१३ वर्षीया बालिका बलात्कारको घटना : पैसा दिएर गुपचुप पार्ने प्रयास

घटना सार्वजनिक भएपछि बलात्कार अभियोगमा महत पक्राउ

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण

१३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा चन्दननाथ नगरपालिका–७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय जुम्लामा दिएको उजुरीका आधारमा शनिबार पक्राउ गरिएको हो । पीडित बालिका चन्दननाथ नमुना माध्यमिक विद्यालयमा अध्ययनरत थिइन् ।

विद्यालयकी शिक्षिका बबी केसीले भनिन्, ‘ती बालिका सुरुमा स्कुल आउँदा पढाइमा जागरुक थिइन् । केही समयपछि भने उनी विद्यालय आउँदा टोलाएर बस्ने गरेको देखेँ । चासो दिएर सोधेँ । उनी बेस्सरी रुन थालिन् र आफूमाथि करणी भएको बताइन् ।’ त्यसपछि विद्यालयमा अभिभावक भेला बोलाएर यो विषयमा छलफल भयो । छलफलका क्रममा पैसाको प्रलोभनमा परेर आमाले नै घटनाको मिलापत्र गराएको पनि खुल्यो । ‘बालिकाकी आमासमेत आइन् । उनलाई मैले नराम्ररी झपारेँ,’ केसीले भनिन्, ‘पैसामा मिलापत्र गरेको खबर सुन्नमा आयो । हामीले बालिकाकी आमालाई कानुनी रूपमा  जान सुुझायौँ ।’

आमाले दोस्रो बिहे गरेपछि पीडित बालिकालाई जाजरकोट जिल्ला कुशे गाउँपालिकाबाट आफूूसँगै जुम्ला ल्याएकी हुन् । बालिकाकी आमाले जुम्लामा व्यापार गर्छिन् । आरोपित महतले गत वैशाखमा ती बालिकाकी आमासँग सहमति गरी उनलाई घर लगेका थिए । बालिकाले घरायसी काममा सहयोग गर्ने तथा महतले उनलाई पढाइदिने सहमति भएको थियो । तर, महतले एक महिनासम्म पटक–पटक करणी गरेको बालिकाकी आमाको आरोप छ । सबैका अगाडि बाबा भन्न लगाए पनि रातको समयमा करणी गर्ने गरेको खुलेको छ । 

करणीको घटना अरूसमक्ष सुनाए मारिदिने धम्की पनि महतले बालिकालाई दिएका थिए । जसकारण पीडा सहन नसकेर बालिकाले मुसा मार्ने औषधि (विष) खाइन् । त्यसपछि छोरी बिरामी भएको भन्दै उनले आमाको जिम्मा लगाएका थिए । आमाले भनिन्, ‘मुसा मार्ने विष खाएपछि बान्ता भएको र महतले साबुनपानी खुवाएको बालिकाले बताएकी छन् । छोरीले धेरै बान्ता गर्न थालेपछि मैले कारण सोधखोज गर्दा महतले करणी गर्ने गरेको र कुनै उपाय नदेखेर विष खान बाध्य भएको उनले बताइन् ।’ 

यसपछि महतले पैसा दिएर घटना लुकाउन खोजेका थिए । मिलापत्रका लागि उनीसँग सात लाखको कागज गरेको बालिकाकी आमाले स्विकारिन् । उनले भनिन्, ‘कुरा मिलाएको भन्दै एक लाख रुपैयाँ केही मानिसले बाँडेर लिए । बाँकी ६ लाख रुपैयाँ पीडित बालिकाको जुम्लामा रहेको माछापुच्छ्रे बैंकको खातामा राखिएको छ ।’ जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए । 

 मिलापत्रको घटनामा मानव अधिकार आयोगको चासो
घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले चासो लिएको छ । आयोगका शाखा कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनी र मानव अधिकार अधिकृत धनराज शाहीको टोलीले पीडित बालिकाकी आमा र प्रहरीसँग भेटेर घटनाबारे सोधपुछ गरेको हो । ‘आयोगले यो घटनालाई गम्भीर फौजदारी अपराध र बालअधिकार हनन तथा यौन दुव्र्यवहारका रूपमा लिएको छ । पीडितले न्याय पाउनुपर्छ भन्ने छ,’ आयोगको शाखा प्रमुख साहनीले भने । घटना सामसुम पार्न खोज्ने मतियारलाई पनि अनुसन्धानको दायरामा ल्याएर कारबाही प्रक्रियामा लैजानका लागि ध्यानाकर्षण गरिएको आयोगले जनाएको छ । 

सुझावित समाचार