१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चाडपर्वले आपसी स्नेहलाई प्रगाढ बनाउन मद्दत गर्छ : प्रधानमन्त्री 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o९:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दीयौँ पहिलेदेखि चल्दै आएको तिहार हाम्रो विशिष्ट मौलिक पर्व भएको उल्लेख गरेका छन्। 

उनले यो मौलिक सांस्कृतिक पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई समेत प्रगाढ बनाउन मद्दत पुर्‍याउँदै आएको बताएका छन्। 

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत नेपालीहरूको महान् चाड तिहार २०७९, नेपाल संवत् ११४३ को आरम्भ, म्हः पूजा तथा किजा पूजाको पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन्। 

तिहारको अवसरमा खेलिने देउसीभैलोलगायतका सांस्कृतिक नाचगानले हाम्रो समाजमा शान्ति, सदभाव, एकता र भाइचाराको भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्। 

प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘औँसीको रातमा झिलिमिली बत्ती बाल्दै घरआँगन उज्यालो तुल्याउने कार्यले हामी सबैलाई अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरणा प्रदान गर्नेछ।’  

यस अवसरमा प्रधानमन्त्री देउवाले दीपावलीको उज्यालो प्रकाशले सबैलाई सत्य, धर्म, न्याय र सदाचारको मार्गमा अग्रसर रहन प्रेरणा प्रदान गरोस् भनी कामना गरे। 

कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म पाँच दिनसम्म अत्यन्त हर्ष र उल्लासका साथ मनाइने यमपञ्चकको रूपमा समेत चिनिने यस पर्वका अवसरमा मानव समाजका लागि उपयोगी काग, कुकुर, गाई, गोरुलगायत पशुपन्छीका साथै कार्तिक कृष्ण अमावश्याका दिन धन र ऐश्वर्यकी देवी लक्ष्मीको विधि विधानपूर्वक पूजाअर्चना गरी साँझमा घर–आगनमा दीपावली गरी देउसीभैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ।

कार्तिक शुक्ल द्वितीयाका दिन–दिदीबहिनीद्वारा दाजुभाइको पूजा गरिनुका साथै एक–आपसमा फलफूल, मिठाई, मरमसलालगायत कोसेली र दक्षिणासमेत प्रदान गरी शुभकामना आदान–प्रदान गरिन्छ । यसैगरी नेवार समुदायमा यसै अवसरमा साँझमा म्हः पूजा गर्ने परम्परा छ।

प्रधानमन्त्री देउवाले कोभिड– १९ को संक्रमण कायमै रहेको र डेंगु रोगको प्रकोपको जोखिम अझै रहिरहेको वर्तमान सन्दर्भमा स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डसमेत पालना गर्दै आवश्यक सजगता र सतर्कतासहित दीपावली पर्व मनाउन सबैलाई अनुरोध गरेका छन्। 

उनले तिहार पर्वले सम्पूर्ण नेपालीबीच एक–आपसमा प्रेम, सांस्कृतिक सदभाव र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्दै तिहार पर्व २०७९ को पुनीत अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन्। 

ad
ad