१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एजेन्सी लन्डन
२o८१ बैशाख २४ सोमबार o७:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

सामान्य व्यक्तिको तुलनामा  अर्बपतिले गर्छन् १० लाख गुणा कार्बन उत्सर्जन

Read Time : > 1 मिनेट
एजेन्सी, लन्डन
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:५८:oo

एक अर्बपतिले एक सामान्य व्यक्तिको तुलनामा १० लाख गुणा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने गरेको एक अध्ययनले देखाएको छ । परोपकारी संस्था अक्सफामले सोमबार प्रकाशित गरेको प्रतिवेदन विश्वका धनी अर्बपतिहरूमध्ये १२५ जनाको लगानीको विस्तृत विश्लेषणमा आधारित छ । औसत मानिसको विपरीत धनी व्यक्तिहरूका लगानी उनीहरूको उत्सर्जनमा ७० प्रतिशत जिम्मेवार रहेको अध्ययनले पत्ता लगाएको छ । प्रतिवेदनअनुसार यी अर्बपतिहरूको लगानीले प्रतिव्यक्ति वार्षिक औसत ३० लाख मेट्रिक टन कार्बनडाइअक्साइड उत्पादन गर्छ, जुन तल्लो ९० प्रतिशतमा पर्ने एक व्यक्तिले गर्ने औसत प्रदूषण २.७६ टन कार्बनभन्दा एक लाख गुणा बढी हो ।

अक्सफामका जलवायु परिवर्तन प्रमुख नाफकोट डाबीले अर्बपतिहरूको जीवनशैली, उनीहरूको निजी जेट र विलासी पानीजहाजबाट हुने उत्सर्जन नै औसत व्यक्तिको तुलनामा हजारौँ गुणा बढी भएको बताउँछिन् । तर, उनीहरूको लगानीबाट उत्पन्न हुनेसमेतको उत्सर्जनलाई हेर्ने हो भने एक धनाढ्यले गर्ने औसत उत्सर्जन एक आममानिसले गर्ने कार्बन उत्सर्जनभन्दा एक लाख गुणा बढी हुन आउँछ । ‘यी मुठीभर अर्बपतिहरूको लगानी (व्यवसाय)ले गर्ने कुल उत्सर्जन फ्रान्स, इजिप्ट र अर्जेन्टिनाजस्ता देशहरूको कार्बन उत्सर्जन बराबर छ,’ अध्ययनमा भनिएको छ, ‘समग्र उत्सर्जनमा धनाढ्यहरूको प्रमुख र बढ्दो जिम्मेवारीलाई जलवायु नीति–निर्माणमा बिरलै छलफल गरिएको र ध्यान दिइएको छ । यसमा परिवर्तन अत्यावश्यक भइसकेको छ ।’

जलवायु प्रमुख डाबी अगाडि भन्छिन्, ‘कर्पोरेट पिरामिडको शिरमा बसेका यी अर्बपति लगानीकर्ताहरूको जलवायु परिवर्तनमा ठूलो हात छ त । उनीहरू धेरै लामो समयदेखि जवाफदेहिताबाट उम्किरहेका छन् ।’ अर्बपतिहरूको औसतमा १४ प्रतिशत लगानी तापीय ऊर्जा र सिमेन्टजस्ता प्रदूषित उद्योगमा रहेको अध्ययनले पाएको छ । अध्ययनमा समाविष्ट धनाढ्यहरूमध्ये एक अर्बपतिको मात्र नवीकरणीय ऊर्जा कम्पनीमा लगानी रहेको थियो । ‘विश्वमा जलवायु संकट निम्त्याएको प्रदूषणबाट लाभ लिन ठूला कर्पोरेट र उनीहरूका धनी लगानीकर्ताहरूले खेलिरहेको भूमिका उजागर हुनुपर्छ र यसलाई परिवर्तन गर्न हामीलाई कोप २७ आवश्यक छ,’ डाबीले भनिन् ।

ad
ad