१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
अस्ट्रेलिया पुगेका फुटबल खेलाडी राजन गुरुङ (बायाँबाट दोस्रो), क्रमशः अमिर श्रेष्ठ, रवि थिङ, रुमेश बर्तौला, मिक्छेन तामाङ र रोहित कार्की । तस्बिर सौजन्य : रोयल वेस्टर्न क्लब मेलबर्नको फेसबुक पेज
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:१६:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फुटबल खेलाडी अस्ट्रेलिया भासिँदै

खेलकुद संरचना बलियो नहुनु र खेलेर नै जीविकोपार्जन गर्न नसकिने अवस्थाका कारण प्रतिभाशाली तथा उदीयमान खेलाडी सुन्दर भविष्य खोज्दै अस्ट्रेलिया भासिने क्रम जारी

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१६:oo

असोजको पहिलो साता सिनियर तथा उमेर समूहको नेपाली राष्ट्रिय फुटबल टोलीबाट प्रतिनिधित्व गरिसकेका प्रतिभावान् खेलाडी अस्ट्रेलियातर्फ आफ्नो भविष्य खोज्दै उडेका थिए । फुटबल करिअर चटक्कै छाडेर अस्ट्रेलिया जानुपर्दा उनीहरूको अनुहार मलिन थियो । त्रिभुवन विमानस्थलमा आफन्तजन तथा साथीहरूले बिदाइ गर्दा उनीहरूको अनुहारमा कृत्रिम मुस्कान देखिन्थ्यो ।

घरेलु खेलकुद संरचना बलियो नहुनु र खेलेर नै जीविकोपार्जन गर्न नसकिने अवस्थाका कारण नेपालबाट प्रतिनिधित्व गरेका विभिन्न खेलका खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम बढ्दो छ । राष्ट्रिय टोलीबाट खेलिसकेका शिव गुरुङ र आकाश मगरसँगै रेजिन सुब्बा गत साता मात्रै अस्ट्रेलियातर्फ लागेका थिए । यसअघि राष्ट्रिय टोलीका डिफेन्डर राजन गुरुङ, मिक्छेन तामाङसँगै यू–२३ बाट प्रतिस्पर्धा गरेका अमिर श्रेष्ठ असोजको पहिलो साता अष्ट्रेलिया पुगेका हुन् । उनीहरूसँगै सहिद स्माकर ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका रुमेश बर्ताैला र रवि थिङ अस्टे«लिया नै पुगेका छन् । पछिल्लो समय नेपाली खेलाडीहरूका लागि आकर्षक बनिरहेको देश अस्ट्रेलिया हो । 

अस्ट्रेलियामा राम्रो आम्दानी मात्र होइन, भविष्यसमेत सुनिश्चित हुने देखी प्रत्येक महिनाजसो नेपालका राम्रा तथा उदीयमान खेलाडी त्यसतर्फ उडिरहेका छन् । यही क्रम जारी रहँदा निकट भविष्यमा हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एक दर्जनभन्दा बढी खेलाडी घरेलु लिगमा देखिनेछैनन् । नेपालको घरेलु फुटबल संरचना बलियो नहुँदा र वेला–वेलामा हुने फुटबल विवादले राष्ट्रिय टोलीका वर्तमान ठूला अनुहारसमेत विदेश पलायन हुने अवस्थामा छन् ।

नेपालमा खेलेरै जीवन निर्वाह गर्न मुस्किल पर्न थालेपछि खेलाडीले दोस्रो विकल्पका रूपमा बिदेसिने बाटो रोजेका हुन् । नेपाली खेलाडीहरू अस्ट्रेलियामा एक दिन खेल्ने र बाँकी ६ दिन काम गर्छन् । सप्ताहन्तमा हुने अष्ट्रेलियाको स्थानीय लिगबाट खेलाडीले मोटो रकम पाउँदै आएका छन् । यसै मोटो रकममा उनीहरूलाई लोभ्याएको हो । 

गत साउनमा मात्रै आधा दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलियाया पुगेका थिए । राष्ट्रिय टोलीको प्लेइङ सेटबाट खेल्दै आएका सुमन लामा, आशिष लामा, दर्शन गुरुङ, विमल राना र नवीन गुरुङले अस्ट्रेलियामै आफ्नो सुन्दर भविष्य बनाउन त्यसतर्फ लागे । ‘ए’ डिभिजनमा औसत प्रदर्शन गर्दै आइरहेका गोलरक्षक अजित प्रजापति र नेपालको उमेर समूहमा खेलिसकेका रोहित कार्कीसमेत अष्ट्रेलिया पुगेका छन् । ०७५ सालमा मनाङ मस्र्याङ्दीका डिफेन्डर विमल बस्नेत खेलाडी भिसामा नभई रोजगारीका लागि अष्ट्रेलिया पुगेका थिए । ०७६ साल ‘ए’ डिभिजन लिग चलिरहँदा राष्ट्रिय टोलीबाट खेलिसकेका मिडफिल्डर हेमन गुरुङ र गोलरक्षक एलन न्यौपानेले पनि अष्ट्रेलियालाई नै रोजे । ०७८ सालको लिगमा संकटा क्लबका डिफेन्डर नीरज बस्नेत न्युजिल्यान्डमा रोजगारीका लागि पुगे । 

फुटबलर मात्र होइन, अन्य खेलका खेलाडी पनि भासिँदै
फुटबल खेलका खेलाडी मात्र अष्ट्रेलियामा पुगेका छैनन्, अन्य खेलका नेपाली खेलाडीको बाहुल्यता अस्ट्रेलियामा देखिएको छ । नेपाललाई १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका खेलाडी नै पलायन भएका छन् । कराँते कातातर्फ स्वर्णपदक विजेता निर्मला तामाङ र रजत विजेता दिवस श्रेष्ठ पनि उतै छन् । नेपालका टेबलटेनिस नम्बर एक खेलाडी स्यान्टु श्रेष्ठ भने उच्चशिक्षा हासिल गर्न अस्ट्रेलियामा छन् । उनले १३औँ सागमा नेपाललाई रजतसहित चार पदक दिलाएका थिए । नेपाल नम्बर एक चेस खेलाडी विवेक थिङ तीन साताअघि अष्ट्रेलिया पुगे । तेक्वान्दोका केही खेलाडी प्रतियोगिताका लागि अस्ट्रेलिया पुगे । तर, उनीहरू नेपाल फर्केर आएनन् । 

 खेलाडी भन्छन्– नेपालमा भविष्य नदेखेर अष्ट्रेलिया आयौँ 
अस्ट्रेलिया पुगेका खेलाडीहरू नयाँ पत्रिकासँग सम्पर्कमा आउँदा नेपालमा भविष्य नदेखेर नै त्यहाँ पुगेको बताउँछन् । प्रतियोगिता निरन्तर नहुनु र परिवार पाल्न निकै दुःख भएका कारण नै अस्ट्रेलिया पुगेको खेलाडीले बताए । ‘यहाँ हप्तामा एक दिन खेल र बाँकी समय रोजगारी गर्छौं,’ एक खेलाडीले भने । अस्ट्रेलियामा विशेषतः नेपाली समुदायबीच हुने प्रतियोगितामा भाग लिन मेलबर्न, सिड्नी पुग्ने गरेका छन् । स्थानीय कम्युनिटी कप खेल्दा पनि खेलाडीले राम्रो आम्दानी गर्ने गर्छन् । 

खेलाडीहरूका अनुसार एक खेलाडीले खेलबापत मात्र मासिक दुई हजार अस्ट्रेलियन डलर प्राप्त गर्छन् । ‘नेपालमा पछिल्लो समय प्रतियोगिता नै छैन । लिग पनि राम्रोसँग नहुने र समयमा नहुने समस्या छ,’ खेलाडीहरूले भने, ‘नेपालको फुटबललाई एक उचाइमा पुर्‍याउने र आम्दानी राम्रो हुने एनएसएल पनि हुन सकेन ।’ 
अस्ट्रेलियामा नेपाली क्लबबीच राम्रो सम्बन्ध बनेको एक खेलाडीले बताए । ‘यहाँ ( अष्ट्रेलिया) नेपाली क्लबबीच प्रतिस्पर्धा राम्रो बनेको छ, आकर्षण बढ्नुको कारण सेवासुविधा नै हो,’ उनले भने, ‘यहाँ खेल्ने सबै वातावरण राम्रो छ, खेलपछि काम पनि राम्रो पाइन्छ ।’ 

ad
ad