मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
काठमाडौंमा आयोजित नाडा इभी एक्स्पो प्रदर्शनीमा राखिएको विद्युतीय सवारी ।तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२०७९ असोज ७ शुक्रबार ११:१७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्वको बहार विद्युतीय कार

चालू आर्थिक वर्षको बजेटमार्फत सय किलोवाटभन्दा बढी मोटर क्षमता भएका विद्युतीय कारको कर बढाएपछि एमजी, टेस्ला, किया, हुन्डाई आयोनिक फाइभ, टाटा म्याक्सजस्ता कार भित्रिन सकेका छैनन्

Read Time : > 1 मिनेट
२०७९ असोज ७ शुक्रबार ११:१७:००

दसैँको चहलपहल सुरु भएको छ । दसैँ भन्नासाथ नयाँ लुगाफाटो, नयाँ सवारीसाधन किन्ने चलन बनिसकेको छ । विगतका दसैँमा झैँ यसपालि पनि मानिसहरू गाडी खरिदमा जुटेका छन् । तर, सरकारको सख्त कर नीतिका कारणले यसपटक ग्राहकहरूको रोजाइमा पेट्रोलियमभन्दा पनि विद्युतीय सवारीसाधन परेका छन् । वातावरणीय हिसाबले पनि पछिल्लो समय इभी (इलेक्ट्रिक भेहिकल)को प्रयोग विश्वव्यापी बढिरहेको छ, जुन भृकुटीमण्डपमा जारी नाडा अटो सोमा पनि देख्न सकिन्छ ।

नेपाली सडकमा विश्वका डेढ दर्जन ब्रान्डका विद्युतीय कार हुइँकिन्छन्, जसमा चिनियाँ ब्रान्डको बिगबिगी छ । विश्वकै चर्चित विद्युतीय ब्रान्ड टेस्लादेखि अउडी, हुन्डाई, एमजी, टाटा, किया, महिन्द्रा, बिवाइडी, दिगो, ग्रेटवाल, पियाजिओ, डेरी, डिएफएसके, ज्याक, होजोन (नेटा भी)लगायत ब्रान्डका विद्युतीय कार नेपालमा प्रयोग हुँदै आइरहेका छन् । तर, अउडी नेपालमा आधिकारिक रूपमा बिक्री हुँदैन ।

नेपालमा २० लाखदेखि साढे तीन करोडसम्मका विद्युतीय कार बिक्री भइरहेको अटो व्यवसायी बताउँछन् । तर, चालू आर्थिक वर्षको बजेटमार्फत सय किलोवाटभन्दा बढी मोटर क्षमता भएका विद्युतीय कारको कर बढाएपछि एमजी, टेस्ला, किया, हुन्डाई आयोनिक फाइभ, टाटा म्याक्सजस्ता कार भित्रिन सकेका छैनन् । बिहीबारदेखि सुरु भएको नाडा इभी सोमा पनि करको मारमा परेका किया र एमजीले सहभागिता जनाएका छैनन् । 

सरकारको विद्युतीय कारको प्रयोग बढाउने नीतिविपरीत अर्थमन्त्री जनार्दन शर्माले कर बढाउँदा किया र एमजीका विद्युतीय गाडीको मूल्य अचाक्ली बढ्यो, जसले गर्दा ती कार भित्रिन छाडेको सम्बन्धित विक्रेता बताउँछन् । विद्युतीय कारको मात्र होइन, स्कुटर र बाइकको बजार पनि बढ्दै गइरहेको छ । अहिले बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय दुईपांग्रे सवारीसाधन भित्रिएका छन् । नाडा इभी सोमै डेढ दर्जनहाराहारी बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।

अहिले बजारमा १७ किलोवाटदेखि सय किलोवाट आवर क्षमतासम्म ब्याट्री ब्याकअप भएका विद्युतीय कार भित्रिसकेका छन्, जसले एकपटकको फुल ब्याट्री चार्जमा साढे पाँच सय किलोमिटरसम्म माइलेज दिन्छन् । विद्युतीय कार चढ्न चाहनेले आफ्नो आर्थिक अवस्थाअनुसार रोजीरोजी गाडी किन्न सक्ने व्यवसायी बताउँछन् । नेपाल भित्रिएका सबै विद्युतीय कार ब्रान्ड अटो सोमा राखिएका छैनन् ।