बागलुङका चारवटै प्रदेश सभामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अघिल्लो पटक बागलुङका सबै क्षेत्रमा हार ब्यहोरेको कांग्रेसले यसपटक एमालेसँग बदला लिएको छ।
बागलुङ क्षेत्र नं १ (क)मा कांग्रेसका दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई १४७९ मतान्तरले पराजित गरेका छन्। थापाले १३ हजार ८८४ मत ल्याउँदा केसीले १२ हजार ४०५ मत ल्याएका छन्। थापा कांग्रेस बागलुङका पूर्व पार्टी सभापति हुन् भने २०७४ को प्रदेश सभा निर्वाचनमा एमालेका इन्द्रलाल सापकोटासँग पराजय भोगेका थिए।
थापासँगै प्रतिस्पर्धामा रहेका राप्रपा नेपालका डिल्लीप्रसाद आचार्यले १ हजार ४५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विकले ३०७ र स्वतन्त्र उम्मेदवार दिपेन्द्र हमालले १४७ मत प्राप्त गरेको छन्।
बागलुङ १ (ख)मा कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी विजयी भएका छन्। सुवेदीले एमालेका नवराज पौडेललाई ६ हजार ७५ मतान्तरले पराजित गरेका हुन्। सुवेदीले १३ हजार ३२७ मत ल्याउँदा पौडेलले सात हजार २५२ मत ल्याएका छन्। सुवेदी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्। पौडेल स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए। उनी कांग्रेस बागलुङको निवर्तमान सचिवसमेत रहेका थिए। यस क्षेत्रमा प्रतिस्पर्धी रहेका राप्रपा नेपालका गोविन्द सापकोटाले ६३० र नेशनल अर्गनाईजेशनका सहवीर थापाले २५५ मत प्राप्त गरेका छन्।
यता, बागलुङ क्षेत्र नं २ (क)मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी भएका छन्। शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई तीन हजार १०० मतान्तरले पराजित गरेका हुन्। शेरचनले १५ हजार १०८ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरेका छन्। घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए।
शेरचन कांग्रेस बागलुङका सभापति हुन्। उनी यसअघिको प्रदेश सभा निर्वाचन र उपनिर्वाचनमा बागलुङ क्षेत्र नं २(ख)बाट उम्मेदवार भएका थिए। दुवै निर्वाचनमा उनी राष्ट्रिय जनमोर्चाका उम्मेदवारसँग पराजित भएका थिए। यसपटक भने शेरचन आफ्नो क्षेत्र छाडेर क्षेत्र नं. १ (क)मा उम्मेदवार भएका थिए।
यसैगरी, बागलुङ २ (ख)मा कांग्रेसकै दोर्ण कुमार कुँवर विजयी भएका छन्। कुँवरले एमालेका लक्ष्मण पुनलाई ३७३७ मतान्तरले पराजित गरेका हुन्। कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले आठ हजार ६७१ मत ल्याएका छन्।
जिल्लाको चारै वटा प्रदेश सभा क्षेत्र कांग्रेसको भागमा परेको थियो। दुई वटा प्रतिनिधिसभामा भने राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेकपा माओवादीका देवेन्द्र पौडेल रहेका छन्। केसी र पौडेलको पनि जित सुनिश्चित रहेको छ।