
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबिआईले छापा मारेको छ। पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबिआईका एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
ट्रम्पले फ्लोरिडाको मार ए लागो रिसोर्टमा एफबिआईका एजेन्टहरू आएर छापा मारेको जनाएका समाचारमा उल्लेख छ। उनीहरूले ट्रम्पको घरलाई नियन्त्रणमा लिएका थिए। एफबिआईको यो छापा उनी अमेरिकाको राष्ट्रपति हुँदा गरेका कतिपय कार्यहरूका बारेमा अनुसन्धान गर्न सरकारी कागजातहरू नियन्त्रणमा लिनका लागि गरिएको बताइएको छ।
साथै गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाको पनि अनुसन्धान थालिएकाले त्यस विषयका लागि पनि यो छापामा मारिएको अनुमान गरिएको छ। यस विषयमा संसदीय छानबिन जारी रहेको छ। एफबिआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मार्दा उनी न्युयोर्कस्थित ट्रम्प टावरमा रहेकाे बताइएको छ। रासस/सिन्ह्वा