१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दुई महिनामा ७३ अर्ब लगानीका ६६ उद्योग दर्ता

दुईपांग्रे ब्रान्ड हिरो, होन्डा र रोयल इन्फिल्डले पनि देशमै एसेम्बल प्लान्ट खोल्न उद्योग दर्ता गरे

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o६:oo

चालू आर्थिक वर्षका पहिलो दुई महिनामा ७३ अर्ब ३८ करोड रुपैयाँ लगानीका ६६ उद्योग दर्ता भएका छन् । स्वदेशी तथा विदेशी लगानी रहने गरी कुल लगानीमध्ये ६३ अर्ब ६४ करोड स्थिर पुँजी र नौ अर्ब ७४ करोड रुपैयाँ चालू पुँजी परिचालन गरी चार हजार ६ सय ६१ जनालाई रोजगारी दिने प्रतिबद्धतासहित उद्योग दर्ता भएका हुन् । 

सबैभन्दा धेरै लगानीका ऊर्जामूलक उद्योग परियोजना दर्ता भएका छन् । दुई महिनामा ४८ अर्ब ७८ करोड रुपैयाँ लगानी गर्ने गरी १५ परियोजना दर्ता भएको उद्योग विभागले जनाएको छ । यस्तै, पर्यटनका १९ वटा परियोजनामा १० अर्ब ५७ करोड रुपैयाँ लगानी हुने भएको छ भने उत्पादनमूलक १९ उद्योगमा ६ अर्ब ४३ करोड रुपैयाँ लगानी हुनेछ । सेवामूलक क्षेत्रमा सात अर्ब ३३ करोड लगानी गर्ने प्रतिबद्धतासहित १० वटा र सूचनाप्रविधि क्षेत्रमा तीनवटा परियोजनामा २६ करोड रुपैयाँ लगानी हुनेछ ।

 होटेलमा लगानीको बहार
चालू आर्थिक वर्षमा ९९ कोठाको होटेलमा एक अर्ब ६९ करोड रुपैयाँ लगानी गर्ने गरी होटेल इस्टर्न नेपाल प्रालि उद्योग विभागमा दर्ता भएको छ ।बुढानीलकण्ठमा सञ्चालनको अन्तिम तयारीमा रहेको बुढानीलकण्ठ हेरिटेज होटेलमा दुई अर्ब ४० करोड रुपैयाँ लगानी हुनेछ । यो होटेलमा एक सय दुई कोठा र तीन सय सिट क्षमताको रेस्टुरेन्ट हुनेछ । झापाको मेची नगरपालिका–१३ मा दुई अर्ब ५१ करोड रुपैयाँ लगानीमा ९५ कोठाको आयुष्मान होटेल सञ्चालनमा आउँदै छ । यो होेटेलमा एक सय ९० सिट क्षमताको रेस्टुरेन्ट हुनेछ । दुवै होटेलमा शतप्रतिशत स्वदेशी लगानी हुने विभागले जनाएको छ ।

 तीनवटा एसेम्बल प्लान्ट
चालू आर्थिक वर्षमा रोयल इन्फिल्ड, होन्डा र हिरो मोटरसाइकल तथा स्कुटर स्वदेशमै एसेम्बल गर्ने गरी उद्योग दर्ता भएका छन् । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फ अटोमोटिभले देशमै मोटरसाइकल एसेम्बल गर्ने गरी उद्योग दर्ता गरेको हो । यस्तै, हिरो र होन्डाका मोटरसाइकल र स्कुटर पनि नेपालमै एसेम्बल हुने भएका छन् । एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिले वीरगन्जमा स्थापना हुने हिरोको एसेम्बल प्लान्टमा ३३ करोड रुपैयाँ लगानी गर्दै छ । यो उद्योगबाट वार्षिक ४५ हजार मोटरसाइकल–स्कुटर एसेम्बल गरिनेछ । हिमाल मोटो नेपाल प्रालिले रुपन्देहीको रोहिणी गाउँपालिकामा ६० करोड लगानी गरेर एसेम्बल प्लान्ट खोल्ने भएको छ । यो उद्योगले वार्षिक २५ हजार मोटरसाइकल र ७५ हजार स्कुटर एसेम्बल गर्ने उद्योग विभागमा बुझाइएको विवरणमा उल्लेख छ ।

 सबैभन्दा धेरै लगानी जलविद्युत्मा
चालू आर्थिक वर्षको दुई महिनामा दर्ता भएका उद्योग–परियोजनाहरू हेर्दा जलविद्युत् क्षेत्रमै सबैभन्दा बढी लगानी प्रतिबद्धता देखिन्छ । दोलखाको बिगु गाउँपालिकामा ९९.८ मेगावाटको जलविद्युत् परियोजनामा १६ अर्ब २२ करोड रुपैयाँ लगानी गर्ने गरी तामाकोसी जलविद्युत् कम्पनी लिमिटेड (तामाकोसी पाँचौँ जलविद्युत् आयोजना) विभागमा दर्ता भएको छ । मोरङमा एक अर्ब ५० करोडमा जानकी पोलिकेम खुल्नेछ भने मनाङको नासो गाउँपालिकामा ३०.४० मेगावाटको जलविद्युत् परियोजनामा कार्बनलेस इनर्जी फन्ड प्रालिले पाँच अर्ब ९६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ मा दुई अर्ब ५३ करोड रुपैयाँ लगानी गरेर १४.५ मेगावाट र एसके इनर्जी डेभलपमेन्ट प्रालिले भोजपुर षडानन्द नगरपालिकमा एक अर्ब ३२ करोड रुपैयाँ खर्चिएर ७.२७ मेगावाटको जलविद्युत् परियोजना बनाउने गरी कम्पनी दर्ता गरेका छन् ।

ओमेगा इनर्जी डेभलपमेन्ट प्रालिले १४ मेगावाटको माथिल्लो सुलीगाड जलविद्युत् परियोजनामा तीन अर्ब, ट्रस्ट इनर्जी लिमिटेडले ताप्लेजुङको मिक्वाखोलामा ३० मेगावाटको परियाजना बनाउन पाँच अर्ब ३८ करोड, नुम्बुर दूधकुण्ड हाइड्रोपावरले सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकामा ९.४८ मेगावाटको परियोजना बनाउन दुई अर्ब १६ करोड, यारु हाइड्रोपावरले गोर्खाको धार्चे गाउँपालिकामा ३०.५९ मेगावाटको परियोजना बनाउन पाँच अर्ब ८१ करोड, हलेसी हाइड्रोपावरले होटाङ ऐँसेलुखर्क नगरपालिकामा ५.४ मेगावाटको परियोजना बनाउन एक अर्ब सात करोड र शिखर पावर डेभलपमेन्ट लिमिटेडले बाग्लुङको बडीगाड गाउँमा ६.०५ मेगावाटको परियोजनामा एक अर्ब नौ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

ad
ad