Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एन्ड्रयु ह्वाइटहेड
२०७९ असोज १३ बिहीबार ०९:१०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकामा ‘इसाई राष्ट्रवाद’को जोखिम 

कसैले ‘सच्चा अमेरिकी’ वा ‘बफादार इसाई’ले इसाई राष्ट्रवाद अँगाल्नुपर्छ भन्छ भने उसले लोकतन्त्रको विरोध, नश्लवाद र राजनीतिक हिंसालाई जायज ठहर्‍याएको बुझ्नुपर्छ 

Read Time : > 2 मिनेट
एन्ड्रयु ह्वाइटहेड
२०७९ असोज १३ बिहीबार ०९:१०:००

हालैको राष्ट्रिय सर्वेक्षणअनुसार अधिकांश रिपब्लिकन अमेरिकालाई इसाई राष्ट्र घोषणा गर्न चाहन्छन् । यही जुलाईमा रिपब्लिकन नेतृ एवं व्यापारी म्यार्जोरी टेलर ग्रिनले रिपब्लिकनले गर्वसाथ इसाई राष्ट्रवाद अँगाल्नुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखेपछि राष्ट्रवादी लहर नै चल्यो । सम्भवतः ट्रम्प अभियानमा सफल भएकाले होला, पेन्सिल्भेनियाका गभर्नरका लागि उम्मेदवारी दिएका डग मास्ट्रियानोजस्ता राजनीतिज्ञले चुनावी अभियानमा इसाई राष्ट्रवादी बयानबाजी गर्दै आएका छन् । आखिरमा ‘इसाई राष्ट्रवाद’ के हो ? 

अमेरिकामा नागरिक जीवनका सबै अवयव इसाई धर्मको विशेष रुढिवादी र सीमित जाति केन्द्रित (एथ्नोसेन्ट्रिक) अभिव्यक्तिअनुसार चल्नुपर्छ भन्ने विश्वासलाई इसाई राष्ट्रवाद भनिन्छ । धर्मशास्त्रीय वा धार्मिक विचार इसाई राष्ट्रवादको एउटा पाटो मात्रै हो । यो राष्ट्रवादमा थुप्रै सांस्कृतिक मान्यता समाविष्ट छन् । यी मान्यतामा सामाजिक पदानुक्रम कायम राख्ने कठोर नैतिक परम्परावाद, ‘योग्य’ शासकद्वारा अभ्यास गरिने हिंसाको प्रयोग र धम्कीसहितको अधिनायकवादी अधिकारको स्वीकृति पर्छन् । यसबाहेक ‘वास्तविक’ अमेरिकी पत्ता लगाउन कठोर जातीय एवं नश्लीय भेदभावको चाहना देख्न सकिन्छ, जहाँ गैरश्वेत र अंगीकृत नागरिकलाई पूर्ण नागरिकका रूपमा हेरिँदैन । यिनै कारणले इसाई राष्ट्रवादलाई इसाई श्वेत राष्ट्रवादको संज्ञा पनि दिइन्छ । 

उसो त आधुनिक अमेरिकाको निर्माणमा इसाई धर्मको भूमिका अकाट्य छ, तर इसाई राष्ट्रवाद यतिमै सीमित छैन । यसले इसाई धर्मको एक मत विशेष सारा अमेरिकाका लागि योग्य छ भन्ने विश्वास राख्छ र यही मतमा आधारित खाकालाई मात्रै सबै तहका सरकारले संरक्षण गरून् भन्ने चाहना राख्छ । अर्थात्, इसाई राष्ट्रवादले जनताका लागि जनताले बनाएको सरकार नभई राजनीतिक एवं धार्मिक पुरातनपन्थी इसाईले आफ्नै लागि सरकार बनाउने व्यवस्था चाहन्छ । विभिन्न सर्वेक्षणअनुसार १५ देखि २० प्रतिशत अमेरिकी इसाई राष्ट्रवादका कट्टर समर्थक छन् भने करिब एकतिहाइ कुनै न कुनै किसिमले इसाई राष्ट्रवादलाई स्वीकार गर्छन् ।

इसाई राष्ट्रवादले अमेरिकालाई जनसंख्याको एक सानो हिस्साको बपौती ठान्छ, त्यसकारण यो राष्ट्रवाद घातक छ । विभिन्न अध्ययन अनुसन्धानले इसाई राष्ट्रवादका दुष्परिणामबारे बताएका छन् । म यहाँ तीन दुष्परिणामबारे चर्चा गर्नेछु । 

इसाई राष्ट्रवाद लोकतन्त्रका खिलाफ छ : इसाई राष्ट्रवादको केन्द्रमा शक्ति रहेको छ । अमेरिका ईश्वरको अधीन रहन शक्ति ‘योग्य’का हातमा हुनुपर्छ । तर, लोकतन्त्रमा हामी शक्ति बाँडफाँडमा विश्वास गर्नुपर्छ भन्ने मान्यता राख्छौँ । अर्थात्, लोकतन्त्र र इसाई राष्ट्रवाद एकअर्काका लागि निषेधकारी छन् । नतिजा मास्ट्रियानोजस्ता उम्मेदवार परमेश्वरका निर्देशनको (आफूले गरेको) व्याख्या लागू गर्न लोकतन्त्र र स्वतन्त्र एवं निष्पक्ष चुनावको नतिजालाई बेवास्ता गर्न तयार हुन्छन् । हालैको अध्ययनअनुसार इसाई राष्ट्रवादी विभिन्न कारणले हुने मतदान वञ्चितीकरणलाई समस्या मान्दैनन्, अमेरिकामा मतदान गर्न ‘निकै सजिलो छ’ भन्ने भाष्यमा विश्वास गर्छन् । निर्वाचनमा अत्यधिक धाँधली भयो भन्ने मान्छन् । मतदान गर्न मतदाताको राष्ट्रियताको परीक्षा लिनुपर्छ भन्ने प्रस्तावलाई समर्थन गर्छन् र अपराधीलाई मतदानबाट वञ्चित गराउनुपर्छ भन्ने मान्यता राख्छन् । 

सुरुमा उल्लिखित राष्ट्रिय सर्वेक्षणले रिपब्लिकनको बहुमत सदस्यले अमेरिकालाई इसाई राष्ट्र बनाउनुपर्छ भन्ने प्रस्तावलाई समर्थन गर्छ । सर्वेक्षणले राजनीतिक पक्षधरता संविधानको बर्खिलाप भए पनि कायम छ भन्ने देखाउँछ । इसाई राष्ट्रवादको लोकतन्त्रविरोधी प्रवृत्तिले श्वेत, वंशज अमेरिकी नागरिक, रुढिवादी इसाईलाई राजनीतिक प्रणालीमा असमान पहुँच दिने काम गर्छ । लोकतन्त्रमा विविध जनसांख्यिक समूहमा शक्ति फैलिने भएकाले इसाई राष्ट्रवादको उद्देश्यमा धक्का लाग्न सक्छ । त्यसकारण यदि आवश्यक भएमा इसाई राष्ट्रवादले लोकतन्त्रलाई अस्वीकार गर्नेछ ।

इसाई राष्ट्रवादले नश्लवाद कायम राख्छ : हालैका विभिन्न शोध प्रकाशनले अमेरिकामा श्वेत इसाई धर्मले नश्लीय पदानुक्रमको विकास र संरक्षणमा महŒवपूर्ण भूमिका खेलेको थियो । श्वेत इसाई राष्ट्रवादले नश्लीय अन्याय र विभाजनको पर्खालका लागि वैचारिक पर्खालको काम गरेको छ । आज पनि श्वेत इसाई राष्ट्रवाद यो पर्खाल जोगाइराख्न चाहन्छ । 
हालैको एक शोधअनुसार इसाई राष्ट्रवादले नश्लवादको इतिहासलाई अस्वीकार गर्न विद्यमान अवस्था यस्तै हो भनेर स्विकार्न लगाउँछ वा नश्लीय विभेदका लागि अश्वेत अमेरिकी नै जिम्मेवार हुन् भन्ने भाष्य खडा गर्छ । वास्तवमा गोरा अमेरिकीका लागि इसाई राष्ट्रवादले गोरा नै वास्तविक पीडित हुन् भन्ने पारिदिन्छ । इसाई राष्ट्रवादले अश्वेतमाथि प्रहरीले ज्यान लिने गरी गर्ने हिंसामा अश्वेतलाई नै प्रत्यक्ष रूपमा दोषी ठहर्‍याउँछ । यी राष्ट्रवादीका लागि नश्लीय वा जातीय अल्पसंख्यकका नकारात्मक अनुभव केवल देशलाई विभाजन गर्ने प्रक्रियाको विषयान्तर मात्र हो ।  

इसाई राष्ट्रवादले राजनीतिक हिंसालाई जायज ठहर्‍याउँछ : इसाई राष्ट्रवादको शक्तिसँगको आसक्तिले हिंसालाई सहज रूपमा स्विकार्नुलाई स्वाभाविक मान्छ । कहिलेकाहीँ ईश्वरको आज्ञा पालना गर्न बल प्रयोग वा प्रयोग गर्ने धम्की एक मात्र विकल्प बन्न जान्छ । यसलाई गत वर्ष अमेरिकी कंग्रेस भवन (क्यापिटोल हिल) मा भएको हिंसाले पनि पुष्टि गर्छ । 
यदि कसैले ‘सच्चा अमेरिकी’ वा ‘बफादार इसाई’ले इसाई राष्ट्रवाद अँगाल्नुपर्छ भन्छ वा चुनावी नतिजा बाइबलअनुसारको असत्यविरुद्ध सत्यको युद्ध हो भन्छ भने हामीले यो राष्ट्रवादले लोकतन्त्रको विरोध, नश्लवाद र राजनीतिक हिंसालाई जायज ठहर्‍याइरहेको छ भन्ने बुझ्नुपर्छ । इसाई राष्ट्रवादलाई अमेरिकाको एक राजनीतिक दलले प्रोत्साहन गरिरहेका सन्दर्भमा यी तीन जोखिमबारे थप चनाखो हुनुपर्छ ।  

(ह्वाइटहेड इन्डियाना युनिभर्सिटी–पड्र्यु युनिभर्सिटीका समाजशास्त्रका सहप्राध्यापक हुन्) टाइम म्यागेजिनबाट