काठमाडौं । नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)को आयोजनामा काठमाडौंको मेरियट होटेलमा सम्पन्न सम्मेलनमा सरकारी अधिकारी, उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि, उद्यमी तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता थियो।
सम्मेलनमा नेपालको डिजिटल अर्थतन्त्र, विश्व बजारमा नेपाली व्यवसायको सम्भावना, वैदेशिक लगानी, उद्यमशीलता र अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तारलगायतका विषयमा छलफल गरिएको थियो। नेपाली उद्यमी तथा व्यवसायीलाई देशको सीमाभन्दा बाहिर पुगेर आफ्नो व्यवसाय विस्तार गर्न प्रोत्साहित गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको फिनेका आइइसी अध्यक्ष गोकर्ण ढकालले बताए।
कार्यक्रमको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले गरेका थिए। मन्त्री शाहले देशको आर्थिक विकास र समृद्धिका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताए। उनले नेपालमा आयात भइरहेका वस्तुहरूको पहिचान गरी ती वस्तु स्वदेशमै उत्पादन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। स्वदेशी उत्पादन वृद्धि र आयात प्रतिस्थापनले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले युवा उद्यमी तथा व्यवसायीको लगानीको दायरा विस्तार गर्नुपर्ने बताए। उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन आवश्यक पहल गर्नुपर्ने उल्लेख गर्दै लगानीका अवसर र प्रतिफलबारे अन्तर्राष्ट्रिय लगानीकर्तालाई जानकारी गराउनुपर्नेमा जोड दिए।
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले कार्यक्रममा आफ्नो धारणा राखे। सार्क उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डीराज ढकालले कार्यक्रमलाई सान्दर्भिक बताउँदै सीमापार व्यावसायिक सम्बन्ध र लगानी सहकार्य विस्तारका लागि यस्ता पहल महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे।
सम्मेलनको मुख्य सम्बोधन अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपालका आवासीय प्रतिनिधि प्रणव गुप्ताले गरेका थिए। उनले नेपालको आर्थिक अवस्था, आर्थिक सुधार तथा सम्भावित अवसरका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रमको पहिलो प्यानल छलफल ‘नेपालको डिजिटल अर्थतन्त्र : फड्को, रूपान्तरण वा पछि पर्ने जोखिम ?’ शीर्षकमा भएको थियो। दोस्रो प्यानल छलफल ‘विश्व बजारदेखि आफ्नै भूमिसम्म : नेपालको आगामी व्यावसायिक अवसरको खोजी’ विषयमा केन्द्रित थियो।
कार्यक्रममा फिनेको आगामी मध्यपूर्व क्षेत्रीय सम्मेलन दुबईमा आयोजना गर्ने घोषणा पनि गरिएको थियो। नेपाली र नेपाललाई विश्वमाझ पुर्याउने मूल भावनासहित आयोजना हुन लागेको उक्त सम्मेलन सन् २०२७ अप्रिल १७ मा दुबईमा हुनेछ।