१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कैलाली भजनीका ध्वजबहादुर बिकको घरमा बाढीले क्षति गरेको अन्न । तस्बिर : तेजराज भट्ट/नयाँ पत्रिका
२०७९ असोज १६ आइतबार १६:५२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपीडित भन्छन् – बाससँगै छाक खोसियो, दसैँ कसरी मान्नु ?

बाढी पसेर अन्नपात नष्ट भएपछि भजनीका बाढीपीडितलाई दसैँमा छाक टार्नै समस्या

Read Time : > 2 मिनेट
२०७९ असोज १६ आइतबार १६:५२:००

कैलालीको भजनी नगरपालिका– ८ काँडाढिककी देउसरा बिक कसरी छाक टार्ने भन्ने समस्यामा छिन् । अविरल वर्षासँगै गत १ असोजमा स्थानीय काँडा नदीमा आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेपछि विस्थापित देउसरा र उनका श्रीमान् अझै घर फर्कन सकेका छैनन् । 

बस्ती नजिकै रहेको हुलाकी राजमार्गछेउ एकजनाको घरमा आश्रय लिएर बसेका यी वृद्ध दम्पत्तिलाई चाडवाडका वेला छाक कसरी टार्ने भन्ने समस्या छ । घरभित्र रहेको अन्नपात सबै बाढीले बगाएको उनले बताइन् । 

‘नजिकै रहेका माइती र आफन्तबाट मागेर साँझ–बिहानको छाक टरेको छ,’ उनले दुःख सुनाइन्, ‘के खाने, कहाँ बस्ने भन्ने समस्या भएका वेला कसरी दसैँ मनाउनु ?’ उनका छोरा रोजगारीको सिलसिलामा भारतको मुम्बइमा छन् । घरभित्रको बाढी अहिले पनि नसुकेकोले घर फर्कन नसकेको उनले बताइन् । देउसराले भनिन्, ‘घरभित्र हिलोले अहिले पनि बस्न मिल्ने भएको छैन ।’ 

भजनीकै सोनाफाँटाका भोजराज चौधरीलाई पनि छाक टार्ने समस्याले पिरोलेको छ । त्यही दिन विस्थापित भएका उनको काठले बनेको कच्ची घर बाढीले भत्किएको छ । पाँचजनाको परिवार लिएर उनी दुई सातादेखि आफन्तको घरमा बसिरहेका छन् । छिमेक र आफन्तबाट मागेर गुजारा चलाइरहेको उनले सुनाए । घरमा भएको लगभग सबै अन्नपात बाढीले बगाएको उनले बताए ।

‘घर बाढीले भत्कायो । दुःख गरेर भाइको घरमा बसेका छौँ । रमाइलो गरेर दसैँ मनाउने वेला एकातिर छाक कसरी टार्ने भन्ने चिन्ता छ, अर्कोतिर घर कसरी बनाउने भन्ने,’ चौधरीले दुख पोखे, ‘घरभित्रको धान त बग्योबग्यो खेतमा पसाउन लागेको धानबाली पनि बाढीले बाँकी राखेन ।’ बचेको अन्न पनि भिजेर काम नलाग्ने भएको उनले बताए ।

दसैँका वेला कैलालीका बाढीपीडित छाक टार्ने चिन्तामा छन् । गत १ असोजमा आएको बाढी र डुबानले कैलालीमा सयौँ परिवार विस्थापित भएका थिए । बाढीले कतिपयको घरभित्रको अन्न बगाएको छ भने कतिपयको भिजेर काम नलाग्ने बनेको छ । अधिकांश विस्थापितहरु घर फर्के पनि बाढीले अन्नमा क्षति गरेपछि उनीहरुलाई खानको समस्या भएको छ ।

केही परिवार भने अझै घर फर्कन सकेका छैनन् । घर फर्कन नसकेकाहरुको एकिन तथ्यांक छैन । तर, स्थानीय तहहरुको तथ्यांकअनुसार करिब सय परिवारले आश्रय लिएको ठाउँ छोड्न सकेका छैनन् । उनीहरु आंशिक रूपमा घर गए पनि बस्ने अवस्था नभएकाले आश्रय लिएका ठाउँ छोड्न नसकेका हुन् । 

घर भत्किएकाले तथा घरभित्रको हिलो नसुकेकाले कतिपय बाढीपीडित अहिले पनि घरमा बस्न नसकेको बाढीबाट सबैभन्दा बढी प्रभावित भएको भजनी नगरपालिकाले जनाएको छ । ती परिवार आफन्त, छिमेकी, सडक, विद्यालय र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका भजनी नगरपालिकाका मेयर केवल चौधरीले बताए ।

बाढीले अन्न नष्ट गर्नुका साथै भिजाएपछि घर फर्केकाहरुलाई खानको समस्या छ । ‘भिजेको अन्न सडेको छ । कतिपय उम्रेर जमरा बनेको छ,’ सोनाफाँटाका बाढीपीडित गणेश कामीले भने, ‘अन्न, लुगाफाँटो केही बाँकी रहेन, चाडपर्वका वेला उमंगमा होइन, पीडामा छौँ ।’ 

आर्थिक अभावले बालबालिकाका लागि भए पनि दसैँ कसरी मनाउने भन्ने चिन्ता रहेको उनले बताए । बाढीले घर डुबाएपछि विस्थापित भएर नौ दिनसम्म हुलाकी राजमार्गमा बसेको उनको परिवार अहिले आफन्तको घरमा बसिरहेको छ । बाढीले क्षति गर्दा आफ्नो घरमा बस्न मिल्ने अवस्था नरहेको गणेशले बताए । स्थानीयका अनुसार सोनाफाँटामा मात्रै बाढीले ६ वटा घर भत्किएका छन् ।

बाढीले भजनी नगरपालिकामा सबैभन्दा बढी क्षति गरेको छ । भजनीमा अहिले पनि करिब सय परिवार घरमै बस्ने गरी फर्कन नसकेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख चौधरीले दुई दर्जनभन्दा बढी परिवार हुलाकी सडकमा त्रिपालको टेण्ट बनाएर बसिरहेका बताए । विस्थापितको तथ्यांक संकलन गरेर एकीकृत गर्ने काम भइरहेको उनले बताए ।

‘केहीका घर भत्केका छन् । कतिपयका घरमा बाढी सुकेको छैन । घरभित्र हिलो हुँदा बस्ने अवस्था छैन,’ मेयर चौधरीले भने, ‘दसैँको वेला बाढीपीडित पीडामा छन् ।’ संघसंस्थाको सहयोगमा पीडित परिवारलाई खाद्यान्न, त्रिपाललगायत सहयोग गरिरहेको उनले बताए । त्यस्तै कैलारी गाउँपालिकामा पनि केही परिवार घर फर्कन समस्या रहेको गाउँपालिकाले जनाएको छ ।