विदेशी नागरिकता त्यागेका रवि लामिछानेले पुनः नेपाली नागरिकता नलिएको आरोपमा उजुरी

बुधबार, ३० कार्तिक, २०७९
डिजिटल संस्करण

रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक एवं चितवन २ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । विदेशी नागरिकता त्यागेका लामिछानेले पुनः नेपाली नागरिकता नलिएको र यसैकारण उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गर्दै राजकुमार पाण्डेले मंगलबार निर्वाचन आयोगमा उजुरी दिएका हुन् । 

आयोगको क्षेत्राधिकार आकर्षित नहुने भएकाले उजुरीमाथि आवश्यक कारबाहीका लागि मंगलबारै चितवन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले जानकारी दिए । ‘उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट स्पष्टीकरण माग हुन्छ । स्पष्टीकरण र आवश्यक प्रमाणहरू जुटाएर आयोगमा पठाउँछ । आयोगले निर्णय गर्छ,’ उनले भने । 

लामिछानेविरुद्ध नागरिकतासम्बन्धी विवादमा उजुरी आएको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले बताए । ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः बदर हुन्छ र विदेशी मुलुकको नागरिकता त्यागेपछि पहिलेको नागरिकता स्वतः कार्यान्वयन हुँदैन । अर्काे नागरिकता प्राप्त गर्नुपर्छ । अहिलेको नागरिकता बदर भइसकेकाले उनी नेपाली नागरिक नभएकाले उम्मेदवार बन्न अयोग्य भएको प्रकृतिको उजुरी आएको छ,’ वाग्लेले भने । 

६ जनालाई स्पष्टीकरण 
निर्वाचन आयोगले बुधबार आचारसंहिता उल्लंघनमा ६ जनालाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्रको प्रचारप्रसारमा संलग्न भएको विषयमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई, दलीय आबद्धता स्पष्ट नगरी प्रचारप्रसार गरेको विषयमा काठमाडौं १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार डम्बर साहुलाई, कांग्रेस तथा माओवादी उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको विषयमा मनोहराका मेयर उपेन्द्र कार्कीलाई २४ घन्टे स्पष्टीकरण सोधिएको छ ।

त्यस्तै, आफूनिकट दल र उम्मेदवारलाई मत मागेको विषयमा डडेल्धुराको पर्शुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशी र उपप्रमुख विमल थापालाई स्पष्टीकरण सोधिएको छ । मकवानपुर १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार दीपेन्द्रचन्द ठकुरीलाई दलीय आबद्धता स्पष्ट नगरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधिएको छ । आयोगले निर्वाचन आयोग ऐनअनुसार जरिवाना र उम्मेदवारी खारेजी गर्ने चेतावनीसमेत दिएको छ । 

एनसिसी बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन
आयोगले नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । आयोगले सिन्धुपाल्चोक २ का उम्मेदवार रहेका व्यक्तिसमेत सञ्चालक रहेको बैंकको साधारणसभा २ मंसिरमा आयोजना गरिएको र मौन अवधि सुरु भइसकेपछि ठूलो संख्यामा मानिस भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेरसमेतको व्यवस्था गरी साधारणसभा गर्दा आचारसंहिता उल्लंघन हुनुको साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पर्न सक्ने भएकाले सभा रोक्न निर्देशन दिएको हो । 

सुझावित समाचार