बारामा तीन सवारीसाधन ठोक्किँदा १० जना घाइते

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका– २१ मा डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एक–आपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार मध्याह्न करिब १२ बजे हेटौँडा–पथलैया सडकखण्डस्थित नेपाल आयल निगमको डिपनजिक उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। 

अमलेखगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ख २३४९ नम्बरको ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ख १९९३ नम्बरको हाइस र हाइसको पछाडि धरानबाट हेटौँडातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किएका हुन्।

दुर्घटनामा ट्यांकरचालक जितपुर सिमरा– १६, पिलुवाका ५० वर्षीय चेतनाथ खरेल, जितपुर सिमराकी २२ वर्षीया आशिका श्रेष्ठ, प्रसौनी गाउँपालिका– २ का २४ वर्षीय कुनिल पण्डित कुम्हार, मोटरसाइकलचालक सुनसरीको धरान उपमहानगरपालिका– १६ का २४ वर्षीय सरोज गुभाजू र हाइसचालक कास्कीको पोखरा महानगरपालिका– ५ का ३८ वर्षीय आशिष मल्ल घाइते भएका छन्।

यसैगरी हाइसमा सवार पर्साको वीरगन्ज महानगरपालिका– २ की ४५ वर्षीया समिना खातुन, उनकी छोरी २५ वर्षीया सखिना खातुन, पोखरा– १८ साराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री तथा भारतको बिहार राज्य, पूर्वी चम्पारणका ७० वर्षीय नवलकिशोर साह र पश्चिम बंगाल, हुग्लीकी २६ वर्षीया साबनी दास पनि घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते सबैको अमलेखगन्जस्थित स्थानीय अक्कलबहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ।

सुझावित समाचार