फोहोर व्यवस्थापनका लागि सहयोग गर्न जापानसँग आग्रह गरेको छु : अध्यक्ष प्रचण्ड

बुधबार, २५ साउन, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जापान भ्रमणको क्रममा नेपालको फोहोर  व्यवस्थापनका लागि सहयोग गर्न जापानसँग आग्रह गरेको बताएका छन् । पाँचदिने जापान भ्रमणबाट बुधबार नेपाल फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भ्रमणबारे प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले जापान भ्रमणका क्रममा लिबरल डेमोक्रेटिक पार्टी जापानका पूर्वमहासचिव, पूर्वअर्थ, व्यापार र उद्योगमन्त्री एवं नेपाल–जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँगको भेटमा एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने कुरा भएको बताए । 

आफूले सो भेटमा नेपालको फोहोर व्यवस्थापनका लागि र ‘टनेल’का लागि जापानको सहयोग मागेको उनले बताए । जापानले नेपालमा कृषि, पर्यटन, पूर्वाधार निर्माणलगायतको क्षेत्रमा लगानी बढाउन पनि आफूले आग्रह गरेको उनले बताए । ‘फोहोर व्यवस्थापनमा हामीलाई तत्काल सहयोग चाहियो भन्ने कुरा पनि हामीले गर्यौँ । नागढुंगामा जापानकै सहयोगमा टनेल बन्दै छ । धेरै टनेलतिर हामी जान्छौँ । त्यसमा पनि जापानको विकास र प्रगति, टेक्नोलोजी हामीलाई चाहिन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो प्राथमिकता टुरिजम, एग्रिकल्चर, इलेक्ट्रिफिकेसन र इन्फास्ट्रक्चर यी कुरा गरियो र निकै राम्रो वातावरणमा विचारको आदान–प्रदान पनि भयो र एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने कुरा पनि राम्रो वातावरणमा भयो ।’

अध्यक्ष प्रचण्डले समग्रमा जापान भ्रमण राम्रो भएको प्रतिक्रिया दिए । भ्रमणका क्रममा जापानमा रहेका नेपालीहरू र जापानी अधिकारीहरूको पनि सक्रिय सहभागिता रहेको उनको भनाइ थियो । 

अध्यक्ष प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्नु नहुने बताएका छन् । पाँचदिने जापान भ्रमणबाट बुधबार नेपाल फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले ढिलो गर्न नहुने बताएका  हुन् ।
सञ्चारकर्मीहरूको जिज्ञासाको संक्षिप्त जवाफ दिदैँ अध्यक्ष प्रचण्डले  भने, ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लाग्छ । र, ढिलो नहुनुपर्थ्याे ।’

सुझावित समाचार