वर्षमा एक दिन मात्र खोलिने काठमाडौंस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज खुला रहनेछ । दिदी–बहिनी नहुनेहरूका लागि आज बालगोपालेश्वर मन्दिर खोल्न गरिएको छ ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गर्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । सात वर्षअघिको गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि ०७७ सम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भिड लाग्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछि ०७७ देखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो ।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायमा कुल परम्पराअनुसार कसैले आज र कसैले भोलि भाइटीका अर्थात् किजापूजा मनाउँछन् ।
रासस