सोमबार १० बजेसम्मका प्रमुख १० खबर

सोमबार, १६ कार्तिक, २०८३
डिजिटल संस्करण

तर्साउने धेरै आए, तर्सिने बानी परेनः गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले तर्साउने धेरै आए पनि तर्सिने बानी नपरेको उल्लेख गरेका छन्। सोमबार फेसबुकमा स्टाटस लेख्दै उनले सांकेतिक रूपमा यस्तो बताएका छन्। 

सरकारप्रति संकेत गर्दै उनले यस्तो सांकेतिक स्टाटस राखेको उनीनिकट स्रोत बताउँछ। 

तत्काल संसद् अधिवेशन बोलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समय सार्वजनिक भएका विवादित घटनाक्रम तथा बिचौलिया प्रकरणको निष्पक्ष छानबिन गर्न तत्काल संसद् अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ।

सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री, न्यायपालिका र नेपाल प्रहरीका उच्च अधिकारीसमेत आरोपित बनेको अवस्थामा सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन्।

मध्यपुर ठिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख घुससहित पक्राउ

ठेकेदारलाई ठेक्का रकम भुक्तानी दिँदा ३३ लाख रुपैयाँ कमिसन लिएका भक्तपुरको मध्यपुर ठिमीका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेलाई नगरपालिकाबाट रंगेहात पक्राउ गरेको हो। भुक्तानीमा कमिसन मागेको सूचना तथा उजुरीपछि अख्तियारबाट खटिएको टोलीले उनलाई ३३ लाख रुपैयाँ रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो। अख्तियारकै रकम घुसबापत घिमिरेले बुझेका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

धान सिजनमा नहरहरू पूर्ण सञ्चालनमा

चालू मनसुनको धान बालीको सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरू किसानका खेतसम्म पानी पुऱ्याउन पूर्ण रूपमा सञ्चालनमा रहेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागका अनुसार सुनसरी–मोरङ सिँचाइ आयोजनाले ६८ हजार हेक्टर (जसमध्ये ५५ हजार हेक्टर सतह सिँचाइ) र राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले १४ हजार १३८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुऱ्याइरहेका छन्।

सुदूरपश्चिमको दोस्रो जित

चितवन राइनोजलाई ५ विकेटले हराउँदै तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । 

सोमबार त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३० रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा सुदूरपश्चिमले १६.१ ओभरमा ५ विकेट गुमाउँदै जित निकाल्यो। 

काठमाडौंको पहिलो जित, कर्णालीको पहिलो हार

कर्णाली याक्सलाई चार विकेटले हराउँदै काठमाडौं गोर्खाजले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित निकालेको छ । कर्णाली भने तेस्रो खेलमा पुगेर पराजित भयो ।  

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा काठमाडौं १९.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । 

दशौँ राष्ट्रिय खेलकुदको काउन्टडाउन सुरु

कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहँदा सोमबार काउन्टडाउन सुरु गरिएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एक कार्यक्रमका बीच काउन्टडाउनको उद्घाटन गरेका हुन्। मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भएको सरकारी दाबी छ।

राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भइरहेको तयारीबारे मन्त्री पोखरेलले वीरेन्द्रनगर पुगेर स्थलगत निरीक्षण गरेका छन्। प्रतियोगिताको प्रचारप्रसार सोचेजस्तो नभएको भन्दै मन्त्री पोखरेलले चिन्ता व्यक्त गरेका छन्। उनले भने, 'जुन किसिमको सबैतिर यति ठुलो दशौँ राष्ट्रिय खेलकुद हुँदैछ, त्यो खालको उत्साह हुनुपर्ने थियो, त्योचाहिँ अलिकति कम भएको हो कि भनेर हामी यता आएका हौँ।'

पर्यटक आगमन बढ्यो, अक्टोबरमा मात्रै १ लाख ३२ हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण

 नेपालमा विदेशी पर्यटक आगमनमा वृद्धि भएको छ। सन् २०२६ को अक्टोबर महिनामा मात्रै १ लाख ३२ हजार ८१४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको मासिक तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष अक्टोबरमा पर्यटक आगमन ३.४ प्रतिशतले बढेको हो। सन् २०२५ को अक्टोबरमा १ लाख २८ हजार ४४३ जना विदेशी पर्यटक नेपाल आएका थिए।

बोर्डको विवरणअनुसार अक्टोबरमा सबैभन्दा बढी पर्यटक अमेरिकाबाट आएका छन्। अमेरिकाबाट १७ हजार ४३७ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन्।

देशभर ग्यासको एउटै ब्रान्ड बनाउन उद्योगी असहमत, रातो र निलो सिलिन्डर तत्कालै ल्याउने

ग्यास उद्योगीहरूले तत्कालै रातो र निलो रङका दुई प्रकारका एलपी ग्यास सिलिन्डर बजारमा ल्याउने निर्णय गरेका छन्। तर, देशभर एउटै ब्रान्डको ग्यास सिलिन्डर लागू गर्ने नेपाल आयल निगमको प्रस्तावमा भने उद्योगीहरूले असहमति जनाएका छन्।

सोमबार दिउँसो नेपाल एलपी ग्यास उद्योग संघले आयोजना गरेको राष्ट्रिय भेलाले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै रङका सिलिन्डर प्रयोगमा ल्याउने निर्णय गरेको हो। यसअघि अभ्यासमा रहेको रातो र निलो रङको सिलिन्डर प्रणालीलाई पुनः कार्यान्वयनमा ल्याउने उद्योगीहरूको तयारी छ।

सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। आइतबार ठुलो गिरावट आएको सुनको मूल्य सोमबार प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार तीन सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला आठ हजार तीन सय रुपैयाँले घटेर दुई लाख ७२ हजार रुपैयाँमा झरेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला तीन हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

 

सुझावित समाचार