मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २५ शुक्रबार ०७:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छौँ : अख्तियार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २५ शुक्रबार ०७:३५:००

अख्तियारले न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । बिहीबार साँझ विज्ञप्तिमार्फत अख्तियारले पुनरावेदनको कानुनी आधार र अभ्यास देखाउँदै अदालतको निर्णयको सम्मान गर्दै अदालतको गरिमाप्रति अनास्था फैलाउने विषय कल्पनासम्म पनि गर्न नसकिने उल्लेख गरेको छ । अदालतको मानमर्दन हुने गरी वक्तव्यबाजी गरेको भन्दै नेपाल बारले आपत्ति जनाएपछि आयोगले स्पष्टीकरण दिएको हो ।

असल मनसायका साथ गरेको कार्यलाई त्यसविपरीत सार्वजनिक निकायहरूबीच भ्रम सिर्जना र द्वन्द्व निम्त्याउने प्रकृतिबाट भएको सम्प्रेषण भएको आयोगले जनाएको छ । ‘चालू आर्थिक वर्षमा हालसम्म सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाबारे पुनरावेदन गर्दा लिइएका आधारको सम्बन्धमा आयोगबाट मिति ०७९/०७/२२ मा जारी गरिएको विज्ञप्ति र जानकारीमूलक विवरणका सम्बन्धमा आयोगबाट असल मनसायका साथ गरिएको कार्यलाई सोविपरीत सार्वजनिक निकायबीच भ्रम सिर्जना र द्वन्द्व निम्त्याउने प्रकृतिबाट भएको सम्प्रेषणतर्फ आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ अख्तियारले विज्ञप्तिमा भनेको छ । 

अदालतको निर्णयको सम्मान गर्दै आयोग न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको, सम्मानित अदालतको गरिमाप्रति अनास्था फैलाउने विषय कल्पनासम्म पनि गर्न नसकिने र स्वतन्त्र न्यायपालिकाको अवधारणाप्रति सदाझैँ अविचलित रहने विज्ञप्तिमा उल्लेख छ । पर्याप्त प्रमाण हुँदाहुँदै र सर्वाेच्चकै नजिरविपरीत समेत कतिपय मुद्दामा फैसला आएपछि आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर असन्तुष्टि जनाएको थियो । बलियो प्रमाण भएका मुद्दामा पनि सफाइ हुँदा भ्रष्टाचार गर्नेहरूको मनोबल बढ्न सक्ने र आयोगप्रतिको विश्वास खस्कन सक्ने भएकाले यसबारे बोल्नुपरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका थिए ।