१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २६ शनिबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २६ शनिबार १६:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आचारसंहिता उल्लंघनमा बाराका मेयरलाई २५ र पुकार बमलाई पाँच हजार जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २६ शनिबार १६:५७:oo

निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा थप दुईजनालाई जरिवाना गरेको छ। आयोगले बाराको पचरौता नगरपालिकाका मेयर जलन्धरसिंह जैसवारलाई सबैभन्दा धेरै २५ हजार रुपैयाँ जरिवाना गरेको छ। 

साथै, आयोगले उक्त नगरपालिकाको तलबभत्ता तथा प्रशासनिक खर्चबाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई सिफारिससमेत गरेको छ। 

आचारसंहिता उल्लंघनमा आयोगले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल वस्तीलाई पनि पाँच हजार जरिवाना गरेको छ। वस्तीमाथि विभागीय कारबाही गर्न निकासी केन्द्रलाई सिफारिस गरेको छ। 

आयोगले स्वास्थ्य सेवा विभाग टेकुका कर्मचारी एवं भरतपुर अस्पतालका प्रमुख यमनाथ मैनालीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। 

वार्षिक बजेट तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्थालाई पूर्ण रूपमा पालना गर्न गराउन स्वास्थ्य सेवा विभागलाई सचेत गराउने निर्णय पनि भएको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

आयोगले जनता आधारभूत विद्यालयका शिक्षक जिवछ यादवलाई पाँच हजार जरिवाना गरेको छ। साथै उनीमाथि सेवासर्तसम्बन्धी प्रचलित कानुनअनुसार विभागीय कारबाही गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ। 

आयोगले काठमाडौं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमलाई आचारसंहिता उल्लंघनमै पाँच हजार जरिवाना गरेको छ। आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको र फिल्डबाट आएको प्रमाणका आधारमा आचारसंहिता उल्लंघनमा कारबाही अगाडि बढाइएको बताए।

उल्लंघन थप व्यक्ति तथा संस्थामाथि छानबिन भइरहेको र छिट्टै कारबाहीको निर्णय हुने उनले बताए। आचारसंहिता उल्लंघनमा हालसम्म १०८ वटा स्पष्टीकरण सोधिएको छ।