Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १७ मंगलबार २२:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तारकेश्वर सामूहिक हत्या प्रकरण : परिवारका सदस्यले चारवटै शव बुझे

घटना अनुसन्धान गर्न मृतक दिनेशका दाजु राजेन्द्रले दिए प्रहरीमा जाहेरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १७ मंगलबार २२:४२:००

तारकेश्वर नगरपालिका– २ पदमसालमा एकै घरका चारैजनाको शव परिवारका सदस्यले बुझेका छन् । उनीहरूको मंगलबार साँझ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

प्रहरीले सोमबार बिहान तारकेश्वर– २ पादमसालस्थित एकतले घरमा सुनिता पाण्डेसहित उनका श्रीमान् ४१ वर्षीय दिनेश पाण्डे, १३ वर्षकी छोरी आशिका र आठ वर्षका छोरा आशिक मृत फेला पारेको थियो ।

घटनास्थलको मुचुल्कापछि पोस्टमार्टम गर्न प्रहरीले चारैवटै शवलाई महाराजगन्जस्थित शिक्षण अस्पताल लगेको थियो । पोस्टमार्टमपछि मृतक दिनेशका दाजु राजेन्द्रले शव बुझेको प्रहरीले जानकारी दिएको छ । 
महानरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक आशिष अधिकारीले चारैजनाको शव मृतकका दाजु राजेन्द्र पाण्डेले बुझेको र सदगद् गर्न लगेको बताए । ‘चारैजनाको शव पोस्टमार्टम भयो । प्रतिवेदन आउन भने समय लाग्ला । शव सदगदका लागि दिनेशका दाजु राजेन्द्रले बुझिसकेका छन् । शव अन्त्येष्टिका लागि आर्यघाट लगिएको खबर पाएका छौँ,’ उनले भने ।

शव बुझ्नुअघि राजेन्द्रले प्रहरी वृत्त बालाजुमा घटनाको निष्पक्ष अनुसन्धान गर्न भन्दै जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट सुनिता, आशिका र आशिकको हत्या दिनेशले गरेको र त्यसपछि उनले आत्महत्या गरेको प्रहरीको दाबी छ । तर, घटनाको आधिकारिक धारणा भने प्रहरीले सार्वजनिक गरिसकेको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको सम्बन्धमा केही भन्न सकिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।

‘मृतकका परिवारका सदस्यले घटनाको छानबिन गर्न भन्दै जाहेरी दिएका छन् । जाहेरी दर्ता भएको छ । घटनाको अनुसन्धानमा प्रहरी खटिसकेको छ । अनुसन्धानपछि घटनाको सम्बन्धमा नयाँ तथ्य आउला,’ उनले भने ।