१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ ४ शुक्रबार १२:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सुकुटे सिन्धुपाल्चोकको ‘ठमेल’

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:३६:oo

गर्मी मौसमको तातो हावा छल्न सिन्धुपाल्चोकको सुकुटे पुगेका आन्तरिक तथा बाह्य पर्यटक सुनकोशी नदीमा र्‍याफ्टिङ र स्विमिङ गरेर ताजगी हुन्छन्।

सुकुटे राजधानी काठमाडौंबाट ६५ किलोमिटर दूरीमा पर्छ। छोटो दूरीमा धेरै कुराको आनन्द र अनुभव लिन पाउने भएकाले अरनिको राजमार्ग बन्देउ कट्नासाथ सिम्लेदेखि बलेफीसम्मको सुकुटे क्षेत्र हजारौँ पर्यटकले भरिएको हुन्छ।

काठमाडौंवासी बाक्लै देखिने सुकुटेमा भारत, चीन, अमेरिका र युरोपियन पर्यटक पनि सराबर नै भेटिन्छन्। पर्यटक मुख्यतः र्‍याफ्टिङ, स्विमिङ र सुनकोशी नदीमा टहल्न लोभिएका छन्।

चीनसँगको अन्तर्राष्ट्रिय मार्ग कोदारी, छिमेकी जिल्ला दोलखाको कालिञ्चोक र भर्खरै खुला गरिएको भर्जिन हिमाल जुगल आरोहणमा आउने पर्यटकको ट्रान्जिट प्वाइन्ट भएकाले सुकुटे पर्यटकीय हब बनेको हो।

सुकुटेमा सञ्चालित होटेल र रिसोर्टमा अन्तर्राष्ट्रियस्तरको खाने, बस्ने, रमाइलो गर्ने र साहसिक खेलहरू खेल्न पाइन्छ। त्यसैले, घुम्न आउने पर्यटक भन्छन्– सुकुटे सिन्धुपाल्चोकको ठमेल हो।

भोटेकोशी नदीको शिर बोर्डरल्यान्डबाट कञ्चन पानीमा र्‍याफ्टिङ गर्दै दोलालघाटसम्म आएर पर्यटकले आनन्द लिन्छन्। पर्यटकले र्‍याफ्टिङ, कायाकिङ, जंगल सफारी, क्याम्पिङ, स्विमिङ र साइकल राइडिङ गरेर समय बिताउँछन्।

त्यसैगरी, परिवारसहित आएका पर्यटक बालबालिका लिएर जिपलाइन, स्काई साइक्लिङ, पिङ, जायन्ट पिङ, हामुक, केबलकारमा रमाइरहेका भेटिन्छन्। सुकुटे क्षेत्रमा रहेका १५ होटेल तथा रिसोर्टले पर्यटक तान्न विभिन्न व्यावसायिक उपाय अपनाएका छन्।

भोटेकोशी बिच रिसोर्ट, सिन्धु बिच रिसोर्ट, सुकुटे बिच, रिभर बे, माया बिच, ह्वाइट लिफ होटेल, सुकुटे भ्याली, सुकुटे बेस क्याम्प, रिभर फन, रिभर होलिडे, स्यान्डी बिच, सुनकोशी बिच, र्‍याफ्टिङ स्टार, सुकुटे एड्भेन्चर रिसोर्ट र सुकुटे रिभरसाइडले साहसिक मनोरञ्जनका विधा र खानबस्नको प्रबन्ध प्रतिस्पर्धात्मक रूपमा गरेका छन्।

ठूला र साना होटेलमा पाँच सय मानिसले रोजगारी गर्छन्। दैनिक एक हजारभन्दा बढीले र्‍याफ्टिङ गर्छन्। साहसिक खेलमा सयभन्दा बढी युवा रोजगार छन्। गर्मीका दिन भएकाले एउटै होटेलमा दैनिक १५ सयसम्म पर्यटक आउने गरेको भोटेकोशी बिच रिसोर्टका सञ्चालक कृष्ण सापकोटाले बताए। सिजनमा रिसोर्टहरूले दैनिक लाखौँ रुपैयाँ आम्दानी गर्छन्।

सुकुटेमा मनोरञ्जन लिएपछि अधिकांश पर्यटक तातोपानी घुम्न पुग्छन्। त्यहाँ चारतारे होटेल हेली रिसोर्ट, दी लास्ट रिसोर्ट र स्मल हेभनमा बस्ने गरेका छन्। कतिपयले बन्जीजम्पमा मनोरञ्जन लिन्छन्। 
 

ad
ad