१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ भदौ १२ आइतबार १२:५९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चोरीका १५ वटा मोटरसाइकल बरामद

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ भदौ १२ आइतबार १२:५९:००

जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेसँगै जिल्लाका विभिन्न स्थानबाट १५ वटा चोरीका मोटरसाइकल बरामद गरेको छ । चोरीमा संलग्न गिरोहले राजधानी काठमाडौं, ललितपुर, भक्तपुरलगायतका विभिन्न जिल्लाबाट मोटरसाइकल चोरी गरी रामेछापमा ल्याएर बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले चेकजाँच बढाएको हो । 

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेसँगै एक महिनाको अवधिमा रामेछापबाट १५ वटा चोरीको मोटरसाइकल बरामद गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख चन्द्र श्रेष्ठले जानकारी दिए । 

उनले भने, ‘मोटरसाइकल चोरी गरी बाहिरी जिल्लाबाट रामेछाप भित्र्याएर चोरीमा संलग्न गिरोहले बिक्री गरेका मोटरसाइकल प्रहरीको आँखा छल्दै ग्रामीण भेगमा बढी मात्रामा कुदाउने गरेको सूचना पाएपछि प्रहरीले अभियान नै चलाएर धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीले चलाएको यो अभियान हरेक गाउँका बस्तीबस्तीसम्म पुर्‍याउने गरी योजना अघि बढाइएको छ ।' 

केही दिनअघि प्रहरीले चेकजाँचको क्रममा रामेछाप नगरपालिका– ७ सुकाजोरवाट बा.८२प ७१७३ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाइकल नयाँबानेश्वरस्थित शान्तिनगरको खरिबाेटबाट हराएको भनी सवारीधनीले खोजबिनका लागि प्रहरी वृत्त नयाँ बानेश्वरमा निवेदन दिएका थिए ।

सोही निवेदनको आधारमा प्रहरीले देशभरका प्रहरी युनिटलाई उक्त मोटरसाइकल खोजी गर्न पत्राचार गरेको थियो । सोही पत्रको आधारमा ट्राफिक प्रहरीले जिल्लामा चेकजाँच बढाउँदा रामेछापका सुकाजोरवाट उक्त मोटरसाइकल फेला पारेको हो । 

प्रहरीले फेला पारेको मोटरसाइकलधनी इलाम जिल्ला सूर्योदय नगरपालिका– ६ कन्याम घर भई हाल पुरानो बानेश्वर बस्ने गोपाल निरौलालाई खबर गरी उक्त मोटरसाइकल हस्तान्तरण गरेको छ । 

यसैगरी, प्रहरीले चेकजाँचको नियन्त्रणमा लिएका मोटरसाइकलहरूमध्ये पाँचजना सवारीधनी अहिलेसम्म पनि प्रहरीको सम्पर्कमा आएका छैनन् । तीबाहेक प्रहरीले तीनवटा मोटरसाइकल र धनीलाई आवश्यक कारबाहीको लागि नयाँ बानेश्वर वृत्त र थानकोट वृत्तलगाएतको स्थानमा पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ । केही दिनअघि मात्रै जिल्ला प्रहरी कार्यालय रामेछापले मोटरसाइकल चोरीमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।