प्रतिनिधिसभाका तीनै क्षेत्रमा गैरराजनीतिक पृष्ठभूमिका प्रभावशाली उम्मेदवार र कांग्रेसका बागीलाई एमालेको समर्थनले चितवनको निर्वाचन यसपटक रोचक बनेको छ । शीर्ष नेताको उम्मेदवारीका कारण चर्चामा रहने चितवनको चुनाव यसपटक नयाँ उम्मेदवारका कारण चर्चामा छ ।
क्षेत्र नम्बर १ मा कांग्रेसबाट उम्मेदवार बनेका डा. विश्व पौडेल, क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र क्षेत्र नम्बर ३ मा गठबन्धनका तर्फबाट माओवादीले उठाएका डा. भोजराज अधिकारी चुनावी मैदानमा नयाँ उम्मेदवार हुन् । गैरराजनीतिक पृष्ठभूमिबाट आएका उनीहरूले यहाँ पुराना उम्मेदवारलाई चुनौती दिँदै छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन निर्वाचन क्षेत्रमा ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पञ्चायती शासनकालदेखि नै वामपन्थी नेता जागृतपसाद भेटवाल र भीमबहादुर श्रेष्ठ विजय गराउँदै आएको चितवनमा यसपटक कांग्रेस र माओवादी तालमेल छ । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आमजनताको आकर्षण र क्षेत्र नम्बर ३ मा कांग्रेसका बागी उम्मेदवारलाई एमालेको समर्थनले पनि प्रतिस्पर्धा रोचक बनेको हो ।
चितवन १ पूर्वअर्थमन्त्री र पूर्वउपाध्यक्षबीचको प्रतिस्पर्धा
चितवन १ मा अर्थशास्त्रका दुई ज्ञाता सुरेन्द्र पाण्डे र डा. विश्व पौडेल चुनावी मैदानमा छन् । सत्तारूढ पाँचदलीय गठबन्धनका तर्फबाट कांग्रेसका डा. पौडेल दुईपटकसम्म चुनावमा विजयी भएका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेसँग चुनाव लड्न योजना आयोगको उपाध्यक्षबाट राजीनामा गरेर आएका हुन् । पहिलो संविधानसभामा समानुपातिक सूचीबाट सभासद् बनेका पाण्डे ०७२–७३ मा करिब २० महिना अर्थमन्त्री भएका थिए । त्यसअघि उनी दुई कार्यकाल राष्ट्रिय सभा सदस्य थिए । ०७० मा भएको दोस्रो संविधानसभामा पहिलोपटक निर्वाचन लडेका उनी त्यससँगै ०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि विजयी भए ।
विगतमा एमाले यो क्षेत्रमा बलियो भए पनि पार्टीको फुट तथा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभावले उनलाई यसपटक सहज छैन । यस क्षेत्रमा पाँच वर्षअघि भएको संसदीय निर्वाचनमा समानुपातिक निर्वाचन प्राणालीतर्फ एमालेले सर्वाधिक ३९ हजार नौ सय तीन मत ल्याएको थियो । कांग्रेसले ३० हजार सात सय ५० र माओवादीले आठ हजार ७८ मत ल्याएका थिए । ०७४ को प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ कांग्रेस र माओवादीले पाएभन्दा एमालेले एक हजार बढी मत पाए पनि यसपटकको स्थानीय तह निर्वाचनको परिणाम फरक आयो ।
चितवन १ को स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनका वडाध्यक्ष उम्मेदवारले ४६ हजार पाँच सय ७७ मत ल्याउँदा एमालेका उम्मेदवारले ३९ हजार ६ सय ६ मत मात्र ल्याए । राप्रपाका वडाध्यक्ष उम्मेदवारले तीन हजार नौ सय १८ मत ल्याएका थिए । उक्त निर्वाचनमा वडाध्यक्ष पदका उम्मेदवारले पाएको मतलाई हेर्दा चितवन १ मा एमालेभन्दा सत्तागठबन्धन करिब सात हजार मतले अघि देखिन्छ । ०७४ मा भएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रका तीनवटै स्थानीय तहमा एमाले विजयी भएकोमा यसपटक पालिका प्रमुखमा एमालेका तीनै उम्मेदवार पराजित भएकाले पनि पाण्डेलाई गाह्रो हुने देखिन्छ ।
एमालेको फुटले पनि यहाँको राजनीतिक अंकगणित फेरिएको प्रस्ट देखिन्छ । यो क्षेत्रमा मतदाता संख्या अहिले एक लाख ३९ हजार आठ सय ४५ छ । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल छ जुन एमाले उम्मेदवार पाण्डेको चुनौती र कांग्रेसका उम्मेदवार पौडेलको अनुकूलता हो ।
तत्कालीन नेकपाका चितवन जिल्ला इन्चार्ज कृष्ण खनाल यसपटक क्षेत्र नम्बर १ (ख) मा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार छन् । उनी बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत बनेका छन् । ०७० र ०७४ का निर्वाचनमा पाण्डेलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका खनाल यसपालि विपक्षी गठबन्धनको उम्मेदवार बनेकाले पाण्डेलाई मत तान्न त्यति सहज छैन ।
पहिलोपटक चुनाव लड्न लागेका विश्व पौडेलसामु पनि गठबन्धनका सबै पार्टीको मत जोगाउनुपर्ने चुनौती छ । केही समयअघिसम्म बागी उम्मेदवारी दिएका कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले पौडेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । उनी ०७० र ७४ को निर्वाचनमा कांग्रेसबाट उठेर पाण्डेसँग पराजित भएका थिए । एकीकृत समाजवादीको मत यहाँ दुवै उम्मेदवारका लागि निकै महत्वपूर्ण हुने देखिन्छ ।
यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले हरि ढकाललाई उम्मेदवार बनाएको छ । उनी पहिले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा थिए । उनको उम्मेदवारीले पनि एमालेलाई धक्का लाग्ने निश्चित छ । पुराना दलबाट आजित भएका जनताको आकर्षण राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ भएकाले विगतको निर्वाचनका आधारमा यहाँको निर्वाचन परिणाम अनुमान गर्न कठिन छ ।
चितवन १ अन्तर्गत प्रदेश सभा (क)मा गठबन्धनबाट कांग्रेसका किरणभूषण ओली, एमालेबाट जेएन थपलिया, (ख)मा गठबन्धनबाट एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल, एमालेबाट प्रकाश खनाल उम्मेदवार छन् । माओवादीका खनाल नेकपा विभाजनपछि एमालेमा नै सक्रिय छन् ।
चितवन २ : रविको परीक्षा, त्रिपक्षीय प्रतिस्पर्धा
यो निर्वाचनमा एकजना पूर्वप्रधानमन्त्रीलाई हराउने घोषणा गरेर राजनीतिमा होमिएका पूर्वटेलिभिजन प्रस्तोता रवि लामिछानेले अन्तिम समयमा चितवन २ रोजे । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले यसअघि प्रचण्डले जितेको चितवन ३ मा उम्मेदवारी दिने तयारी थियो । प्रचण्डले गोरखाबाट चुनाव लडेपछि उनले अन्तिम समयमा क्षेत्र नम्बर २ रोजे । पार्टीकै अध्यक्षको निर्वाचन क्षेत्र भएकाले स्वतन्त्र पार्टीले यहाँ बढी नै मिहिनेत गरेको छ । राष्ट्रिय पार्टी बन्ने योजनाअन्तर्गत पनि यो क्षेत्रबाट जसरी पनि जित निकाल्ने योजना साथ लामिछाने चुनावी प्रचारमा व्यस्त छन् ।
चितवन २ बाट प्रतिनिधिसभामा कांग्रेसबाट राज्यमन्त्रीसमेत रहेका उमेश श्रेष्ठ गठबन्धनका साझा उम्मेदवार छन् । उता एमालेका कृष्णभक्त पोखरेल लगातार तेस्रोपटक जित हात पार्ने दाउमा छन् ।
स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र सापकोटा रविमाथि जनताको विश्वास र भरोसा नै उनको चुनाव जित्ने आधार भएको बताउँछन् । रविले तथ्य–तथ्यांक विश्लेषण गरेर यो क्षेत्रमा चुनावी अभियान अघि बढाएका छन् । कांग्रेस उम्मेदवार श्रेष्ठ नयाँ तथा एमालेका उम्मेदवार पोखरेलले दुईपटक निर्वाचित हुँदा पनि धेरै काम गर्न नसकेकाले जनताको भोट आफूलाई आउने स्वतन्त्र पार्टीको विश्लेषण छ ।
तर, कांग्रेस र एमालेका उम्मेदवार भने रविलाई आफ्नो प्रतिस्पर्धी नै मान्दैनन् । दुवै पार्टीका नेता यसअघिका निर्वाचनमा आफ्नो पार्टीले पाएको मतलाई आधार मानेर विजयी हुने दाबी गर्छन् । एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल आफू जनता, आवश्यकता र भूगोल बुझेको नेता भएकाले दुई कार्यकालमा नसकिएका काम सक्न आफू पुनः उम्मेदवार बनेको दाबी गर्छन् ।
पोखरेल ०७४ को निर्वाचनमा ४४ हजार ६ सय ७० भोट ल्याएर विजयी भएका थिए । उक्त निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धन बनेको थियो । पोखरेलका निकटम प्रतिद्वन्द्वी कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार तीन सय १४ भोट ल्याएका थिए ।
पछिल्लो स्थानीय तह निर्वाचनमा वडाध्यक्षको मत हेर्दा यहाँ एमाले र गठबन्धनको बराबरीजस्तै छ । एमालेका वडाध्यक्ष उम्मेदवारले ३५ हजार पाँच सय ४३ तथा गठबन्धनका वडाध्यक्ष उम्मेदवारले ३५ हजार तीन सय ९४ भोट पाएका थिए ।
भोजपुरमा जन्मिएर काठमाडौंमा बसोवास गर्दै आएका उमेश श्रेष्ठ चितवनमा सक्रिय छन् । ०५६ मा उनले उहाँ स्मल हेभन स्कुल सञ्चालन गरेदेखि चितवनसँग उनको साइनो गाँसिएको हो । ०७० मा संविधानसभा सदस्य भएर मूलधारको राजनीतिमा जोडिएका श्रेष्ठ ०७४ को निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका थिए ।
कांग्रेस र एमालेले रवि लामिछानेलाई आफ्नो गम्भीर प्रतिस्पर्धी नठाने पनि आममतदाताको रविप्रति आकर्षण देखिन्छ । लामिछाने पुगेको ठाउँमा सर्वसाधारणको भिड लाग्ने गरेको छ ।
आत्महत्या दुरुत्साहन मुद्दामा तीन वर्षअघि प्रहरी हिरासतबाट मुक्त हुँदा स्वागत गर्न उर्लिएको सर्वसाधारणको भिडको भरोसाले निर्वाचनका लागि रविले चितवन रोजेको उनका सहयोगी बताउँछन् । रिहा भएपछि उनको समर्थनमा नारायणी किनारमा समर्थकको ठूलो भिड जम्मा भएको थियो । जसलाई रविले सम्बोधन गरेर राजनीतिमा आउने संकेत दिएका थिए । आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले लामिछानेलाई ०७६ माघ ५ मा सफाइ दिएको थियो । टेलिभिजन कर्मलाई विराम लगाउँदै लामिछानेले गत असारमा आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र दल निर्माण गरेका थिए ।
गठबन्धनले यहाँबाट प्रदेश सभामा २ (क)मा माओवादीका घनश्याम दाहाल र २ (ख)मा कांग्रेसका उत्तम जोशीलाई उम्मेदवार बनाएको छ । एमालेले २ (क)मा कृष्णप्रसाद सिलवाल र २ (ख)मा देवीप्रसाद ज्ञवाली उम्मेदवार बनाएको छ । एक लाख २४ हजार दुई सय १४ मतदाता रहेको क्षेत्र २ मा विकट पहाडी इलाकादेखि सदरमुकामको सहरी क्षेत्रसमेत छ।
चितवन ३ : त्रिपक्षीय भिडन्त
तीनवटा निर्वाचन क्षेत्रमध्ये चितवन ३ सबैभन्दा धेरै मतदाता भएको क्षेत्र हो । यहाँ मतदाताको संख्या एक लाख ४४ हजार दुई सय ८३ छ । भरतपुर महानगरपालिकाका २९ मध्ये पश्चिम क्षेत्रका १९ वटा र माडी नगरपालिका यो क्षेत्रमा पर्छ । यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि २० जना चुनावी प्रतिस्पर्धामा छन् जसमध्ये तीनजनाबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।
विगतमा प्रचण्डले जितेको यो क्षेत्रमा गठबन्धनबाट माओवादीका डा. भोजराज अधिकारी उम्मेदवार छन् । माओवादीलाई टिकट दिइएकोमा असन्तुष्टि जनाउँदै कांग्रेस केन्दीय सदस्य दिनेश कोइराला माछा चुनाव चिह्न र कांग्रेसका पुराना नेता जगन्नाथ पौडेल सूर्यमुखी फूल चुनाव चिह्नमा स्वतन्त्र हैसियतमा उम्मेदवार बनेका छन् । पौडेल यसअघि पनि स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखको बागी उम्मेदवार थिए । तत्कालीन भरतपुर नगरपालिकाको उपमेयर र एकपटक राष्ट्रिय सभा सदस्य भएका पौडेलले पार्टी निर्णयको विरोधमा विद्रोह गरेर चर्चामा छन् । उनले महानगरको मेयरको चुनावमा तेस्रो हुँदै १४ हजार सात सय २८ मत ल्याएका थिए । कांग्रेसका केन्द्रीय सदस्य कोइरालाले ०७४ को स्थानीय निर्वाचनमा मेयरको टिकट पाएका थिए । पछि माओवादी–कांग्रेसको चुनावी तालमेलपछि रेनु दाहाललाई समर्थन गर्दै टिकट खोसियो । सोही वर्ष राप्रापासँगको तालमेलमा भएको प्रदेश सभा निर्वाचनमा कोइराला चितवन ३ अन्तर्गतको बागमती प्रदेश सभा (क)बाट उम्मेदवार बनेर पराजित भएका थिए ।
अहिले एमालेले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता गरेर कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गरेको छ । केन्द्रीय सदस्य पद माया मारेर उम्मेदवार बनेका कोइराला कांग्रेसलाई माया गर्ने कार्यकर्ताले आफूलाई भोट दिने विश्वासमा छन् । पौडेलले पनि अन्तिम समयसम्म आफूलाई सहयोग गर्ने उनको आशा छ । तर, पौडेल भने चितवनको विद्रोही कांग्रेसको ठूलो समूह आफूसँग भएको बताउँछन् । पौडेल भन्छन्, ‘दिनेश कोइराला एमालेका उम्मेदवार हुन् । उनीसँग कांग्रेसको टिम छैन ।’
बागी उम्मेदवार आन्तरिक छलफलमा व्यस्त रहदा पाँचदलीय गठबन्धनबाट नयाँ अनुहारका रूपमा माओवादीले अघि सारेको भरतपुर अस्पतालका अध्यक्षसमेत रहेका फिजिसियन डाक्टर भोजराज अधिकारी भने भोट माग्न व्यस्त छन् । आफू पार्टीको मात्र नभई सबैको प्रतिनिधित्व हुने उम्मेदवार भएको दाबी गर्ने अधिकारी जनतासँग पुग्दा चुनाव जितेजस्तो अनुभूति भएको बताउँछन् । अधिकारी भन्छन्, ‘जनताबीचमा गएर मत माग्दा जितेजस्तो अनुभूति भएको छ । मतदातामा उत्साह देखेको छु । सुरुका दिनमा राम्रो चिकित्सक चुनावमा उठ्दा हामीलाई कसले उपचार गर्छ भन्ने जनतामा प्रश्न थियो, तर मैले आफ्नो प्राथमिकता ६ वटा ‘स’ राखेको छु । त्यसको पहिलो प्राथमिकता स्वास्थ्य नै छ ।’ आफूले सेवा गरेका बिरामीकै मायाले पनि चुनाव जित्ने उनको विश्वास छ । प्रचण्डको उत्तराधिकारी बनेर बाँकी रहेका काम सम्पन्न गर्नु आफ्नो दायित्व भएको उनी बताउँछन् ।
राप्रपा उपाध्यक्ष विक्रम पाण्डे यही क्षेत्रबाट पाँचौँपटक संसदीय निर्वाचन लड्दै छन् । उनीबाहेकका यहाँ सबै उम्मेदवार पहिलोपटक प्रतिनिधिसभामा लड्दै छन् । जितभन्दा धेरै हारको पृष्ठभूमि भएका पाण्डेले हरेक निर्वाचनमा पार्टीगतभन्दा पनि व्यक्तिगत लोकप्रियताको मत पाउने गरेका छन् । ०५६ को संसदीय निर्वाचनमा पाण्डे चुनाव चिह्न हलो लिएर यही क्षेत्रबाट पहिलोपटक उम्मेदवार बनेका थिए ।
पाण्डे ०७० को संविधानसभा सदस्य निर्वाचनमा एमाले, कांग्रेस र माओवादीका उम्मेदवारलाई हराउँदै एकपटक मात्र विजयी भएका उनी मन्त्रीसमेत बनेका थिए । ०७४ मा उनी माओवादी अध्यक्ष प्रचण्डसँग नौ हजार तीन सय ४१ मतान्तरले पराजित भएका थिए ।
०७४ को प्रतिनिधिसभा र गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा चितवन ३ मा प्रमुख चार दल कुनैले पनि एक्लै प्रतिस्पर्धा गरेनन् । प्रतिनिधिसभामा एमालेसँग मिलेको माओवादी पाँच वर्षपछि भएको स्थानीय तह निर्वाचनमा कांग्रेससँग मिल्न पुग्यो । पाँच वर्षअघि प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससँग सम्झौता गरेको राप्रपाले गत स्थानीय निर्वाचनमा एमालेलाई साथ दियो । ०७४ मै भएको स्थानीय तह निर्वाचनमा पनि भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीले तालमेल गरेका थिए ।
०७४ को प्रतिनिधिसभाको निर्वाचनमा पाण्डेलाई सघाएको कांग्रेसले यो क्षेत्रबाट समानुपातिकमा २६ हजार एक सय ३७ मत ल्याएको थियो । उनको दल राप्रपाले भने समानुपातिकमा पाँच हजार ६ सय ३३ मात्रै मत पाएको थियो । तर, पाण्डे स्वयंले भने ३८ हजार नाै सय ३५ मत ल्याएका थिए । ०७४ को प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतपरिणामलाई आधार मान्दा चितवन ३ को प्रमुख शक्ति कांग्रेस हो । समानुपातिक मतपरिणामअनुसार दोस्रो एमाले, तेस्रो माओवादी र चौथो शक्ति राप्रपा हुन् । तर, गत स्थानीय तह निर्वाचनमा यस निर्वाचन क्षेत्रमा गठबन्धनमा रहेका दलका वडाध्यक्षका उम्मेदवारले ४५ हजार एक सय ७२, एमालेका उम्मेदवारले ३० हजार ६ सय नौ र राप्रपाका उम्मेदवारले सात हजार चार सय ५४ मत पाएका थिए ।
पाँचदलीय गठबन्धनबाट प्रदेशतर्फ ३ (क) मा कांग्रेसका डा. सूर्यकान्त घिमिरे, (ख)मा माओवादीका ठाकुरप्रसाद ढकालको उम्मेदवारी छ । एमालेले (क) मा कृष्णप्रसाद भुर्तेल र (ख)मा सरस्वती विष्टलाई उम्मेदवार बनाएको छ ।