देउवा ०४८ यताका सातवटै निर्वाचनमा विजयी हुने अहिलेसम्मका एक मात्र नेता, प्रचण्ड लगातार चौथोपटक सांसद बन्ने बाटोमा
चुनावमा जित वा हार प्राकृतिक नियम हो । तर, नेपालको संसदीय निर्वाचनमा केही खेलाडीले अविराम जित निकाल्दै आएका छन् । कोही बहुदलपछि ०४८ यताका सातवटै संसदीय निर्वाचनमा ब्रेक नलागेका छन् भने कोही ०६४ यताका सबै निर्वाचन लगातार जितिरहेका छन् । यही भिडमा केही युवा नेता पनि छन्, जसले यसपालिको जितसँगै संसदीय लडाइँमा ‘ह्याट्रिक’ गरेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको जित पनि लगभग निश्चित देखिएको छ । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा रौतहट १ र काठमाडौं २ दुवै क्षेत्रबाट चुनाव जितेका नेपाल ०७२ को संविधानले एक क्षेत्रबाट मात्र उम्मेदवार बन्न पाउने व्यवस्था गरेपछि ०७४ मा काठमाडौं २ मा विजयी भएका थिए । त्यतिवेला कांग्रेसका दीपक कुइँकेललाई हराएका उनी अहिले रौतहट १ मा एमालेका उम्मेद्वार अजयकुमार गुप्तालाई पाँच हजार बढी मतान्तरले पछि पार्दै जितउन्मुख छन् । ०६४ को निर्वाचनमा भने उनी काठमाडौं र रौतहटबाट उम्मेदवारी दिए पनि दुवै क्षेत्रबाट पराजित भएका थिए ।
त्यस्तै, आफूलाई कांग्रेसबाट प्रधानमन्त्रीको दाबी गरिरहेका महामन्त्री गगन थापाले काठमाडौं ४ बाट ‘ह्याट्रिक’ गरेका छन् । थापाले पुरानै प्रतिस्पर्धी एमालेका राजन भट्टराईलाई सात हजार चार सय ४७ मतान्तरले पराजित गरेका हुन् । उनले २१ हजार ३०२ मत ल्याउँदा प्रतिद्वन्द्वी भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । प्रत्यक्षतर्फ गगनको यो तेस्रो जित भए पनि ०७४ मा पनि उनी समानुपातिक प्रतिनिधित्व गर्दै संसद्मा पुगेका थिए । ०४६ को जनआन्दोलनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनी ०५१ मा त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य हुँदै ०५९ मा नेविसंघको महामन्त्री बनेका थिए ।
एमालेका युवा नेता गोकर्ण विष्ट पनि लगातार तेस्रोपटक निर्वाचित भएका छन् । विष्टले यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी पूर्वसहकर्मी रामकुमारी झाक्रीलाई दुई हजार ३४ मतान्तरले हराएका हुन् । विष्टले २८ हजार ४७६ मत ल्याउँदा झाँक्रीलाई २६ हजार ४४२ मत प्राप्त भएको हो । हाल एमाले सचिव रहेका विष्टले ०५६ यता पाँचवटा निर्वाचन लडेका छन् । ०६४ मा पराजित उनी ०७० यता लगातार तीनपटक विजयी भएका हुन् ।
कांग्रेसभित्र प्रधानमन्त्रीको दाबी गरिरहेका अर्का नेता प्रकाशमान सिंहले पनि काठमाडौं १ बाट चौथोपटक जित हासिल गरेका छन् । ०६४ यताका सबै संसदीय निर्वाचन जितेका उनले यसपटक ०७४ कै प्रतिस्पर्धी रविन्द्र मिश्रलाई १३२ को झिनो मतान्तरले हराएका हुन् । सिंहले सात हजार १४३ मत ल्याउँदा राप्रपाका मिश्रले सात हजार ११ मत ल्याए । ०७४ मा विवेकशील साझाबाट उम्मेदवारी दिएका मिश्र सिंहसँग ८१९ मतको अन्तरले पराजित भएका थिए ।
त्यस्तै, काठमाडौं १० बाट कांग्रेस नेता राजेन्द्रकुमार केसीको पनि संसदीय यात्रामा ‘ह्याट्रिक’ भएको छ । केसीले १४ हजार ४५८ ल्याउँदै प्रतिद्वन्द्वी एमालेका हिमेस केसीलाई हराएका हुन् । उनले ०७० र ०७४ मा पनि यही क्षेत्रबाट चुनाव जितेका थिए ।
माओवादीभित्र प्रभावशाली नेताका रूपमा चिनिने जनार्दन शर्मा पनि कहिल्यै चुनाव नहार्ने खेलाडीका रूपमा चिनिन्छन् । रुकुम पश्चिमबाट ०६४, ०७० र ०७४ मा कांग्रेसलाई हराउँदै संसद्मा पुगेका उनी यसपटक कांग्रेसकै समर्थनमा उम्मेदवार छन् । उनको निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आउन बाँकी रहे पनि जित भने लगभग सुनिश्चित देखिन्छ । उनका प्रतिद्वन्द्वी एमालेका नन्दराम देवकोटा पाँच हजार मतले पछि छन् । ०७४ को चुनावमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका शर्माले १८ हजार ७४३ मतान्तरसहित कांग्रेसका गोपालजीजंग शाहलाई हराएका थिए ।
माओवादीकै अर्का नेता शक्ति बस्नेत पनि तेस्रोपटक संसद्मा जाने पक्का देखिन्छ । ०७० र ०७४ को चुनावमा जाजरकोटबाट निर्वाचित उनी यसपटक पनि त्यहीँबाट उम्मेदवार छन् । जारी मतगणनामा उनले एमालेका निरजप्रसाद आचार्यलाई करिब आठ हजार मतले पछि पारेका छन् ।
त्यस्तै, अर्घाखाँचीमा उम्मेदवारी दिएका एमाले नेता टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले ४२ हजार ६७२ मत प्राप्त गरेका छन् । उनको निकट प्रतिस्पर्धी कांग्रेसकी पुष्पा भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी छिन् । ०६४ र ०७० मा रायमाझी अर्घाखाँची १ बाट निर्वाचित भएका थिए । ०७४ मा पनि अर्घाखाँचीबाटै निर्वाचित हुँदा सिंगो जिल्ला एउटै निर्वाचन क्षेत्र बनेको थियो । विगतका तीनवटै निर्वाचन माओवादीबाट जितेका रायमाझी सर्वोच्चले नेकपालाई पूर्ववत् अवस्था (एमाले र माओवादी)मै रहने फैसला गरेपछि एमालेतिर लागेका थिए ।
रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह १३ हजार १४९ मतसहित जित सुनिश्चित गर्ने यात्रामा छन् । उनका प्रतिस्पर्धी अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशले १० हजार ८६४ मत पाएका छन् । ०६४, ०७० र ०७४ को निर्वाचनमा माओवादीबाट उम्मेदवारी दिएका साह रौतहट ३ बाटै विजयी भएका थिए । सर्वोच्चले नेकपालाई पूर्ववत् अवस्था (एमाले र माओवादी)मै रहने फैसला गरेपछि साह माओवादी छाडेर एमालेतिर लागेका थिए । तर, टिकट वितरणमा एमाले अध्यक्ष केपी ओलीसँग असन्तुष्टि जनाएका उनले पार्टीले दिएको टिकट खल्तीमा राखेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यादव, खतिवडा र झाँक्री पराजित
जसपाका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सप्तरी २ मा पराजित भएका छन् । उनी १८ हजार ६३ मतले पराजित भए । राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादवले १६ हजार ९७९ मत मात्र पाए । त्यस्तै, एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर २ र सचिव रामकुमारी झाँक्री गुल्मी २ बाट पराजित भएका छन् ।
देउवा ७ पटक र ओली ६ पटक सांसद, प्रचण्ड चौथोपटक सांसद बन्ने पक्का
संसदीय निर्वाचनमा निरन्तर जित निकाल्नेमा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम अग्रपंक्तिमा आउँछ । यसपालिसमेत उनी डडेल्धुराबाट सातौँपटक निर्वाचित भएका छन् । यसपालि उनले २५ हजार ५३४ मत ल्याएर जित निकालेका छन् । देउवाविरुद्ध युवा इन्जिनियर सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, १३ हजार ४२ मत मात्रै प्राप्त गरे । ०४८ मा पहिलोपटक गृहमन्त्री बनेका देउवा अहिलेसम्म पाँचाँैपटक प्रधानमन्त्री भइसकेका छन् । यो चुनावको परिणामपछि उनी छैटौँपटक प्रधानमन्त्री हुने दाउमा छन् ।
एमाले अध्यक्ष केपी ओली पनि ०४८ पछिका सबै संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् । तर, यसपालिसहित तीनपटक जित निकालेका छन् । ०६४ को निर्वाचनमा पराजित उनी ०७० मा झापा ७ र ०७४ मा झापा ५ बाट निर्वाचित भएका थिए । यसपालि पनि झापा ५ बाट उनले यसअघिकै प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीलाई २८ हजार मतान्तरले हराएका छन् । ओलीले ५२ हजार ३११ मत ल्याउँदा अधिकारीले २३ हजार ७४३ मत मात्रै ल्याए । झापा ५ सत्ता गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्न ओलीले राप्रपाको समर्थन लिएका थिए । बदलामा झापा ३ मा राजेन्द्र लिङ्देनलाई एमालेले सघाएको छ ।
०६४ यता लगातार सांसद बनेका अर्का खेलाडी हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । ०६४ मा रोल्पा र काठमाडौं १० बाट निर्वाचित उनी ०७० मा काठमाडौं १० बाट पराजित भए पनि सिरहा ५ बाट विजयी भएका थिए । त्यसपछि ०७४ मा चितवनबाट विजयी भएका उनी यसपटक गोरखा २ मा उम्मेदवार छन् । त्यहाँको अन्तिम मतपरिणाम आउन बाँकी रहे पनि प्रचण्डको जित भने सुनिश्चित भइसकेको छ । जारी मतगणनामा उनी १३ हजार बढी मतान्तरले अगाडि छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन् ।
खनाल, पोखरेल, गुरुङ, भुसाल र ठाकुर रेड जोनमा

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेल मतगणनामा लगातार पछि पर्दै रेड जोनमा देखिएका छन् । इलाम १ बाट उम्मेदवार रहेका खनालले ८ हजार ७८० मत ल्याउँदा एमालेका महेश बस्नेतलाई १० हजार २८७ मत प्राप्त भएको छ । बस्नेतभन्दा खनाल एक हजार ५०७मतले पछि छन् ।
चितवन १ बाट उम्मेदवार रहेका पाण्डे १५ हजार ७५५ मतसहित दोस्रो स्थानमा छन् । जबकि उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले २२ हजार ०६८ मत ल्याएर अन्तर बढाइरहेका छन् ।
दाङ २ बाट उम्मेदवार रहेका एमाले महासचिव पोखरेल पनि दोस्रो स्थानमा छन् । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले २० हजार ४१७ मत पाउँदा पोखरेलले १९ हजार ९१५ मत पाएका छन् । कडा प्रतिस्पर्धामा रहेका पोखरेल साढे पाँच सय मतले मात्र पछि रहेकाले ‘कमब्याक’ गर्नसक्ने सम्भावना पनि उत्तिकै छ ।
त्यस्तै, माओवादी महासचिव देव गुरुङ पनि रेड जोनमा देखिएका छन् । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले २९ हजार ८१८ मतसहित लगातार मतान्तर बढाउँदा उनले २७ हजार ७३९ मतले पछ्याइरहेका छन् । सुरुदेखि नै देव गुरुङ पछि छन् । माओवादीकै उपमहासचिव पम्फा भुसाल कमब्याक हुन नसक्ने गरी रेड जोनमा छिन् । ललितपुर ३ मा तेस्रो स्थानमा रहेकी भुसालले सात हजार ५५७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले २४ हजार ४६७ मतसहित जित निश्चित गरेकी छिन् ।
महोत्तरी ३ बाट उम्मेदवार रहेका लोसपाका अध्यक्ष महन्थ ठाकुर भने पाँच हजार १३५ मतसहित दोस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार रामआधार कापरले ६ हजार १४३ मत पाएका छन् ।
दलका नेता जो जितको आशामा छन्
एमाले उपाध्यक्ष सुवास नेम्बाङ र विष्णु पौडेलले अग्रतासहित सिट सुरक्षित गर्ने देखिएको छ । इलाम २ मा नेम्बाङ १० हजार ४४० मतसहित अग्रस्थानमा छन् । झिनो मतसहित अगाडि रहेका उनलाई कांग्रेसका डम्बरबहादुर खड्काले नौ हजार ५३२ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, रुपन्देही २ बाट पौडेल ११ हजार ४१० मतसहित अगाडि छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १० हजार ८०८ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, उपमहासचिव पृथ्बीसुब्बा गुरुङ लमजुङबाट सिट सुरक्षित गरिरहेका छन् । उनले माओवादी महासचिव देव गुरुङलाई निरन्तर पछाडि छाड्दै ३१ हजार ६५० मत पाएका छन् । माओवादी महासचिव देव गुरुङले उनलाई २८ हजार ८८० मतले पछ्याइरहेका छन् ।
त्यस्तै, एमाले सचिव छविलाल विश्वकर्मा रुपन्देही १ बाट सात हजार १८० मतसहित अगाडि छन् । उनलाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पाँच हजार ८१९ मतसहित पछ्याइरहेका छन् । रुपन्देही ३ बाट उम्मेदवार रहेका गृहमन्त्री तथा प्रभावशाली कांग्रेस नेता बालकृष्ण खाँडले १७ हजार ४६३ मत पाएका छन् । उनलाई राप्रपाका नेता दीपक बोहोराले १६ हजार ७९८ मतले पछ्याइरहेका छन् ।
जो प्रतिस्पर्धामा पछाडि छन्
कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी प्रतिस्पर्धामा पछाडि परेका छन् । बारा १ बाट उम्मेदवार रहेका उनले १८ हजार ४० मत ल्याउँदा प्रतिस्पर्धी एमालेका अच्युतप्रसाद मैनालीले २३ हजार १११ मत ल्याउँदै अन्तर बढाइरहेका छन् ।
माओवादी उपमहासचिव गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव पनि मतगणनामा पछि छन् । महोत्तरी १ मा उम्मेदवार रहेका पोखरेल ६ हजार ६८१ मतसहित दोस्रो स्थानमा छन् । एमालेका लक्ष्मी महतो कोइरीले सात हजार २४० मतसहित अग्रता हासिल गरिरहेका छन् । धनुषा १ बाट उम्मेदवार रहेका यादवलाई भने प्रतिस्पर्धी जसपाका दीपक कार्कीले दोब्बरले लिड गरेका छन् । कार्कीले ६ हजार ४६९ मत पाउँदा यादवको ३ हजार ९३८ मत मात्रै छ ।