काठमाडाैं- मालपोत कार्यालयका एक नासुको करिब नौ करोड २० लाख गैरकानुनी सम्पत्ति भेटिएको छ । विभिन्न मालपोत कार्यालयहरूमा कार्यरत रहेका यदुनाथ आचार्यले आर्जन गरेको आम्दानीको वैध स्रोत देखाउन नसकेपछि गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
गैरकानुनी स्रोतबाट आर्जित रकमको सम्पत्ति शुद्धीकरणसमेत गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित पत्नी, दुई छोरी र अरू दुई बिचौलियाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २ माघ ०५४ मा खोटाङमा गाविस सचिव (नासु)को सुरु नियुक्तिबाट सरकारी सेवामा प्रवेश गरेका आचार्यको त्यसयता २१ मंसिर ०८० सम्मको अवधिको सम्पत्तिको आम्दानी र खर्चको विश्लेषण गर्दा गैरकानुनी सम्पत्ति भेटिएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।
जाँच अवधिमा आचार्य र उनको परिवारको नाममा देखिएको कानुनी आयको विश्लेषण गरिएको छ । उनी स्वयं तथा पत्नी ललिता राजभण्डारीको पारिश्रमिक, घरजग्गा बिक्री, बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा, बैना फिर्ता, कृषि तथा ब्याज आम्दानीसमेत आचार्यको कानुनी रूपमा आर्जित गरेको आम्दानी ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ देखिएको छ । त्यसै अवधिमा घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर भुक्तानी, पुँजीगत लाभकर भुक्तानी, हलेसी डिपार्टमेन्ट स्टोर प्रालिमा लगानी, जग्गा खरिद बैना भुक्तानी, विभिन्न व्यक्तिहरूलाई दिएको ऋण सापटी, बैंक मौज्दात र फ्रिज दराज गरी कुल १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँबराबरको खर्च तथा लगानी देखिएको आरोपपत्रमा उल्लेख छ ।
‘यदुनाथ आचार्यको जाँच अवधिको कुल आयबाट कुल व्यय घटाउँदा नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँबराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिमको कसुरजन्य कार्य गरेको पुष्टि भयो,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ । आम्दानीको तुलनामा खर्च तथा लगानी धेरै देखिएकामा त्यसको कानुनी स्रोत पुष्टि गर्न नसकेकोमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छ ।
अन्य प्रतिवादीहरूसँगको संलग्नतामा आपराधिक क्रियाकलापबाट आठ करोड २६ लाख २० हजार २७४ रुपैयाँ आर्जन गरेको पनि अख्तियारको दाबी छ । उक्त सम्पत्तिको व्यवस्थापन, तहीकरण, एकीकरणजस्ता कार्य गराई कुल नौ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेकोसमेत अख्तियारको ठहर छ । सम्पत्ति शुद्धीकरणको कसुरजन्य कार्यमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुर गरेको वारदात पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
गैरकानुनी सम्पत्ति आर्जनतर्फको भ्रष्टाचार कसुरमा नासु आचार्यविरुद्ध नौ करोड ७२ लाख ७१ हजार ९८९ बिगो कायम गरिएको छ । उनकी पत्नी राजभण्डारीसँग पनि त्यति नै बिगोदाबी गरिएको छ । छोरी निलु र सरु आचार्यलाई पनि अख्तियारले बिगो जफत प्रयोजनका लागि प्रतिवादी कायम गरेको छ । नासु आचार्यको गैरकानुनी कार्यमा मतियार भई कसुर गरेको आरोपमा भक्तपुरको मध्यपुरठिमी नगरपालिका– २ दिव्यश्वरी बस्ने प्रभा बस्नेत र काठमाडौं महानगरपालिका– ३२ पेप्सीकोलाकी कुमारी कटुवाललाई संयुक्त ३८ लाख ८६ हजार १८२ रुपैयाँ बिगोदाबी गर्दै मुद्दाको प्रतिवादी कायम गरिएको छ ।
त्यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ आचार्य र उनकी पत्नी राजभण्डारीविरुद्ध जनही नौ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ बिगोदाबी गरिएको छ । बस्नेत र कटुवालविरुद्ध संयुक्त ३८ लाख ८६ हजार १८२ रुपैयाँ बिगो छ ।
ठेकेदारलाई भुक्तानी दिँदा ३३ लाख घुस
- मध्यपुरठिमीका प्रमुख प्रशासकीय घिमिरे पक्राउ
ठेकेदारलाई ठेक्का रकम भुक्तानी दिँदा ३३ लाख रुपैयाँ कमिसन लिएका भक्तपुरको मध्यपुरठिमीका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे सोमाबर रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेलाई नगरपालिकाबाट घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । भुक्तानीमा कमिसन मागेको सूचना तथा उजुरीपछि अख्तियारबाट खटिएको टोलीले उनलाई रकम ३३ लाख रुपैयाँ रकम लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियारकै रकम घुसबापत घिमिरेले बुझेका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।