले भने चार हजार एक सय ८३ मत प्राप्त गर्दै तेस्रो स्थानमा झरेका छन् । सुरुवाती अग्रता लिएको राप्रपाका राईले दुई हजार ६ सय १३ मत प्राप्त गरेका छन् । हालसम्म २४ हजार ५ सय १२ मतगणना भइसकेको छ ।