१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तस्बिर : संजित परियार / नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३४:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

यसरी दिलाएका थिए जितबहादुरले पहिलो अन्तर्राष्ट्रिय पदक

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३४:oo

नेपाली खेलकै जिउँदो इतिहासका रूपमा जितबहादुर केसीलाई लिइन्छ । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडी जितबहादुर हुन् । सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको पहिलो एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा उनले म्याराथनमा कांस्य पदक जितेका थिए । यही पदक नै नेपालको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक हो । ४९ वर्षअघि मनिलामा जितेको ऐतिहासिक पदकबारे जितबहादुरले नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई यसरी बताए :

 टुँडिखेलमा अभ्यास
नेपालले मनिलामा प्रतिस्पर्धा गर्ने निश्चित भइसकेको थियो । नेपालबाट पाँचजना जाने तय भयो । सरकारले अभ्यासका लागि हामीलाई प्रशिक्षणमा बोलाएको थियो । सरकारले हामीलाई दिनको दुई डलर दिएको थियो । यसमा डाइट खर्च एक डलर थियो । मलाई सम्झना भएसम्म त्यसवेला एक डलरबराबर १० रुपैयाँ हुन्थ्यो । प्रशिक्षणका वेला अहिलेकोजस्तो डाइटको सुविधा थिएन । अहिलेजस्तो ट्र्याकमा दौडन कहाँ पाउनु र ! 

सरकारले दैनिक भत्ताको व्यवस्था गरेपछि अभ्यासतिर सहभागी हुने खेलाडीहरूले अभ्यास सुर गरे । त्यसवला दशरथ रंगशाला अहिलेकोजस्तो थिएन । पानी परेको समयमा रंगशाला पूरै हिलाम्मे हुन्थ्यो । एक किसिमले धापजस्तै थियो । धापमा माछाहरू हुन्थे । हामीले टुँडिखेलमा अभ्यास गर्ने गर्‍यौँ । नेपाली टोलीमा मसँगै वैकुण्ठ मानन्धर, भक्तबहादुर सापकोटा, केशरबहादुर बानियाँ र प्रशिक्षक मधुशमशेर थिए । नेपाली टोली हङकङ, थाइल्यान्ड हुँदै मनिला पुगेको थियो । 

 रगत बगाउँदै खाली खुट्टामै कुदेँ
प्रतियोतिगा सुरु हुँदा ठूलो पानी परेको थियो । सडकमा पानी घुँडा–घुँडासम्म आउने किसिमको थियो । मैले जापानिज टाइगर जुत्ता लगाएको थिएँ । दौड सुरु भएपछि एकोहोरो रूपमा कुदेँ । बीचमा मेरो जुत्ता फुत्कियो । मैले एउटा स्पेस बनाइसकेको थिएँ । यस कारण बीचमा रोकिएर जुत्ता लगाइन् । म एउटा खुट्टामा जुत्ता र अर्को खाली खुट्टै कुदेँ । कुद्न अप्ठ्यारो भइरहेको थियो । ब्यालेन्स मिलिरहेको थिएन । त्यसपछि अर्को जुत्ता पनि मिल्काएँ । फिल्ड हाम्रोजस्तो थिएन । पानी एकैछिनमा सुक्ने रहेछ । फेरि मनिलामा निकै गर्मी थियो । एक त खाली खुट्टा, त्यसमाथि पनि तातोले गर्दा कुद्न सक्ने अवस्था नै भएन । मभन्दा अघि दुईजना धावक थिए । खाली खुट्टामै मैले उनीहरूलाई चुनौती दिँदै सँगसँगै दौडिएँ । बीच–बीचमा खेलाडीका प्रशिक्षकहरूले निर्देशन दिइरहन्थे । म्याराथन सकिन एक किलोमिटर बाँकी थियो । मेरो खुट्टाबाट रगत बग्न थाल्यो । प्रशिक्षक राणाले भन्नुभयो, ‘जितबहादुर, धेरैमा दुई किलोमिटर मात्र होला । तिमीले रोक्नुहुन्न है । अगाडिका दुईजनाबाहेक अरू सबै तिम्रो पछाडि छन् ।’ 

सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको पहिलो एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा केसीले म्याराथनमा कांस्य पदक जितेका थिए । यही पदक नै नेपालको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक हो

प्रशिक्षक राणाले यति जानकारी दिनुभएपछि म बिस्तारै फिनिसिङतर्फ लागेँ । त्यो अवस्थामा मेरो लक्ष्य कोरियन खेलाडीलाई पनि पछि पार्ने थियो । म उसैको पछि लागिरहेँ । तर, खुट्टाबाट रगत बगिरहेका कारण मैले स्पिड लिन सकिरहेको थिइनँ । बीचमै दौड छाड्ने विचार पनि आएको थियो । फेरि धेरै धावकलाई निकै पछाडि राखेका कारण सामान्य हिँडेर पनि एक किलोमिटर पार गर्न सक्ने विचार आयो । 

पैतालाको छाला कतै थिएन र सबै खुइलिएको थियो । रंगशालाभित्र प्रवेश गर्दा म हिँड्नै नसक्ने भएँ । अच्चम के भने, म दोस्रो स्थान प्राप्त गरेको खेलाडीसँगै दौडिरहेको थिएँ । कोरियन खेलाडीले राम्रो जुत्ता लगाएका थिए । यसकारण रंगशालाभित्र प्रवेश गरेपछि कोरियनले गति लिँदै दोस्रो स्थान प्राप्त गरे । केवल पाँच मिटर फरकमा म तेस्रो स्थानमा भएँ । सम्भवतः जुत्ता हुँदा नेपालले दोस्रो स्थान हात पाथ्र्यो होला । मैले दौड दुई घन्टा २८ मिनेटमा पूरा गरेँ।

  फोटो खिच्नेको घुइँचो
दौड पूरा गरेको लगत्तै म त्यहीँ ट्र्याकमै लड्न पुगेँ । प्रशिक्षक राणालगायतले मलाई घाँसमा सुताए । दुवै खुट्टा निकै सुन्निएका थिए । रगताम्मे भएका थिए । त्यहाँका चिकित्सकले मेरो प्राथमिक उपचार गरे । पूरै खुट्टाभरि टेपै–टेप थिए । अनि मात्र हल्का हिँड्न सक्ने भएँ । नेपालबाट भाग लिएको खेलाडी खाली खुट्टा दौडेर तेस्रो भएको खबर बाहिर फैलिसकेको थियो । त्यसपछि विभिन्न अन्तर्राष्ट्रिय मिडियाका पत्रकारहरू मेरो वरिपरि झुम्मिरहेका थिए । नेपालबाट कोही पनि पत्रकार गएका थिएनन् । विदेशी पत्रकारले सोधे, ‘तिमीसँग जुत्ता छैन ?’ मैले हल्काफुल्का अंग्रेजीमा जवाफ दिएँ, ‘भेरी भेरी वाटर आयो, नो सुज ।’

  पार्कमा झन्डै फसेको
मुख्य स्पर्धाको अघिल्लो दिन होटेलबाट निस्केको थिएँ । होटेलनजिकै ‘ल पार्क’ भन्ने ठाउँ रहेछ । दुई–तीनतले गाडीमा कुकुरै–कुकुर देखेर सडकमा हेर्न निस्केको थिएँ । गाडीमा रहेका कुकुर असाध्यै साना र राम्रा थिए । सडकछेउमै ‘ल पार्क’ भन्ने रहेछ । जुन स्थानमा जोडी बनेर मात्रै जाने रहेछन् ।  ल पार्कको मुख्य गेटमा पुगेको थिएँ, त्यहाँ केटीहरूले लिन आउने रहेछन् । ल पार्कवरिपरि केटीहरू मात्रै थिए । केटा मान्छे त हुँदै नहुने । आउनेजतिले केटी बोकेर जाने चलन रहेछ । यो व्यवस्था देखेर म एकछिन दंग परेँ । म ल पार्कमा पुगेको प्रशिक्षक मधुशमशेरले थाहा पाउनुभयो । उहाँले मलाई लिन आउनुभयो । मलाई नराम्रोसँग गाली गर्नुभयो । 

 खसी ठानेर कुकुरको मासु खाँदा...
प्रतियोगिताको अघिल्लो दिन कुकुरको मासु काण्ड मच्चियो । हामी भारत र पाकिस्तानका खेलाडी एउटै होटेलमा बसेका थियौँ । होटेल मालिकले खानाको ‘मेन्यु’ दिनुभयो । सबैले खाना खान थाले । हाम्रो खानामा मासुको परिकार पनि थियो । सबैले मासु मज्जाले चाख्यौँ । वास्तवमा हामीले चपाएको मासु कुकुरको रहेछ । भारतका एक सरदारलाई मासुमाथि शंका लाग्यो । उनले होटेल मालिकलाई सोधे । हामीले खाएको केको मासु हो ? हामीले खसीको मासु भनी खाएका थियौँ । तर, खसीको मासुजस्तो लागेन । होटेल मालिकले खसी होइन, कुकुरको मासु भनी उत्तर फर्काए । त्यसपछि त छानाबाट खसेको जस्तै भयो नि । एकैपटक सबैले खान रोके । कोही ट्वाइलेटमा ‘बोमिट’ गर्न थाले । पाकिस्तानी गाई खाने रहेछन् । उनीहरू कुकुरको मासु खाँदैनन् । त्यसपछि सबै मिलेर होटेलवालालाई गाली ग¥यौँ । यसपछि मात्र खसी र कुखुराको मासु तयार भयो । 

 राजाले ‘व्यवस्था गर्नु’ भने तर...
नेपाललाई ऐतिहासिक रूपमा पहिलोपटक अन्तर्राष्ट्रिय पदक दिलाएपछि त्रिभुवन विमानस्थलमा भव्य स्वागत भयो । स्वागत गर्न खेलाडीदेखि सरकारी निकायका पदाधिकारी थिए । एथ्लेटिक्सबाहेक अरू खेलका खेलाडी पनि थिए । गाडीमा राखेर सिंहदरबार हुँदै, असन, इन्द्रचोक र बागदरबारसम्म र्‍याली भयो । राजा वीरेन्द्रसँग दरबारमा भेट भयो । राजाले मतर्फ इंगित गर्दै ‘उसको व्यवस्था गर्नू’ भन्नुभयो । काठमाडौंमा घर र तराईमा मौजा दिने हुकुम भयो । तर, मैले राजा वीरेन्द्रले दिनु भनेको अहिलेसम्म पाउन सकेको छैन । राजाले नै दिनु भनेको कुरा सहजै पाउँछुजस्तो लागेको थियो । धेरै नियकामा घुमेँ । तर, केही पनि लागेन । त्यसवेला मैले राजा वीरेन्द्रलाई पनि भेट्न धेरै प्रयास गरेको थिएँ । तर, कहिल्यै मौका मिलेन । यसकारण एकपटक म सरकारी मानिसको कब्जामा पनि परेँ । ७५ वर्षमा पनि केही पाउँछु भन्ने आशा बाँकी छ ।

ad
ad