मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २३ बुधबार
  • Thursday, 10 July, 2025
२o७९ कार्तिक २३ बुधबार २o:२६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

भट्टराईको दोहोरिने सम्भावनामा तगारो बन्लान् बुढाक्षेत्री ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार २o:२६:oo

प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लामा नेकपा एमालेका सचिव योगेश भट्टराई दोस्रोपटक उम्मेदवार बनेका छन्। भट्टराईका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका खेलप्रसाद बुढाक्षेत्री चुनौती बनेर उभिएका छन्। 

सत्तागठबन्धनबाट उम्मेदवार बनेका बुढाक्षेत्री पनि आफूले चुनाव जित्ने दाबी गर्छन्। ‘विश्वास छ, जनताले यसपटक परिवर्तन चाहेका छन्।’ पाँच वर्षमा देखिने गरी काम नगरेको आरोप खेपेका भट्टराई अघिल्लो चुनावमा भारी मतान्तरले विजयी भएका थिए।

भट्टराईका निकटतम् प्रतिस्पर्धी कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८ सय ८८ मत प्राप्त गर्दा उनले २९ हजार ४ सय ७९ मत पाएका थिए। यसपटक भने परिस्थिति फेरिएको छ। भट्टराई, कांग्रेस, माओवादी केन्द्रसहितको सत्तागठबन्धनका उम्मेदवार बुढाक्षेत्रीसँग प्रतिस्पर्धामा छन्। 

ताप्लेजुङमा भट्टराई र बुढाक्षेत्रीबीच कडा टक्कर हुने विश्लेषण गर्न थालिएका छ। भट्टराईले भने पार्टी, संगठन र आफ्नो लोकप्रियताकै कारण निर्वाचन जित्नेमा ढुक्क छन्। ‘विगतमा मैले गरेका कामकै आधारमा ताप्लेजुङका जनताले मलाई ०७४ सालमा जस्तै मत दिएर प्रतिनिधिसभामा पठाउनेछन्,’ भट्टराईले भने, ‘म हिजो पनि यहाँकै जनतासँग थिएँ, आज पनि छु, भोलि पनि हुनेछु। मैले गरेका सबै काम सार्वजनिक छन्।’

सरकारी स्कुलको गुणस्तर सुधारका लागि स्थानीय, प्रदेश, संघीय सरकारका साथै अन्तर्राष्ट्रिय दातृनिकायसँग सहकार्य गर्ने काम गरेको, भौतिक पूर्वाधार र जनशक्तिको विकासमा जोड दिएको उनको दाबी छ। यता सत्तागठबन्धनका उम्मेदवार बुढाक्षेत्री एमालेका भट्टराईलाई ‘मौसमी उम्मेदवार’ भएको आरोप लगाउँदै प्रचारप्रसार गरेर आफूलाई मत मागिरहेका छन्। 

एमाले र सत्तागठबन्धनबाहेक जिल्लामा लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा), मंगोल नेसनल अर्गनाइजेसन, जनसमाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्रतर्फ दुईजना उम्मेदवार प्रतिस्पर्धामा छन्। 

जिल्लामा प्रदेश सभाका लागि २ वटा निर्वाचन क्षेत्र छन्। प्रदेश ‘ख’ मा एमालेका गोपाल थोप्रा र सत्तागठबन्धनबाट कांग्रेसका खगेनसिंह हाङ्गाम(लिम्बू)बीच प्रतिस्पर्धा हुने देखिएको छ। 

यस क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राप्रपा, जसपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार पनि मैदानमा छन्। त्यस्तै, प्रदेश सभा (क) मा एमालेका तिलकुमार मेन्याङ्बो र सत्तागठबन्धनबाट नेकपा (एस) का खेमबहादु बनेम उम्मेदवार छन्।

कस्तो छ अवस्था ? 

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मतका आधारमा ताप्लेजुङमा एमाले पहिलो शक्ति देखिन्छ। ताप्लेजुङका ६१ वडामध्ये एमालेले २९, कांग्रेसले १६, माओवादी केन्द्रले १०, नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले २ वटा र स्वतन्त्रले चारवटा वडा जितेका छन्। ९ वटा स्थानीय तहमध्ये गठबन्धनले ६ वटामा प्रमुख जितेको छ। 

ताप्लेजुङमा ८८ हजार २ सय ८५ मतदाता छन्। गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा जिल्लामा एमालेको २४ हजार ९ सय ९५, कांग्रेसको १८ हजार ६ सय १८, माओवादी केन्द्रको ४ हजार ४ सय ९७, नेकपा एसको ८ सय ५४, जसपाको ५ सय ४१ र राप्रपाको ३ सय ९७ मत छ । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले १ हजार ९ सय ७२ मत पाएका थिए। 

त्यस्तै, स्थानीय निर्वाचनको नतिजाअनुसार प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा एमालेको १२ हजार १ सय २५, कांग्रेसको ९ हजार ३ सय २३, माओवादी केन्द्रको २ हजार ९, स्वतन्त्रको १ हजार ७ सय ९५, नेकपा एसको ४ सय ८३ र राप्रपाको ३ सय ७९ मत छ। प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा एमालेले १२ हजार १ सय ७०, कांग्रेसले ९ हजार २ सय ९५, माओवादी केन्द्रले २ हजार ४ सय ८८, जसपाले ५ सय ४१, नेकपा एसले ३ सय ७१ मत छ।