१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
सुभास शर्मा
२o८१ बैशाख २४ सोमबार o८:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

पाँच सय वर्षयताकै कडा खडेरी झेल्दै युरोप

Read Time : > 2 मिनेट
सुभास शर्मा
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:३१:oo

युरोपले अहिले निकै कडा खडेरीको साक्षात्कार गरिरहेको छ । निरन्तरको तापलहरका कारण केही मानिसले ज्यान गुमाएका छन् भने केहीलाई वासस्थानबाट सुरक्षित क्षेत्रमा सारिएको छ । नदी र ताल सुक्दा पानीजहाज तथा डुंगा सञ्चालनमा समस्या खडा भएको छ । नदीमा डुबेका भग्नावशेष बाहिर देखिन थालेका छन् ।भावी पुस्तालाई कठिन समयको संकेत गरोस् भनेर यसअघि छाएका ठूला खडेरीका बखत कुँदेर नदीमा छाडिएका ढुंगा सतहमा देखिन थालेपछि डरलाग्दो समय आउन लागेको हो कि भनेर मानिसहरू झस्किएका छन् । खडेरीले नदीको सतह अभूतपूर्व रूपले घट्दा यी ‘भोकमरी ढुंगा’हरू पानीभन्दा माथि देखिएका हुन् । बिबिसीका अनुसार जर्मनी हुँदै चेक रिपब्लिकबाट बग्ने इलब नदीको किनारामा यस्ता थुप्रै भोकमरी ढुंगा देखापरेका छन् ।

१५औँ शताब्दीमा कुँदेर नदीमा राखिएको एउटा ढुंगा पानीको सतह घटेको बखत सन् १६१६ मा पनि देखापरेको थियो । त्यो ढुंगामा ‘मलाई देख्यौ भने रुनू’ भनेर लेखिएको छ । अहिले पनि यी ढुंगा देखिएकाले धेरैले यसलाई युरोपको खराब भविष्यको संकेत भनेका छन् । सर्बियाको डेन्युब नदीमा पानीको सतह यति घटेको छ कि दोस्रो विश्वयुद्धताका डुबेका विस्फोटक पदार्थले भरिएको जहाज र डुंगाका अवशेष लगभग पूरै देखिन्छन् । प्राहोभो सहरनजिक फेला परेका ती अवशेष सन् १९४४ मा डुबेका नाजी जहाजका अंश भएको बताइएको छ ।

इटलीको ‘पो’ नदीमा पनि पानीको सतह धेरै नै घटेको छ । पानीको सतह घट्दा यो नदीमा विस्फोट नभएको एउटा अस्त्र र सन् १९४३ मा डुबेको नाजी जर्मनहरूको एउटा ‘जिबेलो’ डुंगा सतहमा उभ्रिएको छ ।रोमको टिबर नदीमा चाहिँ पानीको स्तर घट्दा अहिलेको भन्दा झन्डै दुई हजार वर्षअघि तत्कालीन सम्राट निरोले निर्माण गरेको मानिएको एउटा प्राचीन पुलको भग्नावशेष सतहमा देखापरेको छ । अहिले भग्नावशेषको केही भाग मात्रै पानीबाहिर देख्न सकिएको भए पनि, खडेरी केही समय जारी रहे यस्ता थुप्रै चिज र संरचना देखापर्दै जाने अनुमान मानिसहरूले गरेका छन् ।

यसैगरी, स्पेनको केन्द्रीय प्रान्तको वाल्डेकानास जलाशयमा प्राचीन गोलाकार ढुंगा देखापरेका छन् । ‘डोलमेन अफ गुआडलपर्ल’ नाम दिइएका यी ढुंगा इसापूर्व पाँच हजार वर्षअघि त्यहाँ राखिएको विश्वास गरिन्छ । यी ढुंगालाई पुरातत्वविद्ले सन् १९२६ मा पत्ता लगाएयता चारपटक मात्र देखिएका छन् । यसअघि पोर्चुगलसँगको सीमामा रहेको गालिसियामा पनि खडेरीका कारण जलाशयको पानी सुक्दा ‘भग्नावशेष गाउँ’ देखापरेको थियो ।

भावी पुस्तालाई कठिन समयको संकेत गरोस् भनेर यसअघि छाएका ठूला खडेरीका बखत कुँदेर नदीमा छाडिएका ढुंगा सतहमा देखिन थालेपछि डरलाग्दो समय आउन लागेको हो कि भनेर मानिस झस्किएका छन्

बेलायतमा पनि खडेरीका कारण नदीमा हराएका खरखजाना फेला पर्न थालेका छन् । डर्बिसायरको डेरबेन्ट गाउँमा पानीमुनि छिपेको एउटा चर्चको भग्नावशेष देखिएको छ । कोर्नवालको कोलिफोर्ड आरक्षमा पनि नदीमुनिका पुराना रूखका अवशेष देखिन थालेका छन् । तातो हावाले घाँस सुकेपछि दक्षिण–पश्चिम बेलायतको स्विनडोनस्थित लिडियार्ड पार्कमा १७औँ शताब्दीको बगैँचाका चिह्न देखापरेका छन् ।

यसैगरी, अमेरिकाको टेक्सासमा खडेरीले डाइनोसर भ्याली स्टेट पार्क भएर बग्ने नदी सुक्दा ११ करोड ३० लाख वर्षअघिको डाइनोसरको पदचिह्न फेला परेको छ । यस दक्षिणी अमेरिकी राज्यमा सुक्खा रूखले भरिएको नदीको किनारमा तीन औँला भएको खुट्टाको छाप देखिएको हो । यसलाई अहिलेसम्म पाइएका डाइनोसरको पदचिन्हमध्येको लामो बताइएको छ ।

 ४७ प्रतिशत क्षेत्र खतराको स्तरमा
युरोपको यो खडेरीलाई पाँच सय वर्षयताकै खराब खडेरी ठानिएको छ । युरोपेली संघको संयुक्त अनुसन्धान केन्द्रले अहिले युरोपले पाँच शताब्दीयताकै खराब खडेरीको सामना गरिरहेको टिप्पणी गरेको छ । युरोपियन ड्रट अब्जरभेटरीको एउटा रिपोर्टमा युरोपको ४७ प्रतिशत क्षेत्र खडेरीका कारण खतराको स्तरमा पुगेको उल्लेख छ । यो प्रतिवेदनअनुसार माटोमा आर्द्रताको मात्रा एकदमै घटेको छ । गर्मीमा भएको र्कीतिमानी तापमानले आवतजावतमा कठिनाइ हुनुका साथै हजारौँ मानिस विस्थापित हुनपुगेका छन् । गर्मीका कारण सयौँको मृत्यु भएको छ भने आगलागी एवं डढेलोको घटनामा पनि ह्वात्तै बढेको छ, जुन हालैका वर्षमा थप विनाशकारी बनेको रिपोर्टमा उल्लेख छ ।‘चरम खडेरी र तापलहरले सम्पूर्ण इयूको पानीको सतहमा अप्रत्याशित दबाब सिर्जना गरेको छ’, युरोपेली संघकी नवप्रवर्तन तथा अनुसन्धान आयुक्त मारिया ग्याब्रियल भन्छिन् ‘डढेलो औसतभन्दा निकै बढेको छ, खडेरीले बाली उत्पादनमा प्रभाव परेको हामीले देखिरहेका छौँ ।’

यसले पश्चिम युरोपका भूमध्यसागरनजिकका क्षेत्रले नोभेम्बरसम्म गर्मी र खडेरी हुन सक्ने चेतावनी पनि दिएको छ । खडेरीले इटाली, स्पेन, पोर्चुगल, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम, लक्जम्बर्ग, रोमानिया, हन्गेरी, उत्तरी साइबेरिया, युक्रेन मोल्डोभा, आयरल्यान्ड र बेलायतलाई बढी नै प्रभावित गर्दै लगेको प्रतिवेदनमा उल्लेख छ । नदीको सतह घट्दा जलविद्युत् उत्पादनका साथै अन्य पावरप्लान्टको चिस्यान प्रणालीसमेत प्रभावित भएका छन् । युरोपमा प्रतिकूल मौसमका कारण सन् २०२२ मा बाली उत्पादनमा ह्रास आउने आकलन छ । मकै, भटमास र सूर्यमुखीको उत्पादन यो वर्ष अघिल्लो पाँच वर्षको औसतभन्दा क्रमशः १६, १५ र १२ प्रतिशतले कमी हुन सक्ने अनुमान गरिएको छ ।
(एजेन्सीको सहयोगमा)

ad
ad