मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण १६ सोमबार २१:३७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिक सक्रियता बढाउँदै विनोद चौधरी

Read Time : > 1 मिनेट
२०७९ श्रावण १६ सोमबार २१:३७:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी गृहजिल्ला नवलपुरमा पार्टीको राजनीतिक कार्यक्रममा सक्रिय छन् । ‘समृद्धि र विकास’ को एजेन्डासहित चौधरी जिल्लामा पार्टीका स्थानीय कार्यक्रममा सक्रिय भएका हुन् ।  कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएलगत्तै गृहजिल्ला नवलपुर पुगेका उनी दिनहुँ राजनीतिक कार्यक्रममा व्यस्त छन् । 

गृहजिल्लामा चौधरीले पार्टीका नेता, कार्यकर्ताका साथै उद्यम गर्न इच्छुक युवाहरूसँग भेटघाट गरेका छन् भने उनीहरूलाई उद्यमशील बन्न आफूले सहयोग गर्ने वचनसमेत दिएका छन् । उनले नवलपुरमा कांग्रेसको सांगठानिक अवस्था र पार्टीलाई बलियो बनाउन आवश्यक रणनीतिका बारेमा पनि छलफल चलाएको बताइएको छ । आइतबार कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरूसँग स्थानीय तह निर्वाचनको समीक्षा गरेका थिए । 

चौधरीले जिल्लाका अन्य नेता कार्यकर्तासँगै पार्टीका विभिन्न भ्रातृसंस्थाका पदाधिकारी र सदस्यहरूसँग पनि छलफल गर्ने तयारी गरेका छन् । आसन्न संघीय निर्वाचनमा कांग्रेस नेता चौधरी नवलपुरबाट उम्मेदवार बन्ने चर्चा छ । उनले पार्टीलाई बलियो बनाउन स्थानीय तहबाटै संगठनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । ‘पार्टी संगठन बलियो बनाउन स्थानीयस्तरमा पार्टीले चाल्नुपर्ने कदमलगायतको विषयमा जिल्लाका साथीहरूसँग छलफल भयो,’ केन्द्रीय सदस्य चौधरीले भने, ‘स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूसँग पनि यहाँको विकास निर्माणलगायतका विभिन्न विषयमा छलफल भयो ।’ चौधरीले निर्वाचनमा उम्मेदवार बन्ने विषयमा पार्टीको निर्णय आफूलाई स्वीकार्य भएको बताउँदै भने, ‘चुनावमा उम्मेदवार बनाउने विषय पार्टीको कुरा हो तर विकासका योजना र समृद्ध नवलपुरको योजनासहित म सक्रिय भएर लाग्छु ।’ 

आइतबार जिल्ला समन्वय समिति नवलपुरको कार्यालय पुगेका चौधरीले जिल्लाको समग्र विकासका लागि आफूले ल्याएको नमुना नवलपुर विकासको अवधारणालाई साकार पार्न समन्वय समितिको भूमिका महत्वपूर्ण हुने बताए । उनले आफूले अगाडि सारेको नमुना नवलपुरको विकास अवधारणालाई समन्वय समितिले योजनामा राखेर कार्यान्वयनमा सहयोग गर्न समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मालाई आग्रह गरे । समन्वय समितिका प्रमुख विश्वकर्माले विनोद चौधरीले ल्याएको नवलपुर समृद्धिको योजनालाई अगाडि सार्न आफूहरू तयार रहेको बताए ।

त्यस्तै, केन्द्रीय सदस्य चौधरी मंगलबार कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘क’ ले आयोजना गर्ने वडा सभापतिहरूको भेलामा सहभागी हुने कार्यक्रम छ । त्यसैगरी, नेपाल विद्यार्थी संघ र जिल्ला समन्वय समितिसँग छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।